हेलमेटको गुणस्तर निर्धारण गरिने

हेलमेटको गुणस्तर निर्धारण गरिने

काठमाडौं : दुईपांग्रे सवारी चलाउँदा लगाउनै पर्ने हेलमेट गुणस्तर निर्धारण गरिने भएको छ। गुणस्तरहीन हेलमेटका कारण सवारीचालकको ज्यान जोखिममा जाने भन्दै सरकारले यसको उत्पादन र बिक्रीमा मापदण्ड निर्धारण गर्न लागेको हो।

बजारलाई व्यवस्थित गर्न नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटको नेपाल गुणस्तर निर्धारण गरेको हो। गुणस्तरसम्बन्धी मापदण्ड नहुँदा गुणस्तरहीन हेलमेटको आयात, उत्पादन र बजारीकरण हुँदै आएको छ। ‘मानिसको सबैभन्दा संवेदनशील अंग टाउको हो’, विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘तर त्यही टाउकोलाई सुरक्षा दिने हेलमेटको मापदण्ड नहुँदा दुईपांग्रे सवारीचालक जोखिममा छन्।’

सुरक्षालाई ध्यानमा राखेर विभागले हेलमेटसम्बन्धी नेपाल गुणस्तर निर्धारण गरी न्यूनतम मापदण्ड तयार पारिएको महानिर्देशक पुडासैनीले जानकारी दिए। यो मापदण्डअनुसार आयात हुने र स्वदेशमा निर्माण गर्ने उद्योगीले न्यूनतम मापदण्ड पूरा गर्नैपर्छ। विभागका अनुसार नेपाली बजारमा बिक्री हुने हेलमेटमध्ये झन्डै ५५ प्रतिशत गुणस्तरहीन छन्।

बजारमा पाइने अधिकांश हेलमेट प्याट्ट फुट्ने, चर्किने खालका छन्। यसले टाउकोमा गम्भीर चोट लाग्न सक्ने र मृत्यु हुने सम्भावना हुन्छ। भौतिक पूर्वाधार निर्माणमा प्रयोग हुने हेलमेट दुईपांग्रे सवारीचालकले प्रयोग गर्ने गरेको विभागले जनाएको छ। दुर्घटना हुँदा टाउकोबाट फुत्किएर चालकलाई जोखिममा पार्ने गुणस्तरहीन हेलमेट बजारमा छन्।

‘हेलमेटसम्बन्धी मापदण्ड नहुँदा बजारमा करिब ५५ प्रतिशतको हाराहारीमा गुणस्तरहीन सामग्रीबाट निर्माण भएका हेलमेट बिक्री भइरहेका छन्’, पुडासैनीले भने, ‘तर अब विभागले निर्माण गरेको मापदण्डअनुसार उत्पादन, आयात र बिक्री गर्नुपर्नेछ। निकट समयमै मापदण्ड नपुगेका हेलमेटको आयात, उत्पादन र बिक्रीमा बन्देज लगाउँदै छौं।’

नेपाली बजारमा बिक्री हुने हेलमेटमध्ये झन्डै ५५ प्रतिशत गुणस्तरहीन छन्।

उनका अनुसार नेपाल गुणस्तरसम्बन्धी सूचना केही दिनभित्र राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याउने तयारी गरिएको छ। ६ महिनापछि बजारमा बिक्री हुने हेलमेटमा अनिवार्य रूपमा एनएस अंकित (नेपाल गुणस्तर मार्क) भएको हुनुपर्छ। पुडासैनीले भने, ‘एनएस मार्क उल्लेख नभएको हेलमेटलाई गुणस्तरहीन मानेर खरिद नगर्दा हुन्छ।’

गुणस्तरयुक्त हेलमेट प्रयोग गर्दा ६९ प्रतिशत टाउकाको गम्भीर चोट र ३३ प्रतिशत अनुहारमा लाग्ने चोटबाट जोगाउँछ। यसका साथै धूलो–धुँवाबाट पनि जोगाउन सहयोग गर्छ। विभागका अनुसार साउनसम्म नेपालभर २५ लाख ३० हजारको संख्यामा मोटरसाइकल तथा स्कुटी दर्ता भएका छन्। नेपालमा वार्षिक करिब आठ लाख हेलमेट खपत हुन्छ। वार्षिक हेलमेटमा मात्रै आठ करोडको कारोबार हुने गर्छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पालले हेलमेटको प्रयोगले दुर्घटनाको घटनामा न्यूनीकरण भएको जानकारी दिए। ‘हेलमेट गुणस्तरयुक्त भएको अवस्थामा जोखिमदर अझै घटाउन सकिन्छ’, पालले भने। उनका अनुसार ०७१÷७२ देखि चालु वर्षको मंसिरसम्म उपत्यकामा कुल १६ हजार पाँच सय २५ वटा दुईपांग्रे सवारी दुर्घटना भएको छ। यसमा परेर तीन सय ६० जनाको ज्यान गएको छ।

हेलमेटको न्यूनतम मापदण्ड

विभागका अनुसार हेलमेटको वजन डेढ किलोभन्दा बढी हुनु हुँदैन। डेढ किलोभन्दा जति कम हुन्छ, त्यति राम्रो। यसका साथै प्याट्ट फुट्ने पनि हुनु हुँदैन। हेलमेटको बाहिरी आवरण तोकिएअनुसार कडा वस्तुको हुनुपर्छ। भेन्टिलेसन अनिवार्य रूपमा हुनुपर्छ। अत्यधिक चिसो र तातो सहने खालको हुनुपर्छ। हेलमेट लगाउँदा टाउकोमा गह्रौं र अप्ठ्यारो महसुस हुनु हुँदैन। विपरीत दिसातर्फको शक्ति सहने खालको हुनुपर्छ।

हेलमेटभित्र आवाज सुनिने खालको हुनुपर्छ। टाउकोमा लगाएको हेलमेट दुर्घटना हुँदा पनि फुत्किएर निस्कने हुनु हुँदैन। हेलमेट प्रभाव अवशोषण परीक्षण, प्रतिरोधी परीक्षण, कडापन परीक्षण, सुन्न सक्ने आवाज परीक्षण, लचकता परीक्षण पास भएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.