युभेन्टसविरुद्ध रोनाल्डोको उत्कृष्ट गोल, जसले दिलायो अवार्ड
एजेन्सी : पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो ग्लोब सोकर अवार्डको २०१८ का उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ता बन्न सफल भएका छन् । बिहीबार साँझ यूएईको दुबइमा आयोजित अवार्ड समारोहमा रोनाल्डोले दुई अवार्ड हात पार्न सफल भएका हुन् । यसै सिजन स्पेनिस क्लब रियल मड्रिड छाडेर इटालियन क्लब युभेन्टस गएका रोनाल्डोका यस अवार्डमा निकै रमाइलो पक्ष रह्यो ।
च्याम्पियन लिगमा गतसाल रियल मड्रिडबाट वर्ममान क्लब युभेन्टसविरुद्ध गरेको ओभर हेडकिक गोलमा नै रोनाल्डोले उत्कृष्ट अवार्ड पाए । २०१८ अप्रिल ३ मा भएको लिगको क्वाटरफाइनल खेलमा रियल मड्रिडले युभेन्टसलाई उसकै मैदानमा ३–० ले पराजित गरेको थियो ।
जसमा रोनाल्डोले २गोल गरेका थिए । तेस्रो मिनेटमा पहिलो गोल गरेका रोनाल्डोले ६४ औं मिनेटमा अर्को गोल गरेका थिए । उनले टाउकोमाथि रहेको बललाई जम्प गर्दै उल्टो किक हानी पोस्टमा छिराएका थिए यही गोल नै उत्कृष्ट ठहरिएको हो ।
ग्लोब सोकर अवार्डमा वर्षको उत्कृष्ट क्लबको अवार्ड स्पेनिस क्लब एथ्लेटिको मड्रिडले पायो । उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सको राष्ट्रिय टोलीका प्रशिक्षक डिडिएर डेस्च्याम्सले पाए । करिएर कोचको अवार्ड फाबियो कापेल्लोले पाए ।
युरोपियन एसोसिएन अफ पप्लेयर एजेन्ट्स र युरोपियन क्लब एसोसिएनको आयोजनामा प्रदान गरिने ग्लोब सोकर अवार्ड सन २०१० देखि सुरु भएको हो ।