प्रादेशिक रंगशाला माग्दै मानव साङ्लो प्रदर्शन
वीरगन्ज : वीरगन्जमा रहेको नारायणी रंगशालालाई प्रदेश २ को प्रादेशिक रंगशाला घोषणा गर्न माग गर्दै सोमबार रंगशालामै मानव साङ्लो बनाएर प्रदर्शन गरिएको छ।
नारायणी रंगशालाको स्तरोन्नति गरी प्रादेशिक रंगशाला बनाउन प्रदेश सरकारलाई दबाब दिने उद्देश्यले मानव साङ्लो बनाएर प्रदर्शन गरिएको हो। मानव साङ्लोमा वीरगन्जका युवा, विद्यार्थी, खेलाडी, खेलप्रेमी, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता गरी करिब एक हजार पाँच सयजना सहभागी थिए।
मानव साङ्लो प्रदर्शनमा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुरेन्द्र चौधरी, कांग्रेस पर्साका सभापति अजय द्विवेदी, नेकपाका प्रदेश कमिटी सदस्य प्रभु हजरा, पूर्वसांसद विचारी यादव, नेता बसरुद्दीन अन्सारी, राजपाका महासचिव राजेशमान सिंह, सहमहासचिव निजामुनि समानी, नेता प्रेमबाबु पटेललगायतका नेताहरू पनि सहभागी थिए।
यसअघि आइतबार विज्ञप्ति जारी गरी राजपा पर्साका संयोजक जगदीश पटेलले रंगशालाको विषयलाई लिएर आन्दोलन गर्नुको औचित्य नरहेको भन्दै मानव साङ्लो प्रदर्शनमा राजपा सहभागी नहुने बताएका थिए। तर, सोमबारको मानव साङ्लो प्रदर्शनमा भने राजपाका महासचिव सिंह, सहमहासचिव समानी, नेता पटेल र अन्य कार्यकर्ता पनि सहभागी भए।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने जनकपुरमा प्रदेश सरकारले नभई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रादेशिक रंगशाला बनाउन लागेको बताउँदै आएका छन्। खेलकुद परिषद्ले जनकपुरमा प्रादेशिक रंशगालाका लागि कित्ता नम्बर नै तोकेर जग्गा माग गरेपछि प्रदेश सरकारले उक्त जग्गाको सिफारिस मात्र गरेको मुख्यमन्त्री राउतको भनाइ छ।
वीरगन्जको नारायणी रंगशालाको स्तरोन्नतिका लागि चालू आर्थिक वर्षको बजेटमा एक करोड रुपैयाँ बजेट विनियोजनसमेत गरिसकिएको मुख्यमन्त्री राउतले बताए।