समाजसेवामा सक्रिय
भाइबहिनीहरू, सभामुख कृष्णबहादुर महरा कुनै समय रेडक्रसमा आबद्ध थिए भनेको सुन्दा तिमीहरूलाई अचम्म लाग्ला। आफू यो अवस्थासम्म आइपुग्नुमा रेडक्रसबाट आर्जेको ज्ञानसीपको सभामुख महरा बेला बखत स्मरण गर्छन्। त्यस्तै, अर्थमन्त्री डा. युवराज खतिवडा कुनैबेला जुनियर रेडक्रसको सदस्य थिए। पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द पनि विद्यार्थी जीवनमा रेडक्रसमा आबद्ध थिए। सामाजिक रूपान्तरण गर्ने उद्देश्यले जुनियर तथा युवा रेडक्रसमा लागेका व्यक्तिहरू अहिले मुलुककै समृद्धिका लागि खटिरहेका छन् ।
नेपाल जुनियर रेडक्रसको सुरुआत २०२१ साल फागुन २२ गते तत्कालीन युवराज श्री ५ वीरेन्द्रबाट भएको थियो। यही दिनलाई नेपाल जुनियर तथा युवा रेडक्रसको जन्मदिनको रूपमा पनि मनाइन्छ ।
२०२० भदौ १९ गते नेपालमा रेडक्रसको स्थापना भएको थियो। नेपाल रेडक्रस सोसाइटीको युवा अंगको रूपमा नेपाल जुनियर तथा युवा रेडक्रसले आफ्नो स्थापनाको ५० वर्ष मनाइसकेको छ। म सेवा गर्छु भन्ने मूलमन्त्र लिई रेडक्रस समाजसेवामा सक्रिय रहँदै आएको छ। समुदायमा आइपर्ने विपद् व्यवस्थापनलगायत समाज परिवर्तनका रचनात्मक कार्यहरूमा जुनियर तथा युवा रेडक्रसमा आबद्ध विद्यार्थी सक्रिय हुने गर्छन् ।
मानवीय सहयोगको पक्षलाई आत्मसात् गरी रेडक्रसले विद्यालय स्तरमा जुनियर र कलेज तथा सामुदायिक स्तरमा युवा रेडक्रसको स्थापना र विस्तार सुरु गरेको छ। अहिले नेपालभर करिब पाँच हजार ६ सय सर्कलमा करिब नौ लाख विद्यार्थी र युवा आबद्ध भएका छन्। रगत संकलन, सरसरफाइ, दुर्घटना प्राकृतिक प्रकोप, महामारीमा परेकाको उद्धार, उपचार, पुनस्र्थापना र राहत वितरणमा सक्रिय रहँदै आएका छन् ।
अहिले रेडक्रस केन्द्रीय जुनियर युवा समिति छ। मुलुकका ७७ वटै जिल्लामा उपसमिति छ। हरेक विद्यालयमा ८ कक्षासम्म पढाइ हुने जुनियर सर्कल हुन्छ। जहाँ १२ सम्म पढाइ हुन्छ, त्यहाँ युवा सर्कल हुन्छ। हाल करिब मुलुकभर जुनियर र युवा सर्कलमा गरी करिब नौ लाख सदस्य छन् ।
हरेक वर्ष नेपालबाट नर्बे दुई जना युवा लगिन्छ। त्यस्तै नर्बेबाट नौ महिनाको लागि नेपाल आउँछन्। यो युवा स्वयम्सेवक आदानप्रदान हो। यसको उद्देश्यबारे प्रकाश पार्दै केन्द्रीय रेडक्रस जुनियर युवा समितिका सभापति सपुतबहादुर कार्की भन्छन्, ‘नर्बेबाट आएका विद्यार्थी नेपालका विद्यालयमा गई काम गर्छन्। त्यस्तै नेपालका पनि नर्वेमा गएर नर्वे रेडक्रसले तोकेको ठाउँमा गएर काम गर्छन्। विद्यार्थीलाई तालिम दिन्छन्। रेडक्रस सिद्धान्तबारे पढाउँछन् ।’
