डोल्पोलाई सर्सर्ती चिहाउँदा

डोल्पोलाई सर्सर्ती चिहाउँदा

पछिल्लो समय फस्टाएको गैरआख्यान हो नियात्रा। नेपालको नियात्राका लेखक सोही उद्देश्यका लागि यात्रा गर्ने गरेका दृष्टान्त भने कमै भेटिन्छन्। सरकारी काम, गोष्ठी, सेमिनार वा तालिमको सिलसिला, आफन्तसँगको भेटघाट र पारिवारिक पुनर्मिलनका लागि आदि सन्दर्भमा गरिएका भ्रमण नै नियात्राको विषय बन्ने गरेका छन््। विदेशमा जस्तो महिनौंदेखि वर्षौंसम्म यात्रा गर्ने र त्यसरी सँगालिएका गहिरो अनुभव र अनुभूतिलाई नियात्रा लेखनमा उतार्ने नेपाली नियात्राकारको सर्वथा अभाव नै छ, आजपर्यन्त।

नियात्रा क्षेत्रमा कलम चलाउने लेखिका त कमै छन्। नियात्राको पहिलो पुस्तक प्रकाशन गरेर इतिहासको निर्माण गरिन् रञ्जुश्री पराजुलीले। लेखिकाको लाममा ‘टड्कारो उपस्थिति’ देखाउने नियात्राकार हुन्, भवानी खतिवडा। यिनै लेखिकाको नवीनतम नियात्रा कृति हो, ‘आकाश ओढेको डोल्पो’। २०७८ सालमा ११ दिन गरेको काठमाडौं–शेफोक्सुण्डोको यात्रा विवरण नै यो कृति हो। यो यात्रा त एउटा निबन्धमै लेख्न सकिन्थ्यो। तर उनले १६ शीर्षकमा १९५ पृष्ठमा लेखेकी छिन्। पहिलो निबन्ध ‘बाटो लागेपछि’मा तीन सहयात्री प्रभा बराल, सरस्वती अर्याल र रञ्जु दाहालको साथमा विमानको टिकट नमिलेपछि बसमा काठमाडौंबाट प्रस्थान गरेर निदाउँदासम्मको वर्णन छ।

‘हेल्लो ड्रागन फल’मा यात्राको दोस्रो दिनको बिहानी आँखा खुल्दा सुरु भएर दाङको तुलसीपुर नगरपालिकामा ड्रागन फलको खेती गरिएको ठाउँसम्मको बयान छ। ‘चक्का चढेर भीरमाथि’ अघिल्लो निबन्धमा वर्णित ड्रागन फलको प्रसंगबाट उठान भएर सल्यानको श्रीनगर पुग्दाका अनुभव, अनुभूति र शब्दचित्रहरू छन्। ‘झरीदेखि झरीसम्म’मा अघिल्लो मुकामबाट सुरु भएर रुकुम पश्चिमको खलंगाबजार बास बस्न पुगेको बयान छ जसमा २९ घण्टासम्म अविरल झरी परेको वर्णन छ। 

‘मुसीबज्यैको मुसीकोट’मा मुसीकोट दरबार विचरण तथा भेरी नदीको दृश्यपानसहित होटलमा बास बस्दाका सन्दर्भ छन्।

‘भेरीको तीरैतीर’मा जाजरकोट प्रवेश गरी त्रिवेणीदेखि ओर्लिंदासम्मका यात्राका मीठा नमीठा अनुभव र प्राकृतिक दृश्यावलीका वर्णन छन्। ‘ज्वालामुखीको पहिरोमुनि’ त्रिवेणीदेखि सुलीगाड निकुञ्जमा बास बस्दाको इतिवृत्त छ। ‘फैलेको पानी खुम्चेको स्याउ’मा सिस्नेको सेरोफेरो, फोक्सुण्डो खोलासहित फोक्सुण्डो गाउँपालिकासम्मको बयान र बखान छ। ‘चुच्चो जोड्ने चरीहरू’मा सेडाकसम्म पुगेका नालीबेली छन्। ‘भेलपुरी जोडी’मा सेडाकदेखि याँची हुँदै शेफोक्सुण्डो पुग्नुअघिका उकालीका कथा व्यथा र अनुभव छन्।

‘फोक्सुण्डोको ‘शे’ रमाइलो’मा सुलीगाड झरना, रिग्मो गाउँ, काञ्जीरोवा हिमाल र शेफोक्शुण्डो तालसम्म पुग्दाको अद्भुत अनुभव व्यक्त गरिएको छ। ‘तालका अनेक चालहरू’मा शेफोक्सुण्डो ताल अर्थात् भैरवकुण्डको बेहिसाब बयान छ। बखान छ। ‘याँचीका रैबार’मा शेफोक्सुण्डो गन्तव्यबाट फर्किंदा याँची आइपुगेको छोटो कथन छ। ‘यार्सा चियर्स’मा घर फर्कने क्रममा सुलिगाड निकुञ्जसम्मका अनुभूति सँगालिएका छन्। ‘ती नौ थान पुतली’मा दुनै, बालात्रिपुर सुन्दरीको मन्दिर परिक्रमा र दर्शनका प्रसंगको शाब्दिक चित्रकारिता छ। ‘चिसो रात ः मीठो सम्झना’ बाला त्रिपुरसुन्दरीसँग बिदाबारी भएर घरफिर्तीसम्मको नालीबेली छ।

