विवाद नमिले राखेपले खेलाडी छनोट गर्ने
काठमाडौं : आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बुधबार राजधानीमा बसेको बैठकले प्रतियोगिताको मिति तय गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आगामी बोर्ड बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ। आगामी माघमा प्रदेश नम्बर ५ मा आयोजना गर्ने भनिए पनि आठौं राष्ट्रिय खेलकुदको मिति अझै निश्चित हुन सकेको छैन। मिति निश्चित हुन नसकेका कारण प्रतियोगिता आयोजनाको विषयमा अन्योल बढ्दै गएको छ।
पछिल्लो समय भौतिक पूर्वाधार निर्माणमा भएको ढिलाइएका कारण प्रतियोगिता फागुनको दोस्रो सातामात्र आयोजना हुन सक्ने चर्चा चल्दै आएको छ। राखेपका सदस्यसचिव केशवकुमार विष्ट भने प्रतियोगिता निर्धारित समयमै आयोजना हुने दाबी गर्छन्। ‘आठौं राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना हुन्छ। प्रतियोगिता दुई/दुई वर्षमा आयोजना हुने प्रावधान छ। त्यसैले आठौं राष्ट्रिय खेलकुद २०७५ सालभित्रै हुन्छ। प्राविधिक कारणले मिति ८/१० दिन पर सर्नु सामान्य कुरा हो’, विष्टले भने।
सदस्यसचिव विष्टले २०४२ सालपछि पहिलो पटक राष्ट्रिय खेलकुद निर्धारित समयमै (दुई वर्षभित्र) आयोजना हुन लागेकोले पनि यसलाई सफल पार्न नेपाली खेलकुदका सम्बद्ध सबै पक्ष प्रतिबद्ध भएर लागिपरेको दाबी गरे। ‘हाम्रा लागि यो ठूलो अवसर पनि हो। निकै लामो समयदेखि राष्ट्रिय खेलकुद कहिले पनि निर्धारित समयमा आयोजना हुन सकेको छैन। त्यसैले राष्ट्रिय खेलकुदलाई ट्र्याकमा ल्याउन पनि तोकिएकै समयमा आठौं संस्करण आयोजना हुनु आवश्यक छ। त्यसैले हामी यो अवसरलाई खेर फाल्ने पक्षमा छैनौं’, विष्टले भने। विष्टकै संयोजकत्वमा बसेको कार्यकारी समितिको बैठकमा विभिन्न २० वटा विषयमा छलफल भएको थियो।
आठौं खेलकुदका लागि हाल विवाद देखिएका खेल संघहरूका खेलाडी कसरी छनोट गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल भएको बताइएको छ। संघहरूको विवाद आवश्यकताको सिद्धान्तअनुशार समाधान गर्ने र विवाद समाधान हुन नसके त्यस्ता संघका खेलाडी राखेप आफैंले छनोट गर्ने निर्णय बैठकले गरेको छ। त्यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट राखेपका उपाध्यक्ष पिताम्बर तिमिल्सिनाको संयोजकत्वमा गठित ‘विवाद समस्या समाधान र सहजीकरण समिति’ को नतिजालाई पनि हेरिने भएको छ।
यसैगरी आठौं खेलकुदलाई ध्यानमा राखी प्रदेश खेलकुद समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। सम्बन्धित प्रदेशबाट राखेप बोर्डमा प्रतिनिधित्व गर्ने सदस्यलाई प्रदेश समितिको संयोजक बनाउने निर्णय बैठकले गरेको छ। प्रदेश समितिको सदस्यमा भने क्षेत्रीय खेलकुद विकास समितिका सदस्यहरू रहनेछन्। बैठकले आठौं राष्ट्रिय खेलकुदमा गैरआवासीय नेपालीलाई सहभागी गराउने विषयमा मन्त्रालयसँग छलफल गरी निष्कर्ष निकाल्ने निर्णय गरेको छ।
यसैगरी बैठकले आठौं राष्ट्रिय खेलकुदका लागि ४८ करोड दुई लाख २२ हजार नौ सय ५० रुपैयाँ खर्च हुने र सोहीअनुसारको बजेट माग गर्ने निर्णय गरेको छ। बैठकमा जिल्ला छनोट तथा खेल सामग्रीका लागि निकासा भएको रकम अनुमोदन गर्ने, जिल्लाको कोटा अनुमोदन गर्ने, प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघका प्रतिनिधिको कोटा अनुमोदन गर्ने, आठौंका लागि गठित उपसमितिहरूलाई पूर्णता दिने, विभागीय टोलीहरूको छनोट खर्च निकासा गर्ने, मिडिया सेन्टर स्थापना गर्ने र एक सय २५ जना स्वयम्सेवक प्रशिक्षक नियुक्तिको अनुमोदन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। बैठकले आठौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीको डोपिङ परीक्षण गर्ने र त्यसको जिम्मा स्वास्थ्य उपसमितिलाई दिने निर्णय गरेको छ।०००