विश्वव्यापी हुँदै तमु-ल्होसार

विश्वव्यापी हुँदै तमु-ल्होसार

विश्वमै सम्पदा–संस्कृतिमा नेपालको अग्रणी स्थान रहेको सन्देह रहन्न। मूर्त तथा अमूर्त संस्कृतिको अथाह भण्डार नै हो नेपाल। नेपालमा वर्षभरिका धेरै दिन कुनै न कुनै जातजातिको सांस्कृतिक मान्यता वा पर्व–उत्सवले रंगिएका र खुसी–उमंगले भरिएका देखिन्छन्। नेपाली संस्कृतिलाई निरन्तरता दिई जीवन्त राख्न अभिप्रेरणा दिइरहने पनि हाम्रा चाडपर्व नै हुन्। विश्व मानचित्रमा नेपाल ‘चाडपर्वको घर’ नै भनी सम्बोधन हुनु हाम्रा लागि गर्वको विषय पनि हो।

नेपालमा प्रचलित लोकप्रिय राष्ट्रिय पर्वको सूचीमा एउटै नाम र प्रकृतिका अनि फरकफरक तिथिमितिमा मनाइने ल्होसार (ल्होछार) पर्वहरू पनि छन्। यी पर्व नेपालभित्र मात्र सीमित नरहेर नेपाली पुगेको विश्वको हरेक कुनामा नेपालको परिचय गराउने एक सशक्त माध्यमका रूपमा आएका छन्। यस क्रममा नेपालका जात–जाति तथ्यांकमा करिब दशौं–एघारौं स्थानमा अर्थात् २.३९ प्रतिशत संख्या देखाइएको नेपाली संस्कृतिकै एक प्रमुख स्रष्टा गुरुङ समुदायको सर्वाधिक प्रिय पर्व तमु–ल्होसारको पनि नेपालको चिनारी बढाउन अग्रपंक्तिमा भूमिका रहेको छ।

ल्होसारको अर्थ

ल्होसार शब्दले वर्ष अर्थात् साल वा संवत् फेरिनुलाई बुझाउँछ। एउटा वर्ष सकिएर अर्को नयाँ वर्ष प्रारम्भ हुने दिन नै ल्होसार हो। तिब्बती भाषामा ‘लो’ शब्दले वर्ष र ‘सार’ ले नयाँ बुझाउँछ। गुरुङ समुदायको ल्होसार (ल्होछार) शब्द तिब्बती भाषाबाटै आएको कतिपयको जिकिर छ। वास्तवमा ल्होसारलाई ‘हिमाली पर्व’ पनि भन्न सकिन्छ।

नेपालको हिमाली प्रदेश, हिमाली प्रदेशको तल्लो भाग अनि पहाडी खण्डमा बसोवास गर्ने शेर्पा, गुरुङ, तामाङ, थकाली, ह्योल्मो, भोटे, दुरा, तन्वे, तोप्लेगोले आदि जातिको आआफ्नो जातीय पर्व हो ल्होसार। ल्होसार एउटै प्रकृति, अभिप्रायको भए पनि जाति र ठाउँअनुसार अनि फरक–फरक पात्रो–ज्योतिष पद्धतिले प्रायः पुस महिनादेखि फागुन महिनाभित्र आआफ्नो भाषागत नामअनुसार उत्सवका रूपमा सम्पन्न हुन्छ।

ल्होसार गुरुङ समुदाय वा नेपालभित्र मात्र सीमित नरहेर नेपाली संस्कृतिलाई विश्वव्यापी बनाउन सहयोगी माध्यम भइरहेको छ।

गुरुङ समुदायले भने सौर्यमासअनुसारको पुसको मध्यतिर पर्ने शुक्लप्रतिपदाको दिनलाई तमु (तोला)–ल्होसार अर्थात् नयाँ वर्ष फेरिएको दिनका रूपमा मान्दै आएको देखिन्छ। यही पुस शुक्ल प्रतिपदा अर्थात् नयाँ वर्ष प्रारम्भ भएको दिनदेखि सूर्य उत्तरायण (रात छोटो र दिन लामो) हुने हुँदा यो संवत्लाई सूर्यको गतिअनुसार प्रवर्तन भएको सर्वप्राचीन संवत् पनि भन्ने गरिएको छ। सूर्योदय वा घाम झुल्किएपछि नयाँ दिन र बार सुरु हुन्छ भन्ने सोचाइअनुसार ल्होसारको दिन घाम झुल्किएपछि मात्र ल्हो (वर्ष) फेरिने मान्यता पनि रहेको छ।

