पुरुषोत्ताम मास, साधना र भक्तिको मास

संस्कृति

पुरुषोत्ताम मास, साधना र भक्तिको मास
सुन्नुहोस्

आजको जीवन निकै यान्त्रिक भएको छ। मन काम र चिन्तामा अल्झिरहेको छ। यस मासले हामीलाई एउटै कुरा सिकाइरहन्छ– जीवन केवल बाहिरी सफलताको मात्र नाम होइन।

कार्यस्थल, बाटोघाटो र वरिपरि कयौं चेहरा देख्छौं। प्रायः धेरैजना हतारमा देखिन्छन्, तनावमा देखिन्छन्, मानसिक कोलाहलले भरिएका देखिन्छन्। आजको समय जीवनलगातार भागदौड, तनाव र अशान्तिले भरिएको छ। अधिकमास, मलमास अर्थात् पुरुषोत्तम मास त्यस्तो मास हो, जसले थोरै समय भए पनि मानिसलाई आफ्नो मन र कर्मलाई एकत्रित गरेर आत्मसाक्षात्कार गर्नलाई प्रेरणा दिन्छ। कयौंले यो महिनालाई अतिरिक्त मास भन्छन् तर यो अतिरिक्त मासमात्र नभएर साधना, भक्ति र आत्मचिन्तनको मास हो। लोकजीवनमा यसको छुट्टाछुट्टै धार्मिक र आध्यात्मिक महत्व छ।

के हो अधिकमास वा मलमास ? हिन्दु सभ्यतामा चन्द्रमास र सौरमासलाई आधार मानेर पात्रो गणना गरिन्छ। सौरमास र चन्द्रमास हिन्दु पञ्चांगमा समय र महिना गणना गर्ने अलग–अलग पद्धति हुन्। सौरमास सूर्यको गतिमा आधारित हुन्छ भने चन्द्रमास चन्द्रमाको कलाको घटबढमा निर्भर गर्छ। सौरमास सूर्यद्वारा राशिचक्रमा भ्रमण गर्ने अवधिमा आधारित हुन्छ अर्थात् एक राशिबाट अर्को राशिमा जाने समयमा आधारित हुन्छ। यो बाह्र राशिको नाममा आधारित हुन्छ। चन्द्रमाद्वारा पृथ्वीको एक चक्कर लगाउँदा जति समय लाग्छ, त्यो नै चन्द्रमास कहलिन्छ। चन्द्रमास दुई प्रकारका हुन्छन्ः १. आमान्त र २. पूर्णिमान्त। एउटा औंसीबाट सुरु भएर अर्को औंसीसम्म चल्ने आमान्त हो भने एउटा पूर्णिमाबाट सुरु भएर अर्को पूर्णिमासम्म चल्ने पूर्णिमान्त हो। चन्द्रमास चन्द्रमाको गति र कला अर्थात् औंसी र पूर्णिमामा आधारित हुन्छ।


सौरमास संक्रान्तिदेखि २९ दिनदेखि ३२ दिनसम्मको हुन्छ। चन्द्रमास एक पूर्णिमादेखि अर्को पूर्णिमासम्म २९ दिन १२ घण्टा ४४ मिनेट २४ सेकेन्डको हुन्छ। सौरमासको गणनाअनुसार १ वर्षमा ३६५ दिन हुन्छ भने चन्द्रमासको गणनाअनुसार ३५४ दिन हुन्छ। यसरी चन्द्रमासको दिन सौरमासभन्दा वर्षमा ११ दिन कम हुने हुनाले हरेक वर्ष ११ दिनको फरकलाई जोड्दै जाँदा तीन वर्षमा सौरमासभन्दा एक महिना बढ्ता हुन जान्छ। प्रसिद्ध ग्रन्थ ‘निर्णयसिन्धु’मा एउटा संक्रान्ति नभएको चन्द्रमासलाई मलमास भनिएको छ। 

यी दुईथरी मासलाई समायोजन गरेर चाडपर्व निर्धारण गर्ने पद्धति पाइन्छ। सौरमासको गते र चन्द्रमासको तिथिको समानता हुँदैन। सूर्य धनु राशि वा मीन राशिमा गोचर गर्दा जुन अतिरिक्त समय रहन्छ, त्यो नै मलमास, अधिकमास वा खरमास हुन्छ। अर्को अर्थमा भन्नुपर्दा चन्द्रमासमा बढेको दिन सौरमासमा समाहित गर्नका निम्ति जुन अतिरिक्त मास वा महिना जोडिन्छ, त्यो नै अधिकमास वा मलमासका रूपमा कहलिन्छ।

