दरबारका ‘पाइनदार घोडा’

दरबारका ‘पाइनदार घोडा’

‘पाइनदार अरबी घोडा हो, डा. तुलसी गिरी’, नारायणहिटी दरबारको गोप्य–मूल्यांकन थियो। सँगै थप टिप्पणी राखियो, ‘गन्तव्यमा पुर्‍याउँछ। सवार चिन्छ। लगाम राम्ररी नसमाए लडाउन सक्छ। तर लगाम (टुप्पी) छैन।’ दरबारले यसरी हरेक पात्रको मूल्यांकन गथ्र्याे, परिस्थितिअनुरूप प्रयोगमा ल्याउँथ्यो।

दलविहीन पञ्चायती व्यवस्था लागू गर्न र टिकाउन योगी नरहरिनाथदेखि राजनीतिज्ञ डा. गिरीसम्म प्रयोग गर्न सफल रह्यो, दरबार। खासमा दरबारका यस्ता ‘भित्री कुरा’ बाहिर आउँदैनथ्यो।

दरबारकै पूर्वप्रमुख सचिव रेवतीरमण खनालको दुई वर्षअघि सार्वजनिक आत्मकथामार्फत् खासखास केही पात्रका दरबारिया मूल्यांकन बाहिर आयो। २०१७ मा पञ्चायती व्यवस्था लागू गर्नुपूर्व ठाउँठाउँमा अराजक माहोल सिर्जना गर्न प्रयोग भएका थिए, योगी नरहरिनाथ। योगीका क्रियाकलापले विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्तमा ठाउँ पाएको छ। तिनै योगीका हकमा दरबारको मूल्यांकन रहेछ– ‘जोगी कसैको नियन्त्रणमा हुँदैन, कुरा मात्र सुन्ने।’

हुन पनि डा. गिरी दरबार र पञ्चायती व्यवस्थाका निम्ति ‘पाइनदार’ घोडा ठहरिए। र, दरबारले सधैंभरि उनीमाथि लगाम भने कस्न सकेन। त्यही कारण उनको राजनीतिक जीवन उथलपुथल मात्र भएन, कतिपय बेला भुँमरीमै पर्‍यो। गिरी कहिले पञ्चायती व्यवस्थाको शक्ति केन्द्रमा आइपुग्थे त कहिले किनारामै धकेलिन्थे।

दरबारको फाइलमा ‘पाइनदार घोडा’ मा सूचीकृत भएकै कारण ७८ वर्षे वृद्ध उमेरमा पनि डा. गिरीलाई २०६१ माघ–१९ पछि तत्कालीन राजा ज्ञानेन्द्रले दौडाउन चाहे। उनले डा. गिरीलाई प्रयोगमा नल्याएका भए, पछिल्लो पुस्ताले उनीबारे त्यति चासो राख्ने अवसर पाउँदैनथियो। किनभने, १९ वर्षदेखि       श्रीलंका र भारतको बैंगलोरमा ‘सन्न्यासी राजनीतिक जीवन’ मा थिए उनी।

उनी एकाएक २०६१ माघ १९ प्रकरण हुनु केही दिनअघि काठमाडौंमा प्रकट भए। पाँचतारे याक एन्ड यती होटलको ‘सुइट’ मा उनको बास थियो। उनको आगमनमा शेरबहादुर देउवा सरकारको खासै चासो थिएन। तर, पञ्चायतका हस्तीहरू उनलाई भेट्न होटलमा लर्काे लागेका थिए। यसरी शासकीय वृत्तमा उनी फेरि फुत्त पदार्पण गर्छन् भन्ने अनुमान कसैलाई थिएन।

डा. गिरी विदेशमा रहँदा उनीबारे कतै चासो थिएन, कसैले सम्झेको पनि थिएन। र, सम्झनुपर्ने खास ‘कारण’ पनि थिएन। तर, जब उनी मुलुक भित्रिएर मन्त्रिपरिषद्का उपाध्यक्ष बने तब राजनीतिक विगत खोतलिन थाल्यो– उनका रसरंगी जीवनशैलीका पत्रहरू सतहमा केलाइन थाले। यहाँसम्म कि उनी त बैंकिङ कालोसूचीभित्र दर्ज पात्रसमेत रहेछन्, मुलुक भित्रिएसँगै ऋणको पर्दा पनि उघारियो।

