अन्त्यमा, म स्वयंलगायत पढेलेखेका नेपाली मातृभाषीलाई प्रश्न गर्न मन लाग्यो, ‘के फुर्ति गर्छस् तपाईंले ?’
प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक चलिरहेको थियो। त्यसै सिलसिलामा समितिका सभापति राजकिशोर यादव र सदस्य प्रेम सुवालबीच वादविवाद सुरु भयो। आपसी भनाभनबीच माननीय सांसद सुवालले माननीय सभापति यादवतर्फ औंलो सोझ्याउँदै भन्नुभयो, ‘के फुर्ति गर्छस् तपाईंले ?’
सदनमा सांसदहरूबीच छलफल, संवाद र विवाद हुनु स्वाभाविकै हो। दलीय वादविवादका सिलसिलामा कहिलेकाहीँ भनावैरी र मुख छाडाछाड पनि चल्छ। लामो लोकतान्त्रिक अभ्यास भएका देशका संसद्मा पनि यदाकदा अप्रिय खालका बाझाबाझ भएको पाइन्छ। नचाहँदा नचाहँदै पनि बेलाबखत संसद्भित्रै पिटापिटको स्थितिसमेत पैदा भइदिन्छ। नेपालमा पनि आकलझुकल हात हालाहाल र कुर्सी फालाफालका घटना भएका छन्।
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा अकस्मात भनाभनको स्थिति किन आयो होला ? यो संक्षिप्त विवेचनाको सरोकार त्यहाँ छलफल भएको विषय र विवादसँग छैन। यो विवेचनाको ध्येय विवादको विषयमा नभई प्रयोग भएको शब्दावलीमा छ। यो लेखको प्रयोजन एउटा जननिर्वाचित प्रतिनिधिले संघीय संसद्मा प्रकट गरेको वाणी एवं त्यसको आशय र अभिप्रायमा छ।
‘के फुर्ति गर्छस् तपाईंले ?’ यो वाक्य नेपाली मातृभाषा भएका कुनै सांसदबाट प्रयोग भएको भए अनर्गल र दोषपूर्ण मान्न सकिन्थ्यो। त्यसलाई भाषाको दुरुपयोग गरेको पनि मान्न सकिन्थ्यो। जानी जानी नियतवश अर्को पक्षलाई उपहास गरेको या होच्याएको पनि मान्न सकिन्थ्यो। किन्तु निक्खर नेवारी मातृभाषी भक्तपुरे सांसदले स्वस्फूर्त र निर्दोष तवरले प्रयोग गरेको हुँदा यो वाक्य रसिलो र श्रुतिमधुर छ। कडिकडाउ शैलीमा बोलेको भए तापनि मलाई यो वाणी मीठो लाग्यो।
प्रश्न उठाउन सकिन्छ, के यो वाक्य शुद्ध हो त ? मानक नेपाली भाषा अनुरूप नभए तापनि यो वाक्यले लाखौं लाख नेपालीको जनताको प्रतिनिधित्व गर्दछ। यसले नेपाली भाषाको सम्मानमा अभिवृद्धि भएको छ र ‘नेपाली भाषा सबैको साझा’ प्रमाणित भएको छ। यस मानेमा माननीय प्रेम सुवालले प्रयोग गरेको वाक्य भावनात्मक रूपमा शुद्ध र निष्कपट छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘मुना–मदन’ खण्डकाव्यमा मानवतावादी भोटे बोल्छन्,‘आफैंले खन्छ आफैंले खान्छ सित्तैमा छुँदैन क्या दिन्छ तिम्ले क्या लिन्छ मैले मागेर लिँदैन।’
आपसी भनाभनबीच माननीय सांसद प्रेम सुवालले माननीय सभापति राजकिशोरि यादवतर्फ औंलो सोझ्याउँदै भन्नुभयो, ‘के फुर्ति गर्छस् तपाईंले ?’
हृदयको भित्रसम्म भिजेको योभन्दा स्वादिलो वाणी अर्को भेट्टाउनु कठिन छ। यति निर्मल र निश्छल अभिव्यक्तिमा व्याकरण खोज्न थाल्ने हो भने यसमा निहित भावनात्मक सौन्दर्यको के इज्जत रहला ? यस्तो सुकोमल र मनोहर नेपालीमा भाषिक शुद्धता खोज्न थालियो भने वाणीको मिठासको
कस्तो सम्मान होला ?
