धनगढी प्रिमियर लिग : दुई सय पाँच खेलाडीको आवेदन
धनगढी : धनगढी क्रिकेट एकेडेमीको आयोजनामा आगामी माघ २६ देखि फागुन ११ सम्म धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताका लागि दुई सय पाँच खेलाडीले नाम दर्ता गरेका छन्। मंगलबारसम्म तोकिएको खेलाडी बोलकबोल (अक्सन)को आवेदनका क्रममा खेलाडीले नाम दर्ता गरेका हुन्। खेलाडी अक्सन शनिबार हुनेछ।
अक्सनको एपीवान टेलिभिजनबाट प्रत्यक्ष प्रसारणसमेत हुनेछ। डीपीएलको प्रत्येक टोलीले एक ट्यालेन्ट हन्टबाट लिइएका र दुई विदेशी गरी १५ जना खेलाडीलाई टोलीमा अनुबन्ध गर्नुपर्नेछ। अक्सनका लागि खेलाडीको बोली न्यूनतम ३० हजारदेखि अधिकतम दुई लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ।
प्रतियोगितामा कुल १९ खेल हुनेछन्। लिग चरणमा प्रत्येक टिमले अरू टिमसँग एकएक खेल खेल्नेछन्। शीर्ष चार टोली प्ले अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ।