जुनारमा कीराको संक्रमण

जुनारमा कीराको संक्रमण

रतनचुरा (सिन्धुली) : जुनारको राजधानी भनेर चिनिने सिन्धुलीको जुनार पाकेर बजार लैजाने बेलामा रोगकीराको संक्रमणले नष्ट हुन थालेको छ। फूल खेलेर फल लाग्ने बेलादेखि रोगकीराको संक्रमण देखिएको बगैंचामा ब्याक्टेरिया (औंसेकीरा)को संक्रमणबाट सिन्धुलीको जुनार कुँहिएर नष्ट हुन थालेको हो।

जुनारमा बेक्टोसेरा सिरामिन नामक एक प्रकारको झिँगाले फैलाएको ब्याक्टेरियाका कारण जुनारमा कीरा लाग्ने र कुँहिएर बोटमै नस्ट हुने गरेको सुपर जुनार जोन कार्यक्रम सिन्धुलीका देवराज अधिकारीले बताए। ‘बेक्टोसेरा सिरामिन नामक एक प्रकारको झिँगाले जुनार फलमा फूल पार्ने र त्यो फूलबाट औंसा विकसित भएर जुनार फल नष्ट गर्ने गर्दा सिन्धुलीका कृषकले उत्पादन गरेको ८० प्रतिशत जुनार फल काम नलाग्ने अवस्थामा पुगेको छ’, उनले भने। जुनार फूल्दादेखि नै रोगको संक्रमण भए पनि लापर्बाही गर्दा अधिकांश फल नस्ट हुन थालेको अधिकारीकोे भनाइ छ। बाहिर सद्धे देखिएका फलमा भित्र कीरा हुने गरेको छ। सिन्धुलीको जुनार मंसिर पहिलो साताबाट खानयोग्य हुन्छ।

सिन्धुलीको रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, जलकन्यामा उत्पादित जुनारमा यस्तो रोगको संक्रमण अत्यधिक छ। जिल्लामा यस वर्ष जुनार फूल्दादेखि रोगकीराको संक्रमण भएको थियो। जिल्लाको जुनारलाई अन्तर्राष्ट्रिय बजारमा खपत गराउने गरी जुनार सुपरजोन कार्यक्रमले गुणस्तरीय फल उत्पादन गर्न लागिपरेको भए पनि औंसेकीराले फल कुहिँएर बोटबाटै झर्न थालेपछि कृषकको करोडौंको आम्दानीसमेत गुमेको छ।

गत वर्ष जिल्लामा सात हजार नौ सय मेट्रिकटन जुनार उत्पादन हुँदा जिल्लामा २६ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको थियो। तर, यस वर्ष जुनारको फल उत्पादनमै कमी आएको र फलेको फलमा पनि रोगकीराको संक्रमण हुँदा ६० देखि ८० प्रतिशत जुनारको आम्दानी गुम्ने निश्चित भएको जुनार कृषक सहकारी संघका जिल्ला अध्यक्ष निर्मलकुमार रम्तेलले जनाए।

उनले भने, ‘यस वर्ष जुनार फल लाग्ने समयमै कीराको आक्रमणमा पर्दा झन्डै ३५ प्रतिशतले उत्पादनमा कमी आएको छ। अहिले जिनतिन बगैंचामा अडिएको फल पनि फाक्ने सिजनमा कीराले कुहिँदै झर्न थालेको छ। यसले जिल्लाका कृषकको १५ करोड रुपैयाँभन्दा बढी आम्दानी गुम्ने अवस्था आएको छ।’

सरकारी र निजी स्तरबाट जुनार बगैंचाको विस्तार तथा उत्पादनमा वृद्धि गर्ने अनेकौं प्रयत्न गरिएको भए पनि रोगकीरा नियन्त्रण गर्न नसक्दा त्यो बेकार जस्तै भएको कृषकको गुनासो छ। जिल्लाको रतनचुरा, तिनकन्या, बाशेश्वर, भुवनेश्वरी, जलकन्या, मझवालगायत क्षेत्रका कृषकले जुनारबाट सिजनमा कम्तीमा दुई लाखदेखि १८ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका थिए।

झन्डै तीन वर्षअघि तत्कालीन कृषि मन्त्री हरिबोल गजुरेलले जिल्लाको जुनारलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी त्यसका लागि आवश्यक गुणस्तरीय फल तथा उत्पादन वृद्धि गर्न भन्दै प्रधानमन्त्री आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लालाई जुनार जोन कार्यक्रम घोषणा गरी सहयोग गर्न थालिएको थियो।

कृषकको मागका आधारमा जुनार जोन कार्यक्रमलाई बृहत्तर बनाउँदै जुनार सुपरजोन कार्यक्रम सञ्चालनमा ल्याइएको भए पनि जुनारमा लाग्ने रोगकीरा नियन्त्रण गर्न सकिएको छैन। जुनार जोन र सुपर जोन कार्यक्रमबाट जुनारमा लाग्ने कीरा नियन्त्रण गर्न मात्र विगत तीन वर्षयता झन्डै सात करोड रुपैयाँ खर्च गरिसकिएको छ। यस वर्ष पनि जुनारका लागि जुनार सुपर जोन कार्यक्रमबाट तीन करोड रुपैयाँ थप खर्च गर्ने योजना बनाइएको छ। तर, उपलब्धि भने शून्य रहेको जुनार कृषक दिनेश सापकोटोको गुनासो छ।

उता जिल्लामा जुनारमा लाग्ने कीराको पहिचान र नियन्त्रण गर्न निकै कठिन हुँदा प्रकोपको रूपमा फैलँदै गएपछि चीन सरकारको सहयोग माग गरिएको छ। चीनमा त्यहाँको सरकारी स्तरबाट अमिलो जातको फलफूलमा लाग्ने रोगकीराको संक्रमण र नेपालस्थित सिन्धुलीको जुनारमा कीराको प्रकोप उस्तै प्रकृतिको भएपछि चीनबाट प्रविधि र औषधि मगाएर प्रयोग गर्न थालिएको जुनार सुपरजोन कार्यक्रमले जनाएको छ।

जुनारको जिल्ला भनेर चिनिने सिन्धुलीमा हालसम्म एक हजार आठ सय हेक्टर क्षेत्रफलमा जुनार खेती विस्तार गरिएको छ भने जुनारबाट मात्र जिल्लामा पाँच हजारभन्दा बढी कृषकले रोजगारी पाएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.