प्रतीक जीवजन्तु

ल्होसार मनाउने समुदायमा जीवजन्तुलाई वर्षको प्रतीकका रूपमा लिइन्छ। १२ वटा जीवजन्तुले १२ वर्षको प्रतिनिधित्व गर्छन् अर्थात् १ देखि १२ वर्षसम्म १२ वटा फरकफरक जीवजन्तुले प्रत्येक वर्षको प्रतिनिधित्व गरिरहेका हुन्छन्। तोला–ल्होसारका १२ वर्षका प्रतिनिधि भएर उभिने १२ जीवजन्तुको नाम गुरुङ भाषा तथा नेपाली भाषामा यस प्रकार छन् : १. च्यु (मुसा), २. लोङ (गोरु/गाई), ३. तो (बाघ), ४. ह्यु (खरायो/बिरालो), ५. प्हु (ड्रागन, गरुड, मेघ), ६. प्ह्री (सर्प), ७. त (घोडा), ८. ल्हु (भेडा), ९. प्र (वानर), १०. च्ह्य (चरा), ११. खी (कुकुर) र १२. फो (बँदेल/सुँगुर)। कतिपय स्थान र समुदायमा कसैले गोरु वा गाई, खरायो वा बिरालो, ड्रागन वा गरुड वर्ष आदिबाट पनि सम्बोधन गरेको देखिन्छ। १२/१२ वर्षमा उही जीवजन्तु दोहोरिइरहने वर्ष चक्रप्रणालीमा जीवजन्तुको संख्या भने १२ नै रहन्छ।

ल्होसारको उमंग

ल्होसारको पूर्वसन्ध्यादेखि नै बाटाघाटा, तालतलैया, मन्दिर–गुम्बा–घरचोकको सरसफाइ, नयाँ ध्वजापताका र झन्डा फहराउने कार्यका साथै रात्रिदेखि नै ‘नयाँ वर्ष आयो’ भन्दै स्वागत र शुभकामना आदानप्रदानका लागि तयारी हुने क्रम सुरुहुन्छ। समृद्धि, स्वस्तिशान्ति र आउने अभिनव वर्ष मंगलमय बनोस् भन्ने कामना गर्दै कर्मकाण्ड तथा विविध पूजा–अनुष्ठान, प्रार्थना एवं मान्यजनबाट पुरुषको लागि बेसारमा मोलेको नौ गाँठोको नौसरा र महिलालाई सातगाँठोको सातसरा डोरो–टीका लगाइदिई आशीर्वचन लिने कार्य गरिन्छ।

यस अवसरमा गोष्ठी, अन्तरक्रिया, नाचगान, अनेकौं सामाजिक–सांस्कृृतिक कार्य एवं ढोगभेट, उपहार आदानप्रदानसमेत हुन्छ। परम्परागत जातीय पहिरनमा सजिने र खानाका विविध परिकारका साथ सामूहिक सहभोजमा समेत सरिक हुने प्रचलन देखिन्छ। तमु–ल्होसारको दिन देशको केन्द्रस्थल राजधानीको टुँडिखेल त साजसज्जा र विविध कार्यक्रमले धपक्कै बलेको आभास हुन्छ।

राष्ट्रिय पर्व तमु (तोला) ल्होसार गुरुङ समुदाय वा नेपालभित्र मात्र सीमित नरहेर नेपाली संस्कृतिलाई जीवन्त राख्तै विश्वव्यापी पचिरय गराउन सहयोगी माध्यम भइरहेको छ। सूर्य, प्रकृतिसँग सामीप्य रहेको पर्व हो तमु (तोला)–ल्होसार जसलाई कतिपयले ल्होफेर वा ल्होतोला भनी सम्बोधन गरेको पाइएको छ। पुस, माघ र फागुन महिनामा प्रारम्भ हुने नयाँ वर्ष (ल्होसार) मूलतः सुँगुर (बँदेल) वर्ष नै हो। तिब्बती र नेपालका शेर्पा समुदायले यसैलाई आत्मसात गरेको देखिन्छ भने यहाँका गुरुङ, तामाङ कतिपयले सुँगुर त कतिपयले मृग वर्षका रूपमा पनि लिने गर्छन्। परम्परालाई आत्मसात गर्दै तडकभडकबाट जोगिएर परस्पर सम्मान, सद्भाव, सहिष्णुता प्रदर्शन गर्नु नै हाम्रा चाडपर्वहरूको उपादेयता रहनेमा सन्देह रहन्न।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.