जंगल जोगाउन सामूहिक खेती
वीरगन्ज : वन अतिक्रमण रोक्न र वन्यजन्तु संरक्षण गर्न पर्साको ठोरीका किसानले सामूहिक तरकारीखेती सुरु गरेका छन्। ठोरी गाउँपालिकाको सुवर्णपुरको छिरिङलाइन टोलका किसानको आय आर्जनको अन्य स्रोत नभएपछि वनजंगलमै आश्रित छन्। पछिल्लो समय निकुन्जको वन क्षेत्र अतिक्रमण, काठ तस्करी र वन्यजन्तु चोरीशिकारी बढ्दै गएको छ। यसले जनजीवन असहज बनेपछि स्थानीयवासी सामूहिक तरकारीखेतीमा लागेका हुन्।
यसरी तरकारीखेती गर्नेमा सुनाखरी उपभोक्ता समितिमा आबद्ध २० जना किसान छन्। समितिका सचिव जीवन श्रेष्ठका अनुसार किसानले जनही एक कठ्ठामा खेती गरेका छन्। केही किसानले भने थप जग्गामा पनि तरकारीखेती गरेका छन्। किसानले गेलभेंडा, खुर्सानी, मुला, आलु, प्याज, लसुन, राय र पालुंगोको साग लगाएका छन्। सामूहिक तरकारीखेतीका लागि किसानलाई डब्लूडब्लू एफको आर्थिक सहयोगमा सञ्चालित नेपाल सरकारको तराई भूपरिधि कार्यक्रमले सहयोग गरेको हो।
सामूहिक तरकारीखेतीका लागि किसानलाई डब्लूडब्लू एफले ७० हजार रुपैयाँ आर्थिक सहयोग गरेको समितिका सचिव श्रेष्ठले जानकारी दिए। सहयोग रकम नभइ डाइमन, हजारी, काँटालगायत कृषि सामग्री र तरकारीका बिउ किसानलाई दिएको समितिका सचिव श्रेष्ठले बताए।
डेढ कठठमा तरकारीखेती गरेका साइला बोम्जनले यसबाट जीवन सहज भएको बताउँछन्। ‘पहिले आयआर्जनको कुनै स्रोत थिएन, जंगल गइन्थ्यो काठ दाउरा ल्याएर बेचिन्थ्यो’, उनले भने, ‘जंगल जाँदा जनावरको डर हुन्थ्यो, काठ दाउरा ल्याँदा गाउँमा पुलिसको पनि डर हुन्थ्यो तर अहिले खेतीपातीमा लागेपछि धेरै सहज भएको छ।’ स्थानीय सीमा लामा धान, मकैभन्दा तरकारीबाट राम्रो आम्दानी भएको बताउँछिन्। तरकारीखेती लगाएपछि जनावार पनि गाउँ छिरेका छैनन्।
छिरिङलाइन टोलमा उत्पादित तरकारी हाट बजार र सुर्वणपुरको होम स्टेमा बिक्री हुन्छ। २० जना किसानले सामूहिक तरकारीखेती गरेर आम्दानी गरेपछि गाउँका अन्य १२ जना किसानले पनि सामूहिक तरकारीखेती गर्ने इच्छा देखाएकोका छन्। श्रेष्ठले भने, ‘अब ती १२ जनालाई पनि सहयोग गर्न प्रकृया अगाडि बढाइसकेका छौं।’
किसानले गेलभेंडा, खुर्सानी, मुला, आलु, प्याज, लसुन, राय र पालुंगोको साग लगाएका छन्।
आयअजर्नको अन्य स्रोत नभएपछि यहाँका खासगरी विपन्न समुदायका स्थानीयवासी निकुन्जकै जंगलमा आश्रित थिए, घाँसदाउरा गर्न पनि जंगलमै जान्थे। ‘कोहीकोही जंगलकै रुख काठ काटेर र वन्यजन्तुको चोरी शिकारी गरेर रोजीरोटी चलाउँथे’, समितिका अध्यक्ष देवीप्रसाद दाहालले भने, ‘कोही त खेत जंगल छेउको जंगल फँडानी गरेर खेतीपाती पनि गर्दै आएका थिए।’
गाउँलेका कारण जंगल मासिदै जादा वन्यजन्तुले गाउँमा छिरेर उपद्रो र आतंक मच्चाउन थालेपछि डब्लूडब्लू एफ र तालको संयोजनमा समिति वन र वन्यजन्तुको संरक्षण अभियानमा जुटेको अध्यक्ष दाहालले बताए। तराइ भूपरिधी कार्यक्रम (ताल)का सामुदायिक संरक्षण सहजकर्ता बेदहरि दाहालले यसपालि सुवर्णपुर क्षेत्रका कुनै पनि गाउँमा जंगली हात्ती नपसेको बताए।
प्रतिक्रिया दिनुहोस !