उनले वर्षौंअघि बैंकबाट लिएको ऋण तिरेका रहेनछन्। उनी सम्मिलित समूहले बैैंकसँग ऋण लिएर प्लास्टिक कम्पनी खोलेका थिए। उनी बिदेसिएपछि त्यो ऋण तिरिएन। नेपाल बैंक लिमिटेडले एक करोड ७४ लाख नतिरेकाले कालोसूचीमा उनको नाम दर्ज गरेछ, पहिल्यै। त्यो रकम तिर्न उनलाई जनस्तरबाट दबाब पर्‍यो। यहाँसम्म कि काठमाडौंका छिमेकी जिल्ला नुवाकोटवासीले व्यंग्यस्वरूप पैसा उठाएर पठाए। उता काभ्रेलीले दूध र तरकारी पठाए, ‘बेचेर ऋण तिर्नुस्’ भन्दै।

कालोसूचीसँगै पत्रकारको स्वाभाविक जिज्ञासा रह्यो, ‘अब डा. सा’ब नैतिकताका आधारमा राजीनामा दिनुहुन्छ कि हुन्न ? ’ तर, उनको जवाफ थियो, ‘बैंकबाट वास्तविक जानकारी नदिइकन किन राजीनामा दिने ? ’ खासमा वर्षाैंअघिको ऋण उनको सम्झनामै रहेनछ। पछि उनका अनुयायीहरूले बैंकको हिसाबकिताब मिलाए।

डा. गिरी रंगीन र विलासी जीवनशैलीमा सौखिन पात्र मानिन्थे। उनका रुचिका सबाल थिए– दरबार, कार, क्यामेरा, घडी, महिला। सानेपा हाइटमा अनौठो निवास बनाए, जुन ‘उड्ने घर’ ले चिनिन्थ्यो। त्यो घर पञ्चायतकालभरि बहुचर्चित रह्यो। राजनीतिक पद नपाउँदाका बखत उनी ‘क्लासिक भेन्टेज’ कारको समेत व्यापार गर्थे। राणाका पुराना दरबार र कार किन्थे। अनि बेच्थे।

फोटो पत्रकार गोपाल चित्रकारको स्मरण पनि त्यस्तै छ। डा. गिरी र तीन ‘क’ को संयोग–संयोजन उनको स्मरणमा रहिरह्यो। चित्रकारका शब्दमा, ‘त्यो बेला गिरीलाई ‘तीन क’ भनेर चिनिन्थ्यो, जुन गिरीका कमजोरी थिए। पहिलो ‘क’ भनेको केटी। प्रधानमन्त्री भएका बेला पनि उनका गर्लफ्रेन्ड थिए। दोस्रो ‘क’ भनेको कार। उनलाई नयाँ–नयाँ कार चाहिने। तेस्रो ‘क’ चाहिँ क्यामेरा। नयाँनयाँ क्यामेरा चलाइरहनुपर्ने।’ (बाह्रखरी अनलाइन, २०७४ पुस ४।)

उनका रुचि बुझेका व्यापारीहरू उनलाई घडी–क्यामेरा उपहार दिन्थे। बजारमा आइपुग्दा नपुग्दै नयाँ घडीका उपभोक्ता उनी बन्थे। यहाँसम्म कि उनलाई रुसी प्रधानमन्त्रीले त ‘भोल्गा’ गाडी उपहारमा पठाएका थिए। कतिपय बेला उनको रसरंगी जीवनसँग प्रशासक, राजनीतिकर्मी र व्यापारीहरूसमेत लोभिन पुग्थे। पञ्चायतमा सत्तामा नहुँदा व्यापारमै समय खर्चिन्थे। उनले डा. जोगेन्द्र झासँग मिलेर ठेक्कापट्टाको काम गरे, राजनीतिमा नहुँदाका बखत।

०००

२४ भदौ, २०३४ शुक्रबारको दिन थियो। सिंहदरबारमा डा. गिरी प्रधानमन्त्रीकै हैसियतमा युगोस्लाभियाका राजदूत इलिजा टोपालोस्कोसँग बिदाइभेट र जापानी प्रतिनिधिमण्डलसँग छलफल गर्दै थिए। त्यतिखेरै दरबारले मन्त्रिपरिषद् विघटन भएको विज्ञप्ति जारी गर्‍यो।

