पर्सामा पाटे बाघ मृत अवस्थामा भेटियो
वीरगन्ज : पर्सामा शनिबार एउटा पाटे बाघ मृत अवस्थामा भेटिएको छ ।
पर्साको सखुवा प्रसौनी गाँउपालिका–१ मा पर्ने राष्ट्रिय वन छेउको महादेव खोलाको झाडीमा शनिबार अन्दाजी १० वर्ष उमेरको पाटे बाघ मृत अवस्थामा फेला परेको हो ।
पछाडि पट्टीको बायाँ खुट्टाको खुर र हेकुलाको मासु काटेर लगेको अवस्थामा बाघ भेटिएको बताइएको छ । डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत वशिष्ठ नारायण कुर्मी भन्छन्, ‘बाघको मृत शरीर सढेको अवस्थामा भेटियो । सायद ५÷६ दिन पहिले नै मरेको हुनु पर्छ ।’
बाघको प्राकृतिक मृत्यु हो वा कसैले मारेको यकिन भन्न नसकिने कुर्मीको भनाइ छ । यसबारे अनुसन्धान भइरहेको उनले बताए । शनिबार घाँस दाउरा लिन जंगल जाँदै गरेक स्थानीयले बाघलाई मृत अवस्थामा फेला पारेपछि जिल्ल वन कार्यालय पर्सामा खबर गरेका थिए ।
पर्सा राष्ट्रिय निकुन्जका सहायक वन संरक्षण अधिकृत शीव नारायण साह, डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत वशिष्ठ नारायण कुर्मी लगायतको टोलीे घटनास्थलमा पुगेको थियो ।
मृत अवस्थामा भेटिएको बाघको पाष्टमार्टम गरी शनिबार साँझ नै सेक्टर वन कार्यालय बढ् निहारको परिसरमा खाल्डो खनेर गाडिएको कुर्मीले जानकारी दिए । सन् २०१८ मा पर्सा राष्ट्रिय निकुन्जले गरेको गणना अनुसार पर्सा राष्ट्रिय निकुन्जमा अहिले बाघको संख्या १८ छ ।
प्रतिक्रिया दिनुहोस !