यिसुको सम्झनामा क्रिसमस
युरोप–अमेरिकी महादेशमा प्रभावी रहेको धर्म हो– इसाई। इसामसिह (यिसु/इसा/क्राइस्ट/जिसस क्राइस्ट/कृस्ट/खृस्ट/यिसु ख्रिस्ट) इसाई धर्मका प्रवर्तक मानिन्छन् भने पश्चिम एसियाको जेरुसलेम जुडियाको बेथलेहेम स्थानमा ईपू ४ (विसं ५३) मा उनको जन्म भएको बताइन्छ। वेस्टर्न क्रिस्चियन चर्चले यिसु क्राइस्टको जन्म दिन २५ डिसेम्बर मानेको छ।
कुमारी स्त्री मरियमबाट यिसुको जन्म भएको र मरियमको पछि युसुफ (यो सेफ/जो सेफ) सँग विवाह हुन पुगेको बताइएको छ। यिसुलाई आआफ्नो आस्थाअनुसार ईश्वरकै, ईश्वरको दूतको वा ईश्वरीय क्षमता भएको मानव तथा ऐतिहासिक विभूतिका रूपमा आत्मसात गरिन्छ। समुच्च मानव जातिलाई सत्मार्गमा लाग्न उत्प्रेरित गर्ने एक चमत्कारिक–अलौकिक व्यक्तित्व यिसुको संस्मरणमा झन्डै विश्वव्यापी मनाइने विशेष इसाई धर्मावलम्बीको सर्वाधिक लोकप्रिय पर्व हो क्रिसमस।
विश्वव्यापी यिसु/इसाई धर्म : भनिन्छ, यिसु सत्य र अनुग्रहले पूर्ण भएर अद्भुत महामानवको रूपमा प्रकट हुन पुगे। तात्कालिक कुरीतिले भरिएको समाज र धर्मका नाममा भइरहेको दम्भ, विकृतिविरुद्ध शान्ति, सदाचार प्रेमको शिक्षा दिँदै धार्मिक सुधारकका रूपमा उभिए। यिसुबाट प्रतिपादित इसाई धर्मको विश्वव्यापी लोकप्रियता बढ्नुमा समाजका सबै वर्ण, जाति र लिंगलाई समान स्थानमा राख्दै नैतिकता, दया, न्याय, मित्रता, सहानुभूति, क्षमा, दान, विनय, विनम्रता आदिमा विशेष जोड दिनु नै मानिन्छ। यिसुलाई सबैका एक मात्र प्रभु र मानव उद्धारक मान्दै उहाँ अझै जीवित रहनुभएको विश्वास गरिन्छ।
प्रारम्भिक अवस्थामा सरल रहेको इसाई धर्म मध्यकालमा आइपुग्दा यसभित्र अनेक सम्प्रदाय, विचार देखा पर्न थाले। चर्चसम्बद्ध विसप अर्थात् पुजारी र पोपहरू शक्तिशाली हुन पुगे। पुरोहित वर्गको आविर्भाव हुन पुग्दा प्रारम्भको रोमन क्याथोलिक मतविरुद्ध प्रोटेस्टेन्ट चर्चको जन्म हुन पुग्यो भने अझै पछि आइपुग्दा अर्थोडक्स नामक अर्को सम्प्रदाय पनि देखा पर्यो र इसाई धर्मभित्र जटिलता बढ्न थाल्यो।
इसा–इसाई धर्म र यहुदी सम्बन्धमा केही प्रसंग
इसाई धर्मको उद्भवभूमि यहुदी बसोवास क्षेत्र नै हो। कतिपय साहित्यमा इसा मसिहलाई यहुदी नै बताइएको छ। यहुदी र इसाई धर्ममा खासै फरकपन नरहेको पनि जिकिर छ। यसरी समयसमयका विविध स्रोत–प्रसंग केलाउँदा इसाई धर्म यहुदी धर्मकै अर्को रूप हुनसक्ने कतिपयको ठम्याइ छ। यहुदी, प्रकृतिपूजक र केही नयाँ विचारसहित इसाई धर्मको व्युत्पत्ति भएको भन्ने पनि धेरैको तर्क छ। कतिपय प्रसंगमा इसा स्वयं यहुदी भएकै कारण उनको ख्याति शिखरमा पुगेको बेला क्रुस (शूली) मा झुन्ड्याइ फाँसी दिइएको बताइएको छ। इसा मसिहको विम्बलाई पनि जटिल मानिएको छ भने ‘इसा’ को सामान्य अर्थ उपदेशक र ‘मसिह’ शब्दको राजा वा प्रभावशाली व्यक्तित्ववाला भनिएको छ।