एकाएक मन्त्रिपरिषद् विघटनसम्बन्धी दरबारको विज्ञप्तिसँगै उनी झस्किन पुगे। त्यो दिनपछि उनले पञ्चायती व्यवस्थामा शासकीय पद पाएनन्। बरु उल्टो उनीविरुद्ध २०३५ मा गलैंचा कान्ड र भ्रष्टाचारको अभियोग लाग्यो। २०३२ मा पञ्चायती संविधानको दोस्रो संशोधनसँगै उपल्लो तहको भ्रष्टाचार नियन्त्रण गर्न ‘अख्तियार दुरुपयोग निवारण आयोग’ बनेको थियो। आयोगले २०३४ मा कार्यारम्भ गरेपछि प्रारम्भिक निसानामा पार्‍यो, ‘गलैंचा काण्ड’लाई। गलैंचा व्यापारमा राजनीतिकर्मी, व्यापारी र कर्मचारीतन्त्र मुछिएका थिए, जसमा ९१ जना अभियुक्त थिए।

त्यसपछि उनी पञ्चायतसँग विरक्तिन पुगे। तर, उनीसँग पञ्चायतको अनुदारवादी धार मोहित थियो, उनलाई राजनीतिमा निरन्तर राख्न चाहन्थ्यो।

भ्रष्टाचार अभियोगका कारण राजनीतिबाट टाढिँदै थिए। २०३६ को जनमत संग्रह घोषणापछि फेरि अनुदार पञ्चहरूले उनलाई राजनीतिमा ताने। पञ्चायत जिताउने चुनावी सभाका प्रखर वक्ता बनाइए। चुनावी सभामा आफूलाई षड्यन्त्रमूलक ढंगले फसाएको र अभियोगमा प्रमाणित भएमा फाँसी चढ्न तयार रहेको बोल्न बाँकी राखेनन्। उनले २०३७ मा भ्रष्टाचारको अभियोगबाट सफाइ पाए।

गिरीको राजनीति सिध्याउन दरबारले कुनै कसर बाँकी राखेन। २०२४ मा जनकपुरबाट राष्ट्रिय पञ्चायत सदस्यका निम्ति प्रस्तावक र समर्थकसमेत पाएनन्। त्यसमा उनले दरबारकै झेल देखे। त्यसको केही समयपछि उनको अभिव्यक्ति आयो, ‘पञ्चायत भनेको पीँध नभएको लोटा हो, कुनै पनि बेला ढल्न सक्छ।’

पञ्चायतकालभरि डा. गिरी दक्षिण एसियाकै प्रखर राजनीतिज्ञका रूपमा प्रचारित थिए। निर्दलीयता शब्दप्रति अति मोहित थिए उनी। पञ्च भेलाहरूमा भन्ने गर्थे– ‘निर्दलीयता नजोगिएला भन्ने चिन्ता मलाई छ र यसलाई स्थायी तुल्याउन म लडिरहनेछु। निर्दलीयतासम्बन्धी मेरो धारणासँग एक न एक दिन सबै पञ्च र तिनले अंगीकार गरेको नेतृत्व सहमत हुने विश्वास मलाई छ।’

एकाएक डा. गिरीले जनमत संग्रहको परिणाम आएकै दिन २०३७ जेठ १ मा ‘सक्रिय राजनीतिबाट अलग रहने’ घोषणा गरे। नागरिक हिसाबमा शान्तिपूर्ण जीवन बिताउन चाहेको उल्लेख गरी ‘राजनीतिक सन्न्यास’ लिए। डा. गिरीको सन्न्यासलाई ‘घुर्की’ ठान्नेहरू पनि कम्ती थिएनन्। हुन पनि उनको ‘सन्न्यास’ शब्द आउँदा जनमत संग्रहताका सहरका भित्तामा कुँदिएका शब्दहरू मेटिइसकेका थिएनन्, ‘डा. गिरी पञ्चायती व्यवस्थाको आमा हुन्।’

