होसियार ! विषालु दूध त हैन

होसियार ! विषालु दूध त हैन

काठमाडौं : बालबालिका, वृद्ध, बिरामी र गर्भवतीका लागि दूध सर्वोत्तम पेय मानिन्छ। तर पछिल्लो समय त्यही पोषिलो दूध मानव स्वास्थ्यका लागि विषतुल्य बन्न थालेको छ। विज्ञकाअनुसार पछिल्लो समय एन्टिबायोटिक्स औषधिको ‘अवशेष’युक्त दूध आम मानिसले प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ। यसले मावन स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्छ।

गाईभैंसीको थुन र कल्चौडोमा लाग्ने एक प्रकारको जटिल रोग थुनेलो नियन्त्रण गर्न प्रयोग गरिने एन्टिबायोटिक्स समूहको कडा औषधिका कारण दूध विषाक्त बन्दै गएको हो। एन्टिबायोटिक्स खुवाएका गाईभैंसीको दूध प्रयोग गर्नु मानव स्वास्थ्यका लागि निकै घातक मानिन्छ। पशु सेवा विभागकाअनुसार थुनेलो रोगबाट प्रभावित गाईभैंसीको दूध सेवनका कारण अहिले विश्वभर बर्सेनि करोडौंको संख्यामा सर्वसाधारण प्रभावित बन्न थालेका छन्।

यो रोगबाट प्रभावित गाईभैंसीको दूध खुला र प्याकेटका रूपमा नेपाली बजारमा पनि आउने गरेको छ। विभागका महानिर्देशक डा. बिमलकुमार निर्मल भन्छन्, ‘हामी पोषिलो आहाराको रूपमा दूध सेवन गर्छौं, तर यो कस्तो स्रोतबाट आएको हो, सोच्नुपर्ने बेला आएको छ। जताभावी दूध सेवन गर्दा यसले मानव स्वास्थ्यमा दीर्घकालीन असर पुग्ने सम्भावना अत्यधिक हुन्छ।’ गाईभैंसीमा प्रयोग गरिने एन्टिबायोटिक्स औषधिको ‘अवशेष’ दूधमार्फत बालबालिका, गर्भवति महिलाका साथै आम सर्वसाधारणको शरीरमा पुग्छ जुन घातक पनि हुन सक्छ।

उनकाअनुसार थुनेलो रोगका लागि गाईभैंसीमा सिप्रोफ्लक्सासिन, ओफ्लक्सासिनजस्ता औषधि दिनुपर्ने हुन्छ। यो रोग दुधालु गाईभैंसीमा मात्रै लाग्ने गर्छ। रोगले धेरै नच्याप्दासम्म मासुमा र साह्रै गाह्रो भएपछि कल्चौडामै सुइमार्फत दिने गरिन्छ। ‘यसरी औषधि प्रयोग गरिन्जेल अथवा रोग निको नभइन्जेल उक्त गाईभैंसीको दूध सेवन गर्नु हुँदैन’, महानिर्देशक निर्मलले भने।

विभागकाअनुसार गाईभैंसीलाई ऐन्टिबायोटिक्सको सुई लगाएको न्यूनतम १२ घण्टासम्म पर्खेर दूध दुहने गर्नुपर्छ। यसले एन्टिबायोटिक्स औषधिको अवशेष दूधमा नआउने दाबी विभागको छ। ‘१२ घण्टा पनि नपर्खी दूध दुहुनाले एन्टिबायोटिक्सको अवशेष सोझै दूधमा आउँछ। उक्त दूध बालबालिका र गर्भवति महिला र वृद्धलाई घातक मानिन्छ’, डा. निर्मलले भने।

