जाजरकोटमा ७४ प्रतिशत बालविवाह

जाजरकोटमा ७४ प्रतिशत बालविवाह

जाजरकोट : सविता खत्रीको उमेर १२ वर्ष मात्र भयो। उनी खलंगाको त्रिभुवन माविमा कक्षा ६ पढ्दै थिइन्। तिनै सविताले बिहे गरेको खबर सुनेर उनका शिक्षक र साथीहरू अचम्मित भए। तर जाजरकोटमा बालविवाह विरलै हुने घटना होइन। यस जिल्लामा ७४ प्रतिशतले उमेर नपुग्दै घरजम गर्छन्। जसले गर्दा पढाइ छोड्ने र सम्बन्धविच्छेद गर्नेको संख्या बढिरहेको छ।

धादिङका १८ वर्षीय दुर्गा तामाङ पुल बनाउन जाजरकोट आएका थिए। सविताले उनैसँग भागीविवाह गरेकी छन्। गाउँलेले भनेपछि मात्रै उनका बुबा अक्कलबहादुर खत्रीले छोरीले बिहे गरेको थाहा पाए। ‘दिनहुँ पढ्न जान्थी। हामीलाई थाहा नदिई यति सानै उमेरमा पोइल जाली भन्ने सोचेका थिएनौँ,’ उनले भने। उमेर नपुगेकी छोरीले बिहे गरेपछि दुःख पाउलिन् भन्ने चिन्ता उनलाई थपिएको छ।

सविता मात्रै होइन, विवाहबारे थाहै नभएका थुप्रै केटाकेटीले जोडी बाँध्ने गरेका छन्। सविताकै स्कुलको कक्षा ८ मा पढ्ने १३ वर्षीया लक्ष्मी घर्ती र विमला कुँवर तथा १४ वर्षकी कल्पना विकले पनि विवाह गरेका छन्। दुई साताभित्र चार छात्राले भागीविवाह गरेपछि शिक्षक र विद्यार्थी चकित छन्। घरको आर्थिक अवस्था नाजुक र पढाइमा पनि कमजोर रहेका बालबालिकाले उमेर नपुग्दै विवाह गर्ने गरेको शिक्षक रेखा शाहले बताइन्।‘सानैमा बिहे नगर्नू भनेर सम्झाउँछौँ। तर बालविवाह रोकिएको छैन,’ उनी भन्छिन्। अधिकांश छात्राछात्राको स्कुल पढ्दापढ्दै विवाह हुने गरेको वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंहले बताए।

बालबालिकाको स्थिति प्रतिवेदनअनुसार जाजरकोटमा ७४ प्रतिशतले उमेर नपुग्दै लगनगाँठो कस्ने गरेका छन्। जम्मा ६७ हजार ३ सय ३२ जना विवाहितमध्ये १९ वर्ष नपुग्दै विवाह गर्नेको संख्या ४९ हजार ८ सय ६२ छ। एक सय ६५ जनाले १० वर्षकै उमेरमा विवाह गरेका थिए। १० देखि १४ वर्षसम्मका पाँच हजार ६ सय ६८ जना छन्। त्यस्तै १५ देखि १९ वर्षको उमेरमा ४४ हजार २९ जना बालबालिकाको विवाह भएको प्रतिवेदनमा उल्लेख छ। बालविवाह गर्नेमा बालकभन्दा बढी बालिका छन्। ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालकले उमेर नपुगी घरजम बसाएका छन्।

अशिक्षा र चेतनाको अभावले जाजरकोटमा बालविवाह गर्नेको संख्या अधिक छ। यसले उनीहरूको मानसिक तथा शारीरिक विकासमा पनि बाधा गरेको छ।

बालविवाहका कारण सम्बन्धविच्छेदका घटना बढेका छन्। जिल्ला अदालतको तथ्यांकअनुसार गत आर्थिक वर्षमा सम्बन्धविच्छेदका लागि ५१ वटा मुद्दा दर्ता भएका थिए। जसमध्ये ४१ जोडीको उमेर ३० वर्षमुनि छ। यी सबै जोडीको विवाह १९ वर्ष नपुग्दै भएको थियो।

मुलुकी देवानी संहितामा २० वर्षमुनिको विवाहलाई बालविवाह भनिएको छ। यस्तो गर्ने र गराउने दुवैलाई सजायको व्यवस्था छ। तथापि कम उमेरमै भागीविवाह गर्ने चलन अन्त्य हुन नसकेको अधिवक्ता निमबहादुर शाहीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.