केन्द्रीय रेडक्रस जुनियर युवा समितिका सभापति कार्कीका अनुसार, विद्यार्थीबीच आपसमा अन्तरक्रिया गर्न यस खालका कार्यक्रमले सघाउ पुर्याएको छ। अहिलेसम्म नौ ब्याच नेपालबाट गएका छन्। युवा विनिमय कार्यक्रमअन्तर्गत दस महिना नर्बे बसेर फर्किएका राजेश राई भन्छन्, ‘समय व्यवस्थापन, नेतृत्व विकाससँगै व्यक्तित्व विकासका बारे धेरै जानकारी पाएँ ।’ नर्बेबाट नेपालमा पनि नौ ब्याच आएका छन्। नर्बेबाट आएका युथ भोलेन्टियरहरूले अहिले स्याङ्जामा बसेर स्थानीय विद्यालयमा गएर तालिम दिने, सर्कल गठन गर्ने कार्य गरिरहेका छन्। हरेक वर्ष जिल्लास्तरमा जुनियर युवा गोष्ठी हुन्छ। त्यस्तै, हरेक वर्ष जुनियर राष्ट्रिय गोष्ठी हुन्छ ।
मुलुकभरका जुनियर युवाको सहभागिता हुन्छ। यस वर्षको दुई दिने राष्ट्रिय गोष्ठी फागुनमा पोखरामा हुँदैछ। राष्ट्रिय गोष्ठीमा होम स्टेको व्यवस्था गरिन्छ। जसअन्तर्गत स्थानीय स्कुलको विद्यालयका विद्यार्थीले आआफ्ना साथीहरूको घरमा पुग्छन्। आपसमा अन्तरक्रिया, संस्कृति आदानप्रदान हुन्छ। वातावरण परिवर्तनलगायत समसामयिक विषयबारे जानकारी गरिन्छ। प्रकोपको बेला कसरी बच्ने र बचाउने सम्बन्धमा सिकाइन्छ। जुनियर युथलाई दैवीप्रकोप व्यवस्थापन, प्राथमिक उपचार, खानेपानीसम्बन्धी तालिम दिइन्छ। विशेषगरी जुनियर युथको सक्रिय भूमिका प्रकोपको बेला हुन्छ। उनीहरूले आपत्कालीन अवस्थामा समुदायमा गएर उद्धार गर्ने सहयोग गर्ने गर्छन्। यस वर्षदेखि युथ एक्सचेन्ज कार्यक्रमअन्तर्गत ११ जना युवालाई विभिन्न जिल्लामा पठाई विद्यालयमा काम गरे ।बक्स
सामाजिक सेवासँगै व्यक्तित्व विकास
सपुतबहादुर कार्की - केन्द्रीय रेडक्रस जुनियर युवा समिति, सभापति
अहिले वास्तवमा जुनियर युवा रेडक्रसका खम्बा हुन्। हरेक विपत् परिस्थितिमा उनीहरूको महत्त्वपूर्ण भूमिका हुन्छ। उनीहरू भावी रेडक्रसका नेतृत्वकर्मी हुन्। मुलुककै लागि नेतृत्व दिने महत्त्वपूर्ण व्यक्ति बन्न सक्छन् उनीहरू। जुनियर रेडक्रसमा लाग्नु भनेको सामाजिक सेवाका साथै व्यक्तित्व विकास पनि हो।
यो कुराले पछि उनीहरूको निजी जीवनमा पनि सकारात्मक प्रभाव पार्छ। त्यसैले भाइबहिनीहरू तिमीहरू पनि जुनियर रेडक्रसमा लागेर समाजसेवामा सक्रिय भयौ भने यसले तिमीहरूको भविष्य उज्जवल पार्न सहयोग पुर्याउँछ। इन्ट्रो ः हरेक विद्यालयमा ८ कक्षासम्म पढाइ हुने जुनियर सर्कल हुन्छ। जहाँ १२ सम्म पढाइ हुन्छ, त्यहाँ युवा सर्कल हुन्छ। हाल करिब मुलुकभर जुनियर र युवा सर्कलमा गरी करिब नौ लाख सदस्य छन् ।
प्रतिक्रिया दिनुहोस !