लोक जीवनमा पुरुषोत्ताम मासको प्रभाव लोक जीवनमा पुरुषोत्ताम मासको गहिरो प्रभाव पाइन्छ।


मलमासको पौराणिक माहात्म्य पुराणको कथाअनुसार पहिला यो अतिरिक्त मासलाई उपेक्षित मानिन्थ्यो। कुनै पनि देवतासँग यो मासको सम्बन्ध जोडिएको थिएन। भगवान् विष्णुले शरण दिएर नाम र आशीर्वाद दिएका कथाहरू पुराणहरूमा पढ्न पाइन्छ। पुरुषोत्तम भगवान् विष्णुको दिव्य नाम हो। यही कारणले यो महिनामा विष्णुभक्ति, नाम, जप, गीतापाठ र दानको विशेष महत्व रहेका कथाहरू प्रचलित छन्। दैत्यराज हिरण्यकशिपुले अमर हुन ब्रह्माजीको तपस्या ग¥यो। ब्रह्माजी प्रकट भएर वरदान माग्नका लागि भने। उसले भन्यो, ‘तपाईंले बनाएका कुनै पनि प्राणीबाट मेरो मृत्यु नहोस्। मनुष्य, देवता, पशुपन्छी, कीटपतंग, दैत्य कसैबाट पनि नहोस्। दिनमा पनि नमरुँ, रातमा पनि नमरुँ। शस्त्र, अस्त्रबाट पनि नमरुँ। पृथ्वीमा पनि नमरुँ, आकाशमा पनि नमरुँ। एकछत्र सम्राट होऊँ।’

तब ब्रह्माजीले तथास्तु भने। यसरी हिरण्यकशिपुको अत्याचार बढ्दै जान थाल्यो। विष्णुको कुनै भक्त धर्तीमा हुनु हुँदैन भन्ने फरमान जारी ग¥यो। श्रीहरिको मायाले उसको छोरो प्रह्लाद भक्त भएर निस्कियो। दैत्य प्रह्लादको ज्यानको दुश्मन भएर निस्कियो, तब नारायणले बाह्र महिनालाई तेह्र महिनामा बदलेर अधिकमास बनाए र नृसिंह अवतार धारण गरेर दैलोमा राखी आफ्नो नंग्राले पेट चिरेर उसको वध गरे। यसपछि हरेक चन्द्रमासका निम्ति एउटा देवता निर्धारित थिए तर यो मासको देवता बन्न कुनै पनि देवता तयार भएनन्। यो अवस्थामा ऋषिमुनिले भगवान् विष्णुसँग आग्रह गरे, ‘यो मासको भार हजुरले नै लिनुहोस् र पवित्र बनाउनुहोस्।’

भगवान् विष्णुले यो आग्रहलाई स्वीकार गरे। यसरी मलमाससँगै पुरुषोत्तम मास नाम रहन गयो। अर्को मान्यताअनुसार स्वामीहीन हुनुको कारण अधिकमासलाई मलमास भनेर अत्यधिक निन्दा गरियो। यसबाट मर्माहत भएर मलमास श्रीहरिको शरणमा पुगे र आफ्ना व्यथा सुनाए। श्रीहरिले उनलाई गोलोक लिएर गए। गोलोकमा भगवान् श्रीकृष्णले उनको व्यथा बुझेर स्वामित्व आफूले लिने वरदान दिँदै भने, ‘अबदेखि म तिम्रो स्वामी हूँ। यसबाट मेरा सबै गुण तिमीमा समाविष्ट हुन्छन्। तिमी पुरुषोत्तम मासको नामले चिनिनेछौ। त्यसैले प्रत्येक तेस्रो वर्षमा तिम्रो आगमनसँगै जुन व्यक्तिले श्रद्धा–भक्तिका साथ उत्तम कर्म गर्नेछ, उसलाई कयौं गुणा पुण्य प्राप्त हुनेछ।’ यसरी भगवान्ले अनुपयोगी मानिएको अधिक मासलाई धर्मकर्मका निम्ति उपयोगी बनाए। अतः यो दुर्लभ पुरुषोत्तम मासमा स्नान, पूजन, अनुष्ठान र दान गर्नेलाई कयौं पुण्यफल प्राप्त हुनेछ। पुरुषोत्तमको प्रतीकात्मक अर्थ अधिकमास भगवान् पुरुषोत्तमप्रति समर्पित मास भएकाले ‘पुरुषोत्तम’ शब्दको अर्थ पनि बुझ्नु जरुरी छ। पुरुषोत्तम शब्द ‘पुरुष’ र ’उत्तम’ शब्द मिलेर बनेको छ, जसको सीधा अर्थ हुन्छ– सबैभन्दा उत्तम पुरुष, सबैभन्दा श्रेष्ठ पुरुष; तर यसको छुट्टै रूपकीय, आलंकारिक र प्रतीकात्मक अर्थ छ। हिन्दुशास्त्र वेद, पुराण, उपनिषद् आदिमा यो शब्दको प्रयोग भएको पाइन्छ।

