स्कुले छात्रालाई सेनेटरी प्याड वितरण

स्कुले छात्रालाई सेनेटरी प्याड वितरण

गोरखा : गोरखा नगरपालिकाले ज्येष्ठ नागरिक, गर्भवती र किशोरीको स्वास्थ्य प्रवर्द्धन गर्न विभिन्न कार्यक्रम सुरु गरेको छ। नगरपालिकाको स्वास्थ्य सेवा प्रवद्र्धन कार्यक्रमअन्तर्गत गर्भवतीलाई नियमित पोसिलो झोला, ज्येष्ठ नागरिकलाई उपचार कार्ड र छात्रालाई सेनेटरी प्याड वितरण सुरु गरेको हो।

गोरखा नगरपालिका–८ रानीस्वाँरा उपस्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले तीनवटै कार्यक्रमको शुभारम्भ गरेका हुन्। कार्यक्रमअन्तर्गत गर्भवती महिलाको स्वास्थ्य सुदृढ गर्न पोसिलो झोला वितरण गरिने मेयर पन्तले बताए। ‘गर्भवतीलाई चार पोसिलो झोला उपलब्ध गराउनेछौं’, उनले भने, ‘झोलामा आवश्यक पर्ने पोसिलो खाना हुनेछ।’

कार्यक्रमअन्तर्गत स्वास्थ्य संस्थामा नियमित चार महिना, ६ महिना, आठ महिना र नौ महिनामा गर्भजाँच गर्न जानेलाई ‘पोसिलो झोला’ वितरण गरिने स्वास्थ्य शाखाका प्रमुख निश्चल अर्यालले बताए। चार महिनामा जाँच गर्नेलाई पोसिलो झोला कार्यक्रमअन्तर्गत ३० वटा अण्डा, ६० चक्की आइरन चक्की र नङकट दिइनेछ। ६ महिनामा जाँच गर्न जानेलाई दुई केजी अन्न, चना केराउलगायत स्थानीय जातका गेडागुडी, ६० चक्की आइरन चक्की र दुईवटा नुहाउने साबुन दिइनेछ। आठ महिनामा गर्भ जाँच गर्न स्वास्थ्य चौकी पुग्नेले सिजन अनुसारका फलफूल र ६० चक्की आइरन पाउनेछन्। नौ महिनामा गर्भ जाँच गर्नेलाई आमा र बच्चाका लागि न्यानो कपडा र ४५ चक्की आइरन चक्की वितरण गरिनेछ।

पोसिलो झोलामार्फत प्रतिगर्भवती १६ सय रुपैयाँ बराबरका खाद्यान्न, फलफूल र सामग्री वितरण गरिने अर्यालले जानकारी दिए। ‘प्रतिभेट ४ सय रुपैयाँका सामग्री उपलब्ध गराउनेछौं’, उनले भने। यसका साथै यसअघि सुत्केरीलाई दिँदै आएको न्यानो झोला पनि उपलब्ध गराइनेछ। स्वास्थ्य संस्थामै सुत्केरी हुनेले ४ पटक गर्भ जाँच गरेबापत ८ सय रुपैयाँ र यातायात खर्चबापत दुई हजार रुपैयाँ पाउनेछ। पोसिलो झोला कार्यक्रमअन्तर्गत नगरपालिकाले यो वर्ष १० लाखको कोष स्थापना गरेको छ। सो रकम नगर क्षेत्रका हरेक स्वास्थ्यचौकी व्यवस्थापन समितिले दिएको सेवाका आधारमा उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए। नगर क्षेत्रमