कंकाल

कंकाल

‘म कंकाल हुँ महाशय ! राज्यद्वारा मारिएका हजारौं योद्धाको कंकाल।’


अन्धकार रात।

रामदीप शर्मा नदी किनारामा उभिएको थियो। ऊ एक्लै थियो। घना अन्धकारमा आफू कहाँ छु भन्नेसम्म पनि थाहा थिएन उसलाई। उज्यालोको नाममा ऊसँग बेट्री डाउन भएको टर्च लाइट थियो। जताततै बिजुली पुगेको समयमा सलाई किन चाहियो र ! उसले यस्तै सोचेर सलाई र लाइटर बोक्न छाडेको थियो।

पहिलोपल्ट यात्रामा निस्किँदा ऊसँग झुलो र चकमक सिवाय केही थिएन। यो उहिलेको कुरो हो। जतिखेर ऊ यही नदी किनारा हुँदै यात्रामा निस्किएको थियो। त्यतिखेर पनि रात थियो। अहिलेजस्तै अन्धकार थियो। उसले यही नदी किनारामा दर्शन ढुंगा रगडेर आगो सल्काएको थियो।

लामो समय उसले त्यसैगरी आगो बाल्यो। त्यही आगोको सहाराले ऊ गाउँमा पुग्यो। बस्ती बस्तीमा विचारको नयाँ बिरुवा रोप्यो। धेरैपछि मात्र सलाई र लाइटर किनेको हो। टर्चलाइट भने उसको नयाँ निर्माण थियो। लाइट बनाएपछि यात्रामा गुणात्मक विकास भयो। लाइटकै सहाराले ऊ धेरै ठाउँ पुग्यो। धेरै माथि पुग्यो।

धेरै टाढा पुगे पनि आज ऊ पुरानै ठाउँमा आइपुगेको थियो। उसको अघिल्तिर उही दोबाटो थियो। उही नदीसंगम थियो, जहाँ वर्षौंअघि उभिएको थियो। यति लामो समयपछि ऊ कसरी त्यहाँ आयो ? कसरी एक्लो र सहाराहीन भयो ? यतिखेर ऊ दिनभरि जोतेर थाकेको गोरुजस्तो थकित देखिन्थ्यो। ऊसँग न आँट थियो, न इच्छाशक्ति। न ऊभित्र पहिलेजस्तो उज्यालो थियो न साहस।

उसले कोटको खल्ती छाम्यो। झोला खोतलखातल गर्‍यो। अहँ कतै पनि भेटिएन सलाई। लाइटर हुने कुरै भएन। ग्याँस सकिएको भन्दै उहिल्यै फ्याँकिसकेको थियो। ग्याँस भर्न मिल्छ राख्नोस् भनेको थियो कसैले। आ ! सहरमा जाबो थोत्रो लाइटरको के काम ? फाल्दिन्छु भन्दै फालिदिएको थियो। चकमक र झुलो उहिल्यै खाल्डोमा गाडेको थियो। दर्शन ढुंगालाई भीरबाट गुल्ट्याएको पनि झन्डै एक दशक भयो।

‘आ जाबो ढुंगा ! म त शिखर चुमेको मान्छे पो !’ उनले यस्तै सोचेको थियो।

जति गरे पनि टर्चलाइट बालेन। ‘अब यो अन्धकारबाट कसरी पार पाउने होला ? ’ ऊ किंकर्तव्यविमूढ उभिइरह्यो। कता जाने ? पूर्व जाने कि पश्चिम ? सबैतिर अन्धकार भएपछि दिशा पनि कसरी छुट्याउनु ? उसले आकाश हेर्‍यो। आकाश बादलले ढाकिएको थियो। छ्या के भएको यो ? कसरी सबैतिर अन्धकार ! अन्धकार मेटाउन हिँडेका मान्छे स्वयं अन्धकारको बन्दी बनेको थियो।

त्यहाँ उभिएको घन्टौंपछि केही पर हो कि हैन जस्तो गरी प्रकाश देखियो। पिलपिलाउँदो उज्यालो देख्दा ऊ खुसीले रोमाञ्चित भयो। डुब्दै गरेको मानिसले तृण भेटेजस्तो। ऊ त्यही उज्यालोको प्रतीक्षामा बस्यो। प्रकाश क्रमशः नजिकिँदै आयो। यो खुसीको क्षण थियो। उसले अन्तरहृदयबाटै भगवान्लाई पुकार्‍यो। ‘भगवान् तँ साँच्चिकै अपरम्पार छ। बुझी नसक्नु छस्। तैंले गर्दा नै मैले शिखर चुमेँ। चकमकको युगबाट महान् युगमा फड्को मारेँ। तैंले नै सलाई र लाइटर दिइस्। तैंले नै टर्चलाइट दिइस्। अनि तैंले नै फेरि भट्किएको मलाई उद्धार गर्न यो प्रकाश पठाइस्। धन्य छस् तँ।’