हिन्दु दर्शनअनुसार भगवान् विष्णु र उनका अवतारलाई पुरुषोत्तम भनिन्छ। जस्तै, वैदिक ग्रन्थमा उल्लेख छ– ‘सत्यं ज्ञानं अनन्तं ब्रह्म पुरुषोत्तमम्’। यसबाट नै प्रस्ट हुन्छ– निर्गुण ब्रह्मले आफ्नो प्रकृतिको प्रभावमा सगुण रूप लिन्छ। त्यो अवस्थामा एकातिर त्रिगुणात्मक प्रकृति अधीन रहन्छ र अर्कोतिर निराकार सत्ता रहन्छ। यी दुईबीच साम्यावस्था बनाइराख्न जुन भूमिका हुन्छ, त्यसलाई पुरुषोत्तम अवस्था भनिन्छ। सबै उपनिषद्को सार गीतामा भनिएको छ, ‘उपद्रष्टानुमन्ता च भर्ता भोक्ता महेश्वरः। परमात्मेति चाप्युक्तो देहेऽस्मिन्पुरुषः परः।।’

अर्थात् जसले हाम्रो शरीरमा साक्षीस्वरूप रहेर शरीरको अस्तित्व सञ्चालन र सन्तुलन मिलाएर राख्छन् र अनेक नामहरू जस्तै उपद्रष्टा, अनुमन्ता, भर्ता, भोक्ता, महेश्वर र परमात्माद्वारा चिनिन्छन्, त्यही नै परमपुरुष अर्थात् पुरुषोत्तम हुन्। त्यस्तै वाल्मीकि रामायणमा लेखिएको छ, ‘धर्मार्थकाममोक्षं च ददाति स पुरुषोत्तमः’। अर्थात् धर्म, अर्थ, काम, मोक्ष यी चारै फल दिनेवाला नै पुरुषोत्तम हुन्। पुरुषोत्तम शब्द अथाह समुद्र हो, जसको गहिराइ छुन यति छोटो लेखमा सम्भव छैन।

भगवान्लाई पुरुषोत्तम भनिनुका अनेकौं कारण छन्। भगवान् सर्वशक्तिमान, सर्वज्ञ, सर्वव्यापी र सर्वगुणसम्पन्न छन्। उनी दयालु, करुणामय र न्यायप्रिय छन्। पुरुषोत्तम पवित्र र उत्तम पद हो, जुन भगवान्को गुण र सर्वोच्च स्थानलाई स्वीकार गर्न प्रयोग गरिन्छ। श्रीहरिको प्रमुख अवतार श्रीरामलाई ‘मर्यादा पुरुषोत्तम’ र श्रीकृष्णलाई ‘लीला पुरुषोत्तम’ भनिन्छ। प्रभु श्रीरामलाई उनको सर्वोच्च आदर्श आचरणका कारण र श्रीकृष्णलाई अद्भुत लीलाका कारण क्रमशः मर्यादा पुरुषोत्तम र लीला पुरुषोत्तम भनिएको हो।

लोक जीवनमा पुरुषोत्तम मासको प्रभाव लोक जीवनमा पुरुषोत्तम मासको गहिरो प्रभाव रहेको पाइन्छ। यतिखेर लोक (मानिसहरू)ले श्रद्धा र क्षमताअनुसार आध्यात्मिक कार्यहरू गर्छन्। भगवान् विष्णु वा आफ्ना इष्टदेवको पूजा गर्छन्। लोकका निम्ति यो महिना आत्मशुद्धि, दान, पुण्य र आध्यात्मिक चिन्तनको महिना भएकाले यतिखेर मानिसहरू श्रीमद्भागवत गीता, रामायण र विष्णुसहस्रनाम पाठ गर्छन्। सात्विक भोजन ग्रहण गर्छन् र क्रोध, निन्दा एवं नकारात्मकतादेखि दूरी बनाउने कोसिस गर्छन्। यस मासको उद्देश्य केवल कठोर नियम निभाउनुमात्र होइन, ठूलो व्रत र अनुष्ठान सम्भव नभएको खण्डमा शान्त भएर आत्मसाक्षात्कार गर्ने कोसिस गर्नु पनि हो। जुन फल अन्य महिनामा कठिन तपस्याबाट प्राप्त हुन्छ, यतिखेर भक्ति र दानबाटै प्राप्त हुन्छ भन्ने लोकविश्वास छ। एउटा सानो जप वा दीपदानबाट हजारौं गुणा अत्यधिक फल प्राप्त हुन्छ।

लोकमा यस महिना ३३ को संख्या पवित्र मानिन्छ। यतिखेर ३३ वटा मालपुवा दान गर्ने विधान छ। ३३ मालपुवालाई ३३ कोटी अर्थात् ३३ प्रकारका देवता (१२ आदित्य, ८ वसु, ११ रुद्र, १ प्रजापति र १ वषट्कार) को प्रतीक मानिन्छ। यतिखेर अन्न, वस्त्रदान, गौसेवा र धार्मिक कार्यमा सहयोग गर्ने प्रचलन छ। यसो गर्नाले जीवनमा सुख, शान्ति र पुण्य प्राप्त हुन्छ। आत्मशुद्धि, संयम र सत्कार्यको माध्यमबाट ईश्वरको निकट पुग्ने अवसर प्राप्त हुन्छ। यो पावन महिनामा भगवान् विष्णु, श्रीकृष्ण एवम् शिवजीको पूजा, कथा श्रवण, गीतापाठ, भजनकीर्तन र नामजप विशेष फलदायी हुन्छन्। प्रातः स्नान, दीपदान र तुलसीपूजन गर्नाले घरमा सकारात्मक ऊर्जा र शान्तिको बास हुन्छ।

यतिखेर विवाह, गृह प्रवेशलगायतका कार्यहरू वर्जित हुन्छन्। यस समयलाई लोकले कुनै पनि फलको आशा नगरी सिधै ईश्वरसँग जोडिने समयका रूपमा बुझिरहेका हुन्छन्। लोकमा पुरुषोत्तम मासको माहात्म्यको एउटा कथा निकै प्रचलित छ– राजा दृढधन्वा र अग्निदेवको कथा। त्यसमा भनिएको छ– कसरी एउटा अहंकारी व्यक्तिले यस मासको नियमलाई पालना गरेर परमपद प्राप्त गर्‍यो ? यस मासले सिकाइरहन्छ– ईश्वरको शरणमा आएपछि मैलो (मलमास) पनि अमृत (पुरुषोत्तम मास) बन्छ। यस महिना पवित्र नदीमा स्नान गरेर श्रीमद्भागवत कथा श्रवण गर्नाले जानेर वा नजानेर गरेका पापबाट मुक्ति मिल्छ। जुन साधकले पूर्ण सात्विकता र भक्तिपूर्वक व्रत गर्छ, उसलाई मरणोपरान्त वैकुण्ठधाममा वास मिल्छ।

निष्कर्षमा आजको जीवन निकै यान्त्रिक भएको छ। मन काम र चिन्तामा अल्झिरहेको छ। यस मासले हामीलाई एउटै कुरा सिकाइरहन्छ– जीवन केवल बाहिरी सफलताको मात्र नाम होइन। सफल जीवनका निम्ति भित्री शान्ति र चेतना पनि उत्तिकै महत्वपूर्ण छ। कहिलेकाहीँ जीवन यति कोलाहलले भरिन्छ कि आत्माको आवाज सुन्न पनि बन्द हुन्छ। यस मासले त्यही हराएको शान्ति फर्काउने निमन्त्रणा दिन्छ। भौतिक इच्छादेखि पर आत्मचिन्तन, निष्काम भक्ति र ब्रह्माण्ड एवं प्रकृतिको चक्रसँग तालमेल मिलाउन सिकाउँछ। 

यो पावन महिनाले निरन्तर सिकाइरहन्छ– भक्ति नै शक्ति हो र सेवा परम सुख हो। सनातन धर्मको मूलभूत मान्यता छ– जब मानिस जीवनको दौडधुपबाट हटेर ईश्वर, आत्मा र आफ्नो कर्मतिर ध्यान दिन्छ, तब ऊ छिट्टै परिवर्तित हुन्छ। साँच्चै यो मास साधना गरेर आफूभित्रको परब्रह्मसँग साक्षात्कार गर्ने मास हो, आत्मिक ऊर्जा जागृत गराउने मास हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.