‘सन्न्यास’ शब्द आएको तीन वर्षपछि अर्थात् २०४० पुस १ को पञ्चायती संविधान दिवसका दिन डा. गिरीको बहुचर्चित भाषण आयो, ‘ श्री ५ बाट हुकुम भएमा म सारी लगाउन पनि तयार छु।’ दलविहीन पञ्चायतको २५ वर्षलाई वर्षैभरका निम्ति राष्ट्रिय पर्वको रूपमा रजत–जयन्ती वर्ष घोषित गरिएको थियो २०४२ मा। उनलाई संयोजक तोकिएको थियो। तर, पर्व नसकिँदै एकाएक बीचैमा उनले मुलुक छाडे।

आठ वर्षदेखि पञ्चायतमा गतिलो पद नपाएर विचलित गिरी बाहिरिँदा धेरैले धेरै अर्थ लगाए– ‘शासकीय पद नपाएपछिको घुर्की।’ त्यसपछि उनी ओझेलमा पर्दै गए। उनलाई भेट्न केही मानिस       श्रीलंका र बैंगलोरसम्म भेट्न पुग्थे। अनि अन्तर्वार्ता र समाचार बोकेर फर्किन्थे– ‘अब गिरी राजनीतिमा कहिल्यै फर्कंदैनन्।’ उनको त्यो भनाइलाई सन्दर्भ बनाउँदै क्रियाशील नेताहरूमाथि प्रहार गरिन्थ्यो, ‘आर्यघाट पुग्दासम्म पद नछाड्नेहरूले गिरीलाई सम्झिऊन्।’

०००

डा. गिरी भारतको पटनामा पढेका सिराहाका जमिनदार परिवारका पात्र हुन्। धनाढ्य परिवारका डा. गिरी प्रजातन्त्र स्थापनासँगै २०१० ताका काठमाडौंमा मेडिकल प्राक्टिस गर्न आएका थिए आफ्नै गाडीसँगै। त्यतिखेर विश्वेश्वरप्रसाद कोइराला (बीपी) सँग मोटर थिएन। बीपी उनको मोटर प्रयोग गर्थे। त्यसै क्रममा बीपीसँग उनको निकटता बढ्यो। त्यही मोटरले उनलाई छोटो समयमै कांग्रेसमा सहायक महामन्त्री र २०१२ मा त महामन्त्री हुने अवसरसम्म दिलायो।

२०१५ अघि डा. गिरी राजतन्त्रको खुबै आलोचना गर्थे। उनले कांग्रेस महामन्त्री हुँदाका बखत पार्टीको मुखपत्र ‘नेपाल पुकार’ मा ‘देश, नरेश र जनता’ लेख लेखेका थिए जुन राजतन्त्रविरुद्ध थियो। त्यो लेखपछि नेपाल पुकार पत्रिका नै प्रतिबन्धमा पर्‍यो। सम्पादकलाई जरिबाना गरिायो। उनी सुरुमा नेपालीमा लेख्न जान्दैनथिए। विश्वबन्धु थापाले उनका लेख नेपालीमा अनुवाद गर्थे।

२०१२ मा विद्रोही नेता केआईसिंह चीनबाट फर्के। धेरैले सिंहलाई ‘हौवा’ बनाएका थिए। तर गिरीले सिंहमा कुनै त्यस्तो राजनीतिक तागत देखेनन्। त्यसपछि सिंहको शैली हेर्दै डा. गिरीले लेखेका थिए– ‘बहुत सौरत सुना था हात्तीका दुम्का, देखा तो हातभरका रस्सी निस्की।’

डा. गिरी २०१५ को संसदीय निर्वाचनमा गएनन् र उनलाई चुनावप्रति रुचि पनि थिएन। कांग्रेस नेता बीपीले २०१६ मा महासभा सदस्य मात्र बनाएनन् कि ग्राम–विकास उपमन्त्री र पछि परराष्ट्रमन्त्री समेत बनाए। २०१७ मा कोइरालाले संयुक्त राष्ट्रसंघमा जानुपूर्व डा. गिरीलाई मन्त्रिपरिषद्बाट हटाएका थिए। त्यतिखेर उनलाई हटाउने सबालमा राजा महेन्द्रसँग कोइरालाको खचपच परेको थियो, ‘कार्यविधि नमिलेको’ सबाललाई लिएर। कोइरालाको आत्मवृत्तान्तअनुसार, ‘राजाले भने– मैले पो त्यसलाई बर्खास्त गर्ने वा हटाउने हो, तपाईंले त होइन।’

कोइरालाले राजा महेन्द्रसँग लहसिएको आशंकामा डा. गिरीलाई हटाएका हुन्। २०१७ पुस १ को ‘कू’सँगै उनी पनि पक्राउ परे। चार दिनपछि छुटे। कांग्रेस सरकार हुँदा यिनी पदीय वरीयताक्रममा ‘एघारांै नम्बर’ का मन्त्री थिए। निर्दलीयताको आगमनसँगै २०१७ पुस १२ मा पहिलो नम्बरका मन्त्री बने। त्यसपछि दरबारले यिनलाई २०१९ चैत २० मा मन्त्रिपरिषद् अध्यक्ष बनाएको थियो। राजा महेन्द्रसँग ‘नीतिगत मतभेद’ देखाउँदै राजीनामा दिए, २०२१ माघ १२ मा। दरबारले विज्ञप्ति जारी गर्‍यो, ‘आजसम्म सरकारी ओहदामा बसी इमानदारीसाथ गरेको सेवाका निमित्त धन्यवाद बक्सँदै उक्त राजीनामा स्वीकृत गरिबक्सेको छ।’

त्यसपछि गिरीको राजनीति सिध्याउन दरबारले कुनै कसर बाँकी राखेन। २०२४ मा जनकपुरबाट राष्ट्रिय पञ्चायत सदस्यका निम्ति प्रस्तावक र समर्थकसमेत पाएनन्। त्यसमा उनले दरबारकै झेल देखे। त्यसको केही समयपछि उनको अभिव्यक्ति आयो, ‘पञ्चायत भनेको पीँध नभएको लोटा हो, कुनै पनि बेला ढल्न सक्छ।’ त्यो अभिव्यक्तिसँगै डा. गिरी २०२५ वैशाखको पहिलो साता जनकपुरमा पक्राउ परे। महोत्तरी जेलमा चोर–डाकासँगै राखियो। उनले दरबारमा आफूलाई राजनीतिक बन्दी सरहको व्यवहार गर्न बिन्तीपत्र पठाएका थिए। तीन महिनापछि २०२५ असार २५ मा मुक्ति मिल्यो।

त्यसपछि व्यापार–व्यवसायमा तल्लीन थिए, डा. गिरी। तीन वर्षपछि नयाँ वर्षकै बिहानी अर्थात् २०२८ वैशाख १ का दिन राजा महेन्द्रले राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत गरे। तर, उनका छोरा वीरेन्द्रले त्यसलाई निरन्तरता दिन चाहेनन्। बडादसंैको चाड सुरु हुँदैथियो। वीरेन्द्रले ‘अचानक’ २०२९ असोज २३ मा राष्ट्रिय पञ्चायत सदस्यबाट उनलाई राजीनामा दिन बाध्य पारे।

अन्ततः दरबारले त्यो ‘पाइनदार घोडा’ लाई टाढा पुर्‍याउन चाहेन। केही समयपछि राजा वीरेन्द्रले ‘मन्त्री सरह’ को सुविधा उपलब्ध गराउँदै आफ्नै ‘राजनीतिक–सल्लाहकार’मा नियुक्त गरे। २०३२ मंसिर १४ मा राम्रै फलिफाप भयो। त्यही दिन उनलाई राष्ट्रिय पञ्चायत सदस्य मनोनीत गरियो र प्रधानमन्त्रीमा नियुक्ति पनि।

उनी स्वयं आफूलाई ‘सिद्धान्तहीन’ पात्र घोषित गरिरहन्थे, पञ्चायतदेखि माघ–१९ प्रकरणसम्मै। आफ्नो कुनै राजनीतिक विचारसमेत नभएको धारणा राख्दै माघ–१९ पछिको सरकारमा गएपछि पत्रकारसामु उनले भनेका थिए, ‘मेरो व्यक्तिगत विचारको कुनै महत्व छैन। राजाको विचारका अघि मेरो विचारको के महŒव छ ?       मैले मेरो विचार २०१७ सालमा नै राजामा समर्पित गरिसकेको छु।’ अब यी पात्र हामीसँग रहेनन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.