हिजोको नास्तिक ऊ अहिले आस्तिक भएको थियो। भगवान्को पाउमा परेको थियो। उसले भन्थ्यो, यो सबै संगतको फल हो। सत्ताको परिणाम हो। शिखरमा पुगेपछि तलतिर हेर्नु पनि भएन। भुइँमान्छेको संगत छुटेर ऊ सम्भ्रान्त बनेको थियो। ऊ भन्थ्यो, ‘यो सबै बाध्यता हो। बाध्यताले मानिसलाई के बनाउँदैन ? सधैं चकमकको सहारा पनि लिनु भएन। विज्ञान र प्रविधिको युगमा ढुंगे युगतिर फर्किनु पनि भएन।’

उसले विगत कोट्याउँदा कोट्याउँदै प्रकाश उसको धेरै नजिक आइपुगेको थियो। उसले आगो बोक्ने मानिसलाई गौर गरेर हेर्‍यो। आगन्तुक पनि ऊजस्तै थियो। फरक यत्ति थियो, उसले तिलचामले जुंगा खौरिएको थियो। शिरमा चुच्चे टोपी शानले लगाएको थियो।

रामदीपलाई त्यो मानिस देखे देखेजस्तो लाग्यो। चिने चिनेजस्तो पनि लाग्यो। आगन्तुक नजिकै आएर शानले हात उठाउँदै अभिवादन गर्‍यो। रामदीपले अन्यमनस्क अनुहार लाएर अभिवादन फर्कायो। त्यो मानिस केही बेर उभियो र भन्यो, ‘फेरि कता निस्किएको ? जंगलतिर त पक्कै पनि हैन होला !’

उसको भनाइले रामदीप लजायो। कसरी भन्नु कि ऊ दिशाहीन भएको छ ? शक्ति र सौर्यहीन भएको छ। ऊ बोलेन। नबोलेको देखेर आगन्तुकले फेरि भन्यो, ‘किन नबोलेको ? मलाई सब थाहा छ, तिमी यहाँ किन उभिएका छौ ? ’

उसको भनाइले रामदीप झस्कियो।

‘तिमीलाई मैले उहिल्यै भनेको थिएँ कि तिमी वर्षात्मा उम्रिएको च्याउ हौ। कस्तो लाग्यो मेरो भविष्यवाणी ? ’ बोल्दै गर्दा उसले शानले कुम झट्कार्‍यो। स्फूर्त हाँसो हाँस्यो र फेरि भन्यो, ‘केही बिग्रिएको छैन। सबैले छाडे पनि हामी छौं। जान्छौ भने आऊ मसँग प्रकाश छ। जान्छौ ? ’

‘कहाँ ? कहाँ जाने भन्दैछौ तिमी ? ’

‘कहाँ जाने नि देश निर्माण गर्न।’ उसले उसैगरी भन्यो। यतिखेर भने उसको अनुहारमा व्यंग्यमि िश्रत मुस्कान प्रस्टै देखिन्थ्यो।

रामदीपले चारैतिर हेर्‍यो। परपर धेरै टाढासम्म अन्धकार फैलिएको थियो। आगन्तुकले बोकेको लाइट जूनकीरीजस्तै चिमचिमाउँदै थियो। लाइटको प्रकाशमा चिहानहरू चम्किँदै थिए। चम्किनेभन्दा पनि डरलाग्दा देखिँदै थिए। म मसानघाटमा उभिएको रहेछु भन्ने कुरा रामदीपले बल्ल थाहा पाएको थियो। यो देखेर उसलाई भित्रैदेखि डर लागेर आयो। नियतिले उसलाई यस्तो डरलाग्दो ठाउँमा ल्याएर उभ्याएको थियो। चारैतिर चिहानै चिहान ! अहिले ऊसँग सम्पत्तिको नाममा बेट्री डाउन भएको थोत्रो लाइट मात्र थियो।

हुन त उसलाई थाहा नभएको हैन, उसको यात्रा टुंगिएको छ। ऊ यात्राको त्यस्तो मोडमा आएर उभिएको थियो, जहाँबाट कतै पनि केही देखिन्नथ्यो। सबैतिर अन्धकारसिवाय केही थिएन। यस्तो अवस्थामा पनि उसले भगवान्लाई आह्वान गर्दै थियो। फेरि पनि शिखरमा पुग्ने सपना बुन्दै थियो।

नजिकै खङखङ काँसेको अवाजले उसको तन्द्रा भंग भयो। विगतको स्मृतिले गर्दा सँगै उभिएको पुरानो मित्रलाई समेत बिर्सिएको थियो उसले। आगन्तुक अझै पनि ऊसँगै उभिएको थियो। उसले फेरि पनि टाठो स्वरमा भन्यो, ‘तपाईं नजाने हैन ? ल म हिँडेँ।’ यति भन्दै ऊ हिँडी पनि हाल्यो।

रामदीपले आशंकाले भरिएका नयनले उसलाई हेर्‍यो। ऊ थकित भइसकेको थियो। ऊभित्र सिर्जनशीलता गुम्दै गएको थियो। यति हुँदा पनि सत्तामोहको माखेसांग्लोमा कमी आएको थिएन। जाँदै गरेको बटुवालाई सम्बोधन गर्दै उसले भन्यो, ‘लाइटको बेट्री चार्ज गर्न पाए हुन्थ्यो। तपाईं उतै जाँदै हुनुहुन्छ क्यारे ! मलाई पनि छिमेकीको सिमानासम्म पुर्‍याइदिनोस् न।’

‘भो भो ठूलो कुरो नगर्नोस्। जसलाई तपाईं टर्च लाइट भन्दै हुनुहुन्छ, त्यो लाइट हैन च्याउ हो च्याउ। उज्यालोको भ्रममा नपर्नोस् अब।’ आगन्तुकले रामदीपको भित्रैसम्म घोच्ने गरी भन्यो, ‘फाल्दिनोस् त्यसलाई र आउनोस् सँगै जाऊँ।’

उसको आवाजले ऊ निराश भयो। भित्रैसम्म तर्सियो पनि। यति लामो समयसम्म उज्यालो दिएको लाइट कसरी फाल्नु ? कसरी अरूको उज्यालोमा आफ्नो भविष्य देख्नु ? पर्नुसम्म बिलखबन्दमा पर्‍यो ऊ। ऊसँग उपाय पनि केही थिएन। उसले सोच्यो, ‘यो बिग्रिएको लाइट बोकेर कतिन्जेल बस्नु ? कतिन्जेल बनाउँछु बनाउँछु भन्दै ढाँट्नु। अरूलाई त ढाँटिएला अफैंलाई कहिलेसम्म ढाँट्नु ? ’

ऊ आगन्तुकतिर फर्किएर किच्च हाँस्यो। मुर्दा हाँसेजस्तो। उसको हाँसोमा न खुसी थियो, न प्राण।

त्यसपछि त्यो बिग्रिएको लाइट सुनसान बगरमा बेवारिसे भयो।

०००

लाइट बेवारिसे भएपछिको कुरो हो, गाउँमा अचम्मको घटना भयो।

कुरो के भन्दा रामदीप शर्माको अनुहार चिन्नै नसकिने गरी फेरियो।

उसको अनुहार मात्र फेरिएन, गाउँको मसानघाटमा रातैभरि ज्वाला दन्किन लाग्यो। यी दुवै घटना सँगसँगै भए। यस्तो अपत्यारिलो घटना देख्दा गाउँलेहरू तर्सिए। मसानघाटमा रातिा आगोको ज्वाला देखिनु अलच्छिन हो भन्थे हुनेखानेहरू। धेरै पहिले र त्योभन्दा पहिले पनि पटकपटक यस्तै अनिष्टका संकेतहरू देखिएका थिए। यस्ता संकेत देखिएपछि गाउँमा अशान्ति सुरु हुन्थ्यो। गाउँबाट सुरु भएको अशान्ति विस्तारै सहरसम्म पुग्थ्यो र राजाको गाथगादी हल्लिन थाल्थ्यो। फेरि पनि त्यही नियति दोहोरिने त हैन ? गाउँलेहरू सशंकित बने।

रामदीपको अनुहार कसरी फेरिएको ? फेरिन त पहिले पनि धेरैका अनुहार फेरिएका थिए। तर, यतिविघ्न पत्याउनै कठिन हुने गरी त फेरिएका थिएनन्। गाउँलेहरू भन्थे, मसान रिसाएपछि अगुवाको अनुहार बदलिन्छ। यसपल्ट पनि मसान रिसायो। मसान रिसाउनु भनेको सबैभन्दा डरलाग्दो कुलक्षण हो। देशकै हर्ताकर्ताको अनुहार फेरिएपछि कसरी आउला र शान्ति ? आफैं फेरिएको होला कि अरूले फेर्दिएको होला ? हुन त अहिलेको टेक्नोलोजीले के गरेको छैन र ! कतै उसले प्लास्टिक सर्जरी त गरेन ! सर्जरी गरेको भए त अनुहार मात्र फेरिनुपर्ने। उसको त सम्पूर्ण परिचय नै बदलिएको छ।

रामदीप गाउँ नआएको धेरै भएको थियो। ऊ प्रायः सहरमा बस्थ्यो। पानीको धारा बनाइदेऊ न भन्दा मैले त संविधानको धारा बनाउने हो भन्थ्यो। ऊ नै फेरिएपछि कसलाई भन्ने होला पानीको धारा बनाउन ? आफ्नो अनुहारमा अर्कैको अनुहार टाँसेर हिँड्दा पनि ङिच्च हाँस्छ। लाजै नभएजस्तो। उसलाई कसरी सम्झाउने होला कि तिमीले जसलाई म भन्दैछौ त्यो तिमी हैनौ। यो अनुहार नक्कली हो। विलकुल नक्कली। उसलाई यो भ्रमबाट कसरी मुक्त गर्ने होला ? गाउँलेहरू धर्मसंकटमा परेका थिए।

उसलाई भने आफ्नो रूप फेरिएकोमा कुनै मतलब थिएन। कस्तो मान्छे होला आफ्नै अनुहार फेरिँदा पनि दु:खी नहुने ? पहिचान गुमाएर बुख्याँचाजस्तो हुँदा पनि चाल नपाउने ? गाउँलेको यस्तो भनाइ उसले नसुनेको हैन। सुने पनि नसुझैं गथ्र्यो। उसले त्यसो भन्नेलाई मूर्ख र अबुझ भन्थ्यो। पुरातन विचार बोकेर हिँड्ने पाखे भन्थ्यो।

अनुहार फेरिएको केही दिनपछि ऊ यात्रामा निस्कियो। यसपल्ट पनि मसानघाटमा पुग्दा रात पर्‍यो। पहिलेजस्तै घना अन्धकार फैलियो। अन्धकार भए पनि यसपल्ट ऊ डराएन। ऊसँग पुरानो मित्रले दिएको अत्याधुनिक लाइट थियो। रातको घना अन्धकारमा मसानघाट पहिलेजस्तै सुनसान देखिन्थ्यो। एक मन त उसले सोच्यो, बेकारमा किन आए हुँला यो बाटो। मस्तले महलमा आराम गर्न छोडेर गाउँ निस्किएकोमा खिन्नता जाग्यो। तर, उसलाई त रातिराति ज्वाला दन्किनुको रहस्य खोज्नु थियो। गाउँलेहरू अन्तै लहसिनुको कारण पत्ता लगाउनु थियो। मसानघाटमा ज्वाला दन्किनु भनेको राम्रो लक्षण हैन भन्ने थाहा थियो उसलाई।

हुन त ऊ पनि यसैगरी मसानघाटबाटै उठेको हो। उसले पनि यसरी नै रातबिरात आगो सल्काएको हो। कैयौं दिन मसानघाटमा बसेर असरल्ल छरिएका सपना समेटेको हो। अहिले भने ऊ दरबारमा थियो। शिखरमा थियो। सत्ता शिखरमा पुगेको मानिस किन यो जर्जर बगरमा आएको होला ? विगतको नोस्टाल्जियाका कारण होला कि भविष्यप्रतिको चिन्ताले होला ? ऊ त्यो आगोमा पानी खन्याउन चाहन्थ्यो। आगो निभाउन ढिला गर्नु भनेको भविष्यमा डढेलो लगाउनु हो। यो कुरा उसलाई राम्रैसँग थाहा थियो।

ऊ पुगेको केही समयमै बगरमा ज्वाला दन्कियो। ज्वालाको कारण हो वा नक्कली भएकोले हो उसले समाएको लाइट अफ भयो। यो के भएको ? कसरी मेरो लाइट अफ भयो ? के अनिष्ट हो यो ? ऊ बेस्कन अत्तालियो। निधारमा चिट्चिट् पसिना देखिए।