विभागकाअनुसार नेपाली किसानले थुनेलो लागेका र एन्टिबायोटिक्स प्रयोग गरेका गाईभैंसीको दूध मिसाएर संकलन केन्द्रमा बिक्री गर्ने गर्छन्। यसले वृद्ध, गर्भवति महिला र बिरामीले पौष्टिक आहारको रूपमा प्रयोग गर्दा उल्टै जोखिम बढ्छ भने नयाँ रोग पनि थपिन सक्छ। ती जोखिमयुक्त व्यक्ति र आम मानिसमा उक्त एन्टिबायोटिक्स रेसिस्ट भई कुनै रोग लागेमा निको नहुने र कडा औषधि प्रयोग गर्नुपर्ने हुन्छ। ‘हुर्कंदै गरेको शिशु, साना बालबालिका वा अन्य समूहका सर्वसाधारणलाई कुनै रोग लाग्दा त्यही समूहका औषधिले काम गर्दैन, अवशेषको मात्रा बढ्दै गए साइट इफेक्ट हुँदा शरीरको कुनै अंगले काम नगर्ने र दीर्घकालीन रोग निम्तिने सम्भावना पनि उत्तिकै हुन्छ’, डा. निर्मलले भने।

पशु सेवा विभागकाअनुसार थुनेलो रोगबाट प्रभावित गाईभैंसीको दूध सेवनका कारण अहिले विश्वभर बर्सेनि करोडौंको संख्यामा सर्वसाधारण प्रभावित  भएका छन्।

एन्टिबायोटिक्स समूहतर्फ नयाँ औषधि संसारभर नआएको करिब २० वर्षभन्दा बढी भएको विभागको भनाइ छ। अवशेषयुक्त दूध सेवन गर्ने व्यक्तिमा त्यही समूहसहित अन्य समूहको एन्टिबायोटिक्स औषधिले काम नगर्ने र नयाँ एन्टिबायोटिक्स औषधिसमेत नबनेकाले विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

विभागकाअनुसार केही ठूला अत्याधुनिक उपकरणसहितको सहकारी संकलन केन्द्रले यस्ता दूध परीक्षण गरे पनि करिब ९० प्रतिशत यस्ता अवशेषयुक्त दूध सोझै स्वच्छ दूधमा मि श्रण गरेर बजारमा पठाउने गरिएकाले जटिल समस्या उत्पन्न भएको छ। कुल गाईभैंसीमध्ये करिब २० प्रतिशतको संख्याका गाईभैंसीमा यो रोग लागिरहन्छ। अत्यधिक परिमाणमा दूध दिने गाईभैंसीको कल्चौडो र थुनमै यो रोगले संक्रमण गर्छ। रोग लागेपछि दूध उत्पादनमा कमी आउँछ।

विभागकाअनुसार थुनेलो लक्षण देखिने र नदेखिने गरी दुई किसिमका हुन्छन्। थुनेलो भएमा थुन र कल्चौडो सुनिने, दूधमा रगत देखिने, साना साना गाठा हुने, कल्चौडो र थुन छाम्दा कडा र तातो हुने तथा दूध उत्पादनमा कमी आउने हुन्छ। समयमा उपचार नगरे थुन कानो हुने र थुन झर्ने समस्या आउँछ।

लक्षण नदेखिने थुनेलो भए कल्चौडो वा थुन सुनिएको हुँदैन तर दूध उत्पादनमा २५ देखि ३० प्रतिशतले कमी आउने विभागले जनाएको छ। थुनेलो रोग विभिन्न किटाणुबाट लाग्दछ। राष्ट्रिय गाई अनुसन्धान कार्यक्रमद्वारा ०७२÷७३ मा चितवनको माडी र कास्कीका एक सय २० गाईका चार सय ८० दूधको नमुना परीक्षण गर्दा ५०.४ प्रतिशत लक्षण नदेखिने थुनेलोको प्रकोप देखिएको थियो। जसमध्ये स्टाफाइलोकोकसले ३४ प्रतिशत, इकोलाइले २२.८ प्रतिशत, इस्ट्रेप्टोकोकसले ११.४ प्रतिशत, सिउडोमोनसले चार प्रतिशत, स्टाफाइलोकोकस र इकोलाईको संयुक्त १५.२ प्रतिशत र अन्य किटाणुद्वारा ११.४ प्रतिशत थुनेलोको संक्रमण भएको पाइएको विभागले जनाएको छ।

विभागले दूधको स्वच्छता र गुणस्तरीयता कायम गर्न दूधको स्रोत र संकलन केन्द्रमा पनि भेटेरिनरी चिकित्सकको उपस्थिति अनिवार्य हुनुपर्ने सुझाव अघि सारेको छ। विभागले यो सुझाव भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा हालै जारी भएको दूध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका कार्यान्वयनको विषयमा दिएको हो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.