इसाई धर्म नेपाल प्रवेशदेखि क्रिसमस पर्व
भनिन्छ– यिसु बीस वर्षको हुँदा साधनाका लागि भारत आउँदा केही समय नेपाल पनि आएका थिए र पछि उनी जेरुसलेम नै फर्किए। ईस्वीको सत्रौं शताब्दीको मध्यतिर अर्थात् मल्लकालमै इसाई पादरी (इसाई धर्मप्रचारक पण्डित/पुरोहित) सँगसँगै इसाई धर्म नेपाल प्रवेश गर्यो। नेपाल आउने पहिलो इसाई पादरी ग्रुवर थिए। यसपछि अन्य पादरीलगायतको ई. १७६९ सम्म नै विशेष काठमाडौं उपत्यका आउने क्रम बढेर गयो।
अठारौं शताब्दीमै ठमेल–काठमाडौंमा इसाई चर्च खडा भयो। ई. १७६९ (पृथ्वीनारायण शाहको उपत्यका विजय) देखि १९५१ सम्म भने इसाई धर्मावलम्बी पादरीको नेपाल आगमन नगण्य रह्यो। १९५१ पछि पुनः इसाईहरूको नेपाल प्रवेश क्रमशः विस्तार हुन थाल्यो र १९९० पछि त ह्वात्तै बढेर गयो। इसाई धर्मसम्बद्ध चर्च, संघसंस्था तथा धर्म आत्मसात् गर्नेहरूको संख्या आज प्रतिदिन बढिरहेको देख्न सकिन्छ। नेपालको तथ्यांकीय झलक ई. २०१५ ले ई. २०११ को नेपालको जनसंख्याका आधारमा इसाई धर्मावलम्बीको प्रतिशत १.४२ देखाएको छ।
क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस। विशेष २५ डिसेम्बरलाई प्रभु यिसुको जन्म दिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकमय वातावरणमा खुसीयाली साथ ठाउँठाउँमा पूजा–प्रार्थना, दानलगायत विविध कार्यक्रमको आयोजना गरेर क्रिसमस पर्व मनाइन्छ।
अन्तर्राष्ट्रिय संवत् जनवरी १ नयाँ वर्षको थालनीका रूपमा परस्पर शुभकामना उपहार आदानप्रदान गरिन्छ। कतिपय ठाउँ क्रिसमस फादरका प्रतीक प्रतिमा, क्रिसमस ट्री, रंगीचंगी ध्वजापताका, फूललमाला–झिलिमिली साथ सजाइन्छ। मानव जातिलाई असल मार्गमा हिँड्न, धर्मको पालना गर्न, परस्पर सद्भावका साथ मानव सेवामा लाग्न उत्प्रेरणा दिने एक प्रमुख उत्सव हो– क्रिसमस।
निष्कर्ष
जेरुसलेममा उद्भव भई प्रारम्भमा युरोपेली भूभागमा प्रभावी रहेको सरल इसाई धर्म एक्काइसौं शताब्दीमा आइपुग्दा विश्वभरि नै विस्तार त हुन पुग्यो तर जटिल हुन गई नयाँनयाँ सम्प्रदाय र विचार जन्मिने क्रम जारी रह्यो।
अदृश्यरूपी इसाई धर्मको पवित्र ग्रन्थ ‘होली बाइबल (पुरानो टेस्टामेन्ट, नयाँ टेस्टामेन्ट) मा संगृहित यिसुका सन्देश जीवन–प्रवचन, चमत्कार, पुनर्जीवनलाई आत्मसात गर्दै आस्था र विश्वास प्रकट गर्ने तथा यिसुको बलिदानीलाई निरन्तर अभिप्रेरणाका साथ संस्मरणमा ल्याउने एक उपयुक्त अवसर हो– क्रिसमस पर्व। ह्याप्पी मेरी क्रिसमस !
प्रतिक्रिया दिनुहोस !