नियात्राकार भवानी छन्दकी कवयित्री पनि भएर होला लेखनमा स्वाभाविक रूपमा गद्यमा काव्यिकता झल्किन्छन्, झुल्किन्छन् र पाठकले मिठास पाउँछन्। यो पुस्तकको सबल पक्ष हो। उनले नियात्रा लेखनको क्रममा बालकृष्ण सम, राष्ट्रकवि माधवप्रसाद घिमिरे, लेखनाथ पौड्याललगायत स्वनामधन्य कविका कवितांश सामेल गरेकी छन्। त्यतिमात्र नभएर ठाउँठाउँमा कविता फुराएकी छन्, यात्राकै क्रममा। यात्रा वर्णनको क्रममा उनको काव्य व्यक्तित्वले मुन्टो उठाउँछ र फुतुतु काव्यिक अभिव्यक्ति पस्किदिन्छ।

भवानीले पुस्तकमा अन्य नियात्राकार र तिनका कृतिको सम्झना गरेकी छन्। प्रतीक ढकालको ‘हिमालपारि पुगेपछि’ तथा ‘त्यो उज्यालो कर्णाली’, जनकलाल शर्माको ‘कौतुकमय डोल्पो’, काजी रोशनको ‘मानसरोवरमा डुबुल्की मार्दा’, देवीचन्द्र श्रेष्ठको ‘हुम्ला बोल्छ मानसरोवरमा’, मोहन मैनालीका ‘उपल्लो थलो’ तथा ‘माण्ठ हराएको जुग’, ओम रिजालको ‘रुँदै बग्दो छ मुगु कर्णाली’, विजयध्वज थापाको ‘कर्णालीको कुनोदेखि मानसरोवरसम्म’, विष्णुप्रसाद शर्मा पराजुलीको ‘डोल्पो, विश्वको जीवित संग्रहालय’ लगायतका कृति सम्झना गरेकी छन्। उनले नियात्रा पुस्तक लेख्नकै लागि यात्रा गरेको देखिन्छ, यो सुन्दर पक्ष हो।

तर पुस्तक लेख्नकै लागि र आकार बढाउनकै लागि कतिपय समावेश नगर्दा हुने प्रसंग छन् जसले दाँतमा ढुंगा लागेको अनुभव हुन्छ। पुस्तकलाई कमजोर बनाइदिएको छ। बसको झ्यालबाट देखेअनुसारको बयान कताकता अस्वाभाविक पनि लाग्छ। त्यो ठाउँमा पाइला नटेकी, स्थानीयसँग संवाद नगरी लेखिकाको सोचको एकालाप अनि ती स्थानको वर्णन बतासेजस्तो पनि अनुभव हुन्छ। बरु सहयात्रीहरूसँगको पारस्परिक संवादले नियात्रामा रोचकता थप्न सक्थ्यो र जीवन्त बन्थ्यो। यो अवसरलाई उनले सदुपयोग गर्न नसकेको देखिन्छ।

सुरुकै अध्याय र पछिका केहीमा व्यक्तिगत अहम् छचल्किएको छ। त्यस्ता प्रसंग हटाएको भए हुन्थ्यो। लाक्षणिक विनम्र भाषा प्रयोग गर्ने विकल्प पनि रोजेको पाइँदैन। अति निजी प्रसंग पनि नआइदिए बेस हुन्थ्यो। पुस्तकमा आफ्नै कवितांशलाई उपयोग गर्ने मोह अलि बढी देखिन्छ। राजनीतिका विकृतिका कुरा पुस्तकमा छताछुल्ल छन्। ती असन्तुष्टि पनि नियात्रामा समावेश गर्न कति जरुरी थियो रु भन्ने पाठकले महसुस गर्छ। अनुवाद गर्ने हो भने यो कृति अन्य भाषीसम्म पुग्छ, विदेशीलाई त्यस्ता कुराप्रति केको सरोकार ?

कतिपय उक्ति र विशेषणहरू पनि अमिल्दा भेटिन्छन्। पुस्तकको शीर्षकअनुसार यो नियात्रा डोल्पोमा मात्र केन्द्रित छैन। गन्तव्य मात्र डोल्पो हो। यति हुँदाहुँदै पनि यो कृति अहिले लेखिइरहेका कतिपय नियात्राभन्दा कम छैन। यौटी लेखिकाले गरेको यो साहसिक यात्राको कथा त हुँदै हो। भाषा–शैली पठनीय र लयात्मक भएकाले पाठकलाई निरन्तर तानिरहन सक्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.