ऊ मसानघाटको मध्य भागमा उभिएको थियो। यतिखेरसम्म त ज्वालामात्र बलेको थियो। तर तुरुन्तै चिहानको चाफो उप्कियो र एकजना मानिस निस्कियो। ऊ चिहानबाट उठेर जीउ तन्काउँदै लामो हाई काढ्यो। मानौं ऊ भर्खर निद्राबाट बिउँझिएको छ। त्यसपछि टुसुक्क भुइँमा बसेर आफ्नो काममा लाग्यो।

यस्तो दृश्य देख्दा रामदीपको होश गुम हुनु स्वाभाविकै थियो। चिहानबाट मानिस निस्कन्छ र काम गर्न थाल्छ। सँगै उभिएको उसलाई नदेखेजस्तो गर्छ। दुनियाँले मानेकोलाई जाबो मसानले अनादर गर्ने ? को हो यो ? निश्चय पनि मसानघाटमा आगो बाल्ने यही हो। रामदीपलाइ झनक्क रिस उठ्यो। साला ! मेरो सिको गर्दोरै’छ। निश्चय पनि यो मसाल मेरै हो। मभित्रबाटै निस्किएको हो। मेरो मसाल चोर्ने चोर यही हुनुपर्छ।

रामदीपले रिसाउँदै सोध्यो, ‘साला ! मसाल चोर। के गर्दैछस् ? ’

उसको आवाजले त्यो मानिस किञ्चित मुस्कुरायो। उसले काम नरोकीकनै ऊतिर हेर्‍यो। उसको एकापट्टि पुराना लाइट, बिग्रिएका बेट्री र सलाईका बट्टा थिए। अर्कोपट्टि लाइटर, झुलो, चकमक र दर्शन ढुंगा थिए।

‘महाशय म चोर हैन। श्रमिक हुँ। देख्नुभएन काम गर्दैछु’, उसले विस्तारै भन्यो।

‘यो मसानघाटमा के काम गर्दैछस् ? ’

‘के काम रे !’ यसो भन्दै एकपल्ट ऊ बेस्कन हाँस्यो। त्यसपछि फेरि रामदीपको अनुहारमा हेर्दै भन्यो, ‘जे काम कुनै समय तपाईं गर्नुहुन्थ्यो।’

‘प्रस्ट भन्। छलछामको जमाना हैन यो। म नयाँ नेपाल बनाउने काममा व्यस्त छु भन्ने तँलाई थाहा छैन र ! किन यसरी आगो बालेर गाउँलेलाई तर्साउँछस्।’

‘म त सदियौंदेखि मसानघाटमा फालिएका कोइला र बेट्रीहरू जम्मा गर्दै आएको छु। हेर्नोस् त यो चकमक र झुलो। तपाईंले खाल्डोमा गाडेको हैन ? यी दर्शनढुंगाहरू देख्दै हुनुहुन्छ नि ! तपाईंले गुल्ट्याएको हैन ? म यी सबै चीजबीज जम्मा गर्दैछु। पुराना सलाईका बट्टा र बेट्रीबाट बारुद बनाउँदै छु।’

‘के गर्छस् यो सब बनाएर ? तँलाई थाहा छैन र देशमा गणतन्त्र आयो भन्ने ? ’

‘थाहा छ। थाहा भएर त यो सब गरेको।’ उसले पुरानो बेट्रीको कार्बन निकाल्दै भन्यो, ‘म त श्रमिक हुँ महाशय ! श्रमिकको काम भनेकै संसारलाई नयाँ बनाउने हो।

‘तँ गणतन्त्रको हत्या गर्न चाहन्छस्। बारुद पड्काएर मलाई तर्साउन चाहन्छस्। तँलाई थाहा हुनुपर्ने कि म अब कसैले तर्साएर तर्सिंदैन। देखिनस् मेरो अनुहार ? ’

‘देखेँ। देखेर त चिहानबाट निस्किएको। म प्रत्येक संकटमा चिहानबाट निस्किन्छु भन्ने तपाईंलाई थाहा हुनुपर्ने।’

‘महान् प्राप्तिको विरोध गर्ने तँ को होस् ? भन् को होस् तँ ? तँलाई अहिल्यै ठीक पार्छु म।’

‘म कंकाल हुँ महाशय ! राज्यद्वारा मारिएका हजारौं योद्धाको कंकाल।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.