सुधार केन्द्रमा थुनेर महिलालाई चरम यातना
काठमाडौं : राजधानीको बूढानीलकण्ठमा सञ्चालित सुधार केन्द्र ‘कृपा घर’ मा राखिएका महिलालाई यातना दिने गरेको पाइएको छ। अवैध तवरबाट सञ्चालित सुधार केन्द्रका सञ्चालकले दिएको यातना सहन नसकेर भागेका दुई महिला प्रहरीको शरणमा पुगेपछि यो रहस्य खुलेको हो। सञ्चालकले दिएको यातना खप्न नसकी भागेर बुधबार आफ्नो शरणमा दुई महिला आएपछि महानगरीय प्रहरी परिसरले बिहीबार सुधार केन्द्रमा छापा मारेको छ।
‘यातना दिएपछि भागेर बुधबार दुई महिला आएका थिए, उनीहरूको अवस्था नाजुक थियो’, परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने, ‘उनीहरूको उजुरीका आधारमा छापा मार्दा सुधार केन्द्र सञ्चालनका कुनै पनि मापदण्ड पूरा नगरेको पाइयो। सुधारका नाममा अन्य महिलामाथि पनि मानसिक र शारीरिक यातना दिएर थुनेको भेट्टायौं।’ प्रहरी परिसर, जिल्ला प्रशासन कार्यालय र रिहाब महासंघको संयुक्त टोलीले त्यहाँ छापा मारेर १२ देखि ६० वर्षसम्मका ५२ जना महिलाको उद्धार गरेको छ।
कानुनी प्रक्रियासमेत पूरा नगरी सञ्चालित सुधार केन्द्रबाट प्रहरीसहितको टोलीले २८ महिलालाई अभिभावक बोलाएर बिहीबार साँझ जिम्मा लगाइसकेको छ। बूढानीलकण्ठको कृष्ण मन्दिर पछाडि एउटा घरमा रहेको सुधार केन्द्रमा महिलालाई यातना दिएको फेला परेपछि सञ्चालक सन्तोष गौचन र श्रुती गुरुङलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। सञ्चालकको यातनाबाट ९ महिलाको मानसिक सन्तुलन गुमेको भेटिएको छ। पीडितको गोपनीयतालाई दृष्टिगत गरी उद्धार गरिएका सबै महिलाको नाम प्रहरीले गोप्य राखेको छ।
‘छापा मार्दा मानसिक तथा शारीरिक यातनासहित अमानवीय व्यवहार गरेको पाइएकाले उक्त सुधार केन्द्र बन्द गर्ने निर्णय गरेका छौं’, डीएसपी बोगटीले भने, ‘प्रारम्भिक अनुसन्धानमा सञ्चालकले दिएको यातनाबाट ९ महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो। बाँकीलाई आज सम्भव भए अभिभावकलाई बुझाउँछौँ, नभए परिसरमै लगेर सरकारबाट अनुमति प्राप्त गरी मापदण्ड पूरा गरेका अन्य संस्थाको संरक्षणमा पठाउँछौं।’
न डाक्टर न परामर्शदाता
प्रहरीसहितको टोलीले छापा मार्दा सुधार केन्द्रमा न त डाक्टर नै थिए न त परामर्शदाता नै। सञ्चालकले मानसिक उपचारका लागि राखेको भनिएका महिलालाई अस्पतालसमेत नलगेको भेटिएको छ। साधरणतया सुधार केन्द्रमा डाक्टर, स्वास्थ्य परामर्शदाता र अन्य स्वास्थ्यकर्मी राख्नु पर्छ तर त्यहाँ सञ्चालक गौचन र गुरुङ तथा केही कामदारबाहेक कोही थिएनन्।
सुधार केन्द्रमा एक जना रसियाली महिला पनि भेटिइन्। ओभर स्टे भएकी उनलाई सुधार केन्द्रले आ श्रय दिएको भेटियो। ६ महिनाकी छोरी र अर्को ६ वर्षको छोरोसहित उनी केन्द्रमा बस्दै आएकी हुन्।
साधरणतः सुधार केन्द्रमा दुर्व्यसनमा फसेकालाई राख्ने गरिन्छ। तर यहाँ नौजना महिलाको मानसिक सन्तुलन नै गुमेको भेटियो। छापा मार्न पुगेको टोलीले उनीहरुको यही सुधार केन्द्रमै रहँदा मानसिक सन्तुल गुमेको प्रारम्भिक निचोड निकालेको छ। सुधार केन्द्रहरुले मानसिक सन्तुलन गुमेका महिलाको जिम्मा लिँदैनन्। उनीहरुलाई उपचारका लागि अस्पताल लानुपर्ने हुन्छ। तर मानसिक सन्तुलन गुमाएका महिलालाई पनि सुधार केन्द्र सञ्चालकले एक पटक पनि अस्पताल लगेको नभेटिएको छापा मार्न पुगेका अधिकारीले जानकारी दिएका छन्।
परामर्श केन्द्रलाई जबर्जस्ती सुधार केन्द्र
यो सुधार केन्द्र २०६७ चैत २१ गतेदेखि परामर्श दिन मात्रै सञ्चालनमा आएको थियो। तर आवश्यक सरकारी मापदण्ड पुरा नगरी यसलाई सञ्चालकले आफूखुसी सुधार केन्द्रमा परिणत गरे। यो सुधार केन्द्रमा लागु पदार्थ दुर्व्यसनी महिलालाई राखिने गरिएको थियो।
यसकी सञ्चालिकामध्ये एक जयन्ती सुनुवारले महिलाहरुलाई तनावबाट मुक्त गर्न र फेरि लागू पदार्थको कुलतमा फस्न नदिन विभिन्न रचनात्मक क्रियाकलापमा लगाइने दाबी गरेकी थिइन्। सुधार केन्द्रकी अध्यक्षसमेत रहेकी सुनुवार भने सरकारी टोली छापा मार्न पुग्दा फेला परिनन्।
तर प्रहरीसहितको टोलीले छापामा मार्दा सुधार केन्द्रमा शारीरिक अभ्यास भन्दा बढी शारीरिक र मानसिक यातना दिएको पाइयो। यो सुधार केन्द्रमा आध्यात्मिक कक्षा, संगीत प्रशिक्षण र नृत्य कक्षासमेत सञ्चालन दाबी गरिए पनि ती कुनै पनि कृयाकलपा नभएको भेटिएको बोगटीले बताए।
रसियन महिला पनि
सुधार केन्द्रमा एक जना रसियाली महिला पनि भेटिइन्। ओभर स्टे भएकी उनलाई सुधार केन्द्रले आ श्रय दिएको भेटियो। ६ महिनाकी छोरी र अर्को ६ वर्षको छोरोसहित उनी केन्द्रमा बस्दै आएकी हुन्।
‘सुरुवाती अनुसन्धानमा उनका पति नेपालकै जेलमा रहेको भेटियो’, बोगटीले भने, ‘यी महिलालाई भने सुधार केन्द्रले आ श्रय दिएको रहेछ। भिसा सकिएपछि ओभर स्टे भएकालाई अध्यागमन विभागले तत्काल उसको देश फर्काउने गर्छ। तर यी रसियन महिला भने नाबालिका छोरीसहित सुधार केन्द्रमा भेटिइन्। उनका दुवै छोरा छोरी नेपालमै जन्मिएका हुन्।
प्रतिक्रिया दिनुहोस !