भारतको तृणमूल कांग्रेसकी अध्यक्ष ममता ब्यानर्जीले संसद्मा हिन्दीमा भाषण गर्दै भनेकी थिइन्, ‘हम ये काम जरुर करेगा।’ अर्को प्रसंगमा उनले भनिन्, ‘देशका जोनता क्षमा नही करेंगे।’ आफ्नो भाषणको सिलसिलामा भारतीय राष्ट्रिय कांग्रेसकी नेता सोनिया गान्धीले भनेकी थिइन्, ‘मुझे महाराष्ट्र के मतदताओंपर गर्व है, जिन्होने अजादीके लिए कांग्रेसको साथ दिया।’ सोनियाले लिखित भाषण गर्दा पनि ‘मतदाता’को उच्चारण मतदता र ‘आजादी’को उच्चारण ‘अजादी’ गरिन्। उनले भाषणमा ‘कायाकल्प’लाई
‘कयाकल्प’ भनिरहेकी थिइन्।
भारतमा हिन्दी भाषा बोल्दा आआफ्नो मातृभाषा अनुरूपको मराठी, बिहारी, बंगाली या युरोपियन ‘लहजा’ आउँछ। त्यसैगरी, नेपालमा स्वाभाविक रूपमा नेवारी, मैथिली या अवधी आदि ढाँचा देखिने गर्दछ। समावेसी लोकतन्त्रले दलित, महिला र सीमान्तीकृत समुदायलाई जनताको प्रतिनिधित्व गर्ने मौका प्रदान गरेको छ।
अनेकौं कमजोरीका बाबजुद प्रतिनिधित्वको यो पद्धतिले पिछडिएको वर्गको जागरणमा मात्र होइन, नेपाली भाषाको उन्नयन र विस्तारमा समेत योगदान पुर्याएको छ। यही अभियानको फलस्वरूप नेपाली बाहेकका अन्य मातृभाषीले औपचारिक समारोहमा नेपालीमा बोल्न र भाषण गर्न थालेका छन्। संघ, प्रदेश र स्थानीय तहमा जनताको प्रतिनिधित्व गरेर बोल्दै गर्दा अनकनाउने र अलमलिनेहरूलाई उपहसको पात्र बनाउनुभन्दा प्रोत्साहन, प्रेरणा र सम्मानको दरकार छ।
एउटा अन्तर्वार्तामा डा. अमरेशकुमार सिंहले भन्नुभएको थियो, ‘राजा डिलेमामा पर्यो। रमेशनाथ पाण्डे परराष्ट्रमन्त्री थियो, उहाँले राजालाई गलत बृफिङ गरिराख्नु भएको थियो।’ मधेस प्रदेशका माननीय सांसदको नेपाली बोल्ने यो शैली साह्रै मिठासपूर्ण लाग्यो। मधेस प्रदेश निवासी एकजना युवकले आफ्ना विभिन्न अभिमत राखेर भ्याएपछि भने, ‘हामी मधेसीहरूलाई नि, विचार बदल्नुपर्यो।’ उनले ‘मधेसीहरूले’ भन्नुपर्नेमा ‘मधेसीहरूलाई’ भनेको राम्रो सुनियो र प्रसंगले कुरा पनि बुझियो। उनको अभिव्यक्तिले नेपाली भाषाप्रति सम्मान गरिरहेको थियो। उनी आफ्नो मातृभाषाभन्दा फरक नेपाली भाषामा बोल्ने इमानदार प्रयास गरिरहेका थिए।
धेरै वर्षअघिको कुरा हो। गुल्मी निवासी मगर समुदायका गिरिप्रसाद बुढाथोकी मन्त्री भएछन्। उनको भाषण सुनेका मानिसहरूले गिरिप्रसादको ‘मिमिक्री’ गर्दै मजाक गरेको सुनिन्थ्यो। ‘सात साल आयो त्यो पनि भैन, सोर साल आयो त्यो पनि भैन, सत्र साल आयो त्यो पनि भैन। भैन भैन भन्ने नेपालीको बानी कैल्यै गैन।’ कति हार्दिक र सुन्दर अभिव्यक्ति।
भाषाको समृद्धि व्याकरणको मानकले मात्र निर्धारण हुँदैन। भाषिक उन्नतिका लागि सर्वप्रथम सर्त हो त्यसको व्यापक प्रयोग, प्रसार र लोकप्रियता। बोलीचालीमा सर्वत्र व्याप्त भएर स्वीकार्य र मान्य हुँदै गएपछि सहज प्रवृत्ति अनुरूप नै भाषाले आफ्नो मानक पनि निर्धारण गर्न थालिहाल्छ। भाषाको लेख्य र वाच्य परम्परा फरक हुन्छ र हुन दिनुपर्छ।
नेपाली भाषाको अपमान त बरु नेपाली मातृभाषा भएका कथित पठित मानिसहरूबाट भएको छ। विद्यालयलाई विद्यालय, सहर्षलाई सहस्र, अतिथिलाई अथिति, शाकाहारीलाई साहाकारी, इमानदारीलाई इमानदारिता र तादात्म्यलाई तादात्म्यता जस्ता शब्द प्रयोग गर्नेहरूले नेपाली भाषा शुद्ध भएन भनेर चिन्ता गरिरहेका छन्। अचम्म त के छ भने यहाँ ‘सामिप्य’लाई ‘सामिप्यता’ प्रयोग गरेकोमा भन्दा ‘शहर’लाई ‘सहर’ लेख्न थालियो भन्ने चिन्ता छ।
माध्यमिक विद्यालयमा प्रधानाध्यापक हुँदै संघीय सरकारको मन्त्री पदमा पुगेका एकजना नेपाली मातृभाषी महानुभावले ‘समाधान’लाई अर्थै फरक हुनेगरी ‘सामाधान’ भनेको सुनियो। अंग्रेजीमा सिपालु हुनाले नेपालीमा तलमाथि परेको हो कि भन्ने लागेर सुन्दै जाँदा त रजिस्ट्रारलाई रजिस्टर भनेको सुनियो। यसबाट के प्रस्ट हुन्छ भने नेपाली भाषाको हुर्मत लिने काम त स्वयं नेपाली मातृभाषीहरूबाट भइरहेको छ।
अन्त्यमा, म स्वयं लगायत पढेलेखेका नेपाली मातृभाषीहरूलाई प्रश्न गर्न मन लाग्यो, ‘के फुर्ति गर्छस् तपाईंले ?’
प्रतिक्रिया दिनुहोस !