नेकपामा नेतृत्व आलोचना : पूर्वएमाले खरो, माओवादी नरम
काठमाडौं : स्थायी समिति बैठकमा बोल्ने नेकपाका अधिकांश नेताले नेतृत्वको चर्को आलोचना गरेका छन्। आलोचना गर्नेमा पूर्वएमाले धाराका नेता आक्रामक देखिए भने पूर्वमाओवादी नेता नरम।
शनिबारबाट सुुरु बैठकमा सोमबार दुई अध्यक्षको साझा दस्तावेज र नेता वामदेव गौतमको पुरक प्रस्तावमा १० जना नेता बोले। ८ जनाले नेतृत्व र सरकार दुवैको आलोचना गरे।
सोमबार फरक मत राख्ने गौतमसहित अग्नि सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश शाह, वेदुराम भुसाल र शक्ति बस्नेत बोलेका थिए।
‘तत्कालीन एमालेका नेताहरू कडा रूपमा प्रस्तुत भए, माओवादीतिरका नेताको टिप्पणी अलिक नरम सुनियो’, एक स्थायी समिति सदस्यले भने। बस्नेत र गजुरेलले सरकारको बचाउमा बोलेका थिए। गजुरेलले चार पृष्ठमा लिखित धारणा राखे। प्रत्येक सदस्यलाई बोल्न २० मिनेट दिइएको छ।
‘वामेदवले तीखो शैलीमा फरक मत राख्नुभयो’, एक सदस्यले भने, ‘घनश्याम भुसालले नेतृत्वमा विचारको स्खलन भयो भन्दै आक्रामक रूपमा राख्नुभयो। कमिटीको अनुमोदन भनेको छ, कहिले निर्णय भयो र अनुमोदन ? विधान सम्बन्धमा वेदुराम भुसालले मसिनो गरी राख्नुभयो।’
प्रधानमन्त्री पदमा रहेको मान्छेले आफ्नो फरक मतलाई हँसिमजाकको विषय बनाएको भन्दै अध्यक्ष केपी ओलीको आलोचना गरे। पार्टीभित्रैबाट आफूलाई पेल्न खोजेपछि लिखित मतसहित बैठकमा आएको उनले बताएका थिए। ‘मेरो मतलाई मजाकको विषय बनाउने ? तपार्इंसँग दुईतिहाइ छँदैछ, संविधान संशोधन गरेर बनाउनुहोस् न दुई जना प्रधानमन्त्री,’ गौतमले भने।
गौतमले एक व्यक्ति एक पदको अवधारणाअनुसार प्रधानमन्त्री हुनले सरकारको काम र अर्का अध्यक्षले पार्टी जिम्मा दिन प्रस्ताव गरेका थिए। त्यसैलाई अध्यक्ष ओलीले शनिबार व्यंग्य गरेका थिए। ओलीले संविधानमा व्यवस्था भएको भए दुईटा प्रधानमन्त्री समेत राख्न हुन्थ्यो भनी टिप्पणी गरेका थिए।
गौतमले आफू उपचुनाव लड्न चाहेको र रामवीर मानन्धरले आफ्ना लागि पद त्याग गर्न तयार भएको प्रसंग पनि बैठकमा कोट्याए। उनले पार्टी नेताहरूलाई नै प्रयोग गरेर आफ्नो चरित्रहत्या गर्न खोजेको भनी असन्तुष्टि पोखेका थिए।
‘नेतृत्व सबैतिर आफै मात्रै हुनुपर्छ भन्ने खालको छ। के म योग्य छैन ? ’ गौतमले बैठकमा भनेका थिए। उनले त्यसपछि आफ्नै १६ पृष्ठ लामो दस्तावेजमा उल्लेखित विषयमा बोलेका थिए।
स्थायी समिति सदस्य घनश्याम भुसालले पार्टी अध्यक्ष ओली आत्मश्लाघामा रुमल्लिएको भन्दै अध्यक्षद्वयको राजनीतिक दस्तावेजलाई अपूर्ण भने। ‘नेताहरू समय नभएको भन्दै बैठक सार्नुहुन्छ अर्काेतिर दशैंका बेला दिनहुँ टीका लगाइदिन पनि फुर्सदै। तथ्य यस्तो देखिँदैछ। यो उहाँहरूको आत्मश्लाघा हो,’ भुसालले बैठकमा भने। उनले पार्टीभित्र गुटबन्दी मात्रै मौलाएको भन्दै नेतृत्वको योग्यतामाथि नै प्रश्न उठेको टिप्पणी गरे।
‘पार्टीमा गुटबन्दीले नश्लको रूप लिँदैछ। थुक, खकार र वीर्य टेस्ट गरेर मात्र गुटको हो–होइन भनेर छुट्टाउने परम्परा पार्टीमा बसेको छ,’ भुसालले बैठकमा राखेको धारणा सुनाउँदै अन्नपूर्णसँग भने, ‘खड्गप्रसाद ओलीको गुटबन्दीको व्यक्तिगत रूपमा साक्षी हुन सकिन्नँ। हुन्न पनि।’
अध्यक्षद्वयको दस्तावेजमा पार्टीका समस्याको समाधान नभएकाले त्यो पास हुन नसक्ने पनि उनले जिकिर गरेका थिए। अर्का नेता वेदुराम भुसालले विधानअनुसार काम नभएको भन्दै प्रदेश कमिटी बनाउँदा पनि विधानको प्रावधान तोडिएको जिकिर गरे।
अग्नि सापकोटाले समयमै एकता नहुँदा पार्टीलाई घाटा भएको बताए। उनले प्रधानमन्त्री ओलीले शक्ति केन्द्रीकरण गरेकोमा बैठकमा असन्तुष्टि जनाएका थिए। भूकम्प गएको साढे ३ वर्ष बित्दासम्म तातोपानी नाका खुल्न नसकेकोमा भन्दै उनले बैठकको ध्यानाकर्षष गराएका थिए।
पूर्वराष्ट्रपति रामवरण यादव चीन जाँदा भूकम्पपीडितका नाममा आएको १४ अर्ब नेपाली रूपैयाँको हिसाबबारे पनि उनले बैठकमा प्रश्न उठाएका थिए। उनले पिस फेडेरेसनको सम्मेलनले प्रधानमन्त्रीको छवि धुमिल बनाएको जिकिर गरे।
गणेश शाहले बैठकमा प्रस्तुत भएका अध्यक्षद्वय र गौतमका दुवै दस्तावेज एउटै बनाउन सुझाव दिए। बैठकमा अध्यक्षहरूबाहेक ३३ स्थायी समिति सदस्यले धारणा राख्न बाँकी छ। प्रवक्ता नारायणकाजी श्रेष्ठले सबैले बोलेपछि प्रतिवेदनलाई अन्तिम रूप दिने बताए।