पढाई रोकेर विद्यालयमा महोत्सव
![पढाई रोकेर विद्यालयमा महोत्सव](https://annapurnapost.prixacdn.net/media/albums/inaguration_20181212074428_8WRjxSJgD7.jpg)
रुकुम : सिस्ने ५ रुकुमकोटका प्रतीक शाही रुक्मीनी मध्यामिक विद्यालयमा कक्षा १० का विद्यार्थी हुन्। एसईईको परीक्षा नजिकिदै जाँदा पढाईको चाप पनि बढिरहेको छ, तर अब केही दिनका लागि विद्यालयको नियमित पढाई भने गडबड भएको छ।
कारण हो, विद्यालयमा मंगलबारदेखि सुरु भएको रुकुम पूर्व पर्यटन तथा सांस्कृतिक महोत्सव। अगामी पुस ५ गतेसम्म संञ्चालन हुने यो महोत्सवका कारण आउँदो १० दिन विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर पर्ने देखिएको छ।
विद्यालयको प्राङ्गण प्रयोग गरेवापत विद्यालयलाई आयोजकका तर्फबाट दुई लाख रुपैयाँ दिने सहमति भएपनि विद्यालयबाट आधिकारिक अनुमति नलिएरै परिसरमा महोत्सवको तयारी थालेको विद्यालय प्रशासनले बताएको छ। आयोजकसँग सल्लाह भएमा दिउसो मेला चल्ने भएकाले बिहान साढे ६ बजेदेखि दिउसो १२ बजेसम्म पढाईलाई निरन्तरता दिने विद्यालयले बताएको छ।
अन्त्याधिक चिसोका कारण बिहानपख विद्यार्थी पढन आउन नसक्ने अभिभावकहरू बताउँछन्। यसरी पढाई रोकेर कसैको व्यवसायिक हितका लागि विद्यालय परिसरमा महोत्सव गर्न दिन गलत भएको अभिभावकहरूको भनाई छ।
‘पर्यटन जडिवुटी, उद्योग र व्यापार, रुकुम पूर्वको समृद्धिको मुल आधार’ भन्ने मुल नाराका साथ रुकुम पूर्व चेम्बर अफ कमर्सले जिल्ला सदरमुकाम सिस्ने गाउँपालिका ५, रुकुमकोटमा रहेको रुक्मिनी माविमा महोत्सव आयोजना गरेको हो। महोत्सवको मंगलबार उप–प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले उद्घाटन गरे।
विभिन्न व्यवसायिक स्टाल राखिएको यस महोत्सव अवधिभर दर्जनौं कलाकारको सांस्कृतिक प्रस्तुति रहने बताइएको छ। ठूलो आवाजमा दिउसो १२ बजेदेखि साँझ ५ बजेसम्म संञ्चालन हुने यो महोत्सवले गर्दा विद्यालयको पढाईमा प्रत्यक्ष असर परेको र यो सरासर गलत भएको अभिभावक बताउछन्। तर विद्यालय व्यवस्थापन समिति अध्यक्ष मदन शाहले भने विद्यालय व्यवस्थापन समितिसँग आयोजकले सल्लाह गरेरै महोत्सव गर्न दिने निर्णय गरेको र आयोजकले विद्यालयलाई प्राङ्गण प्रयोगबापत् दुई लाख रुपैयाँ दिने सहमति पनि भएको बताएका छन्।
अध्यक्ष शाहका अनुसार कक्षा ६ देखि ११ सम्मको बिहान साढे ६ देखि १२ बजेसम्म र कक्षा १ देखि ५ कक्षा सम्मको पढाई बिहान ८ देखि १२ बजेसम्म गरेर पढाईलाई निरन्तरता दिने तयारी छ।
कक्षा १ देखि १२ सम्म यस विद्यालयमा ९६० विद्यार्थी पढ्छन्। महोत्सवका कारण विद्यार्थीको पठनपाठनमा बाधा पुगेको बताउदै विद्यालयका प्रधानाध्यापक कृष्ण गौतम भन्छन्, ‘विद्यालय समयमा महोत्सव हुँदा पढाईमा असर पर्नेभयो। महोत्सव गर्ने अर्को ठाउँको विकल्प नहुँदा यो समस्या आएको हो। विहानी कक्षा संञ्चालन गरेर भएपनि हामि पठनपाठनलाई निरन्तरता दिने प्रयास गर्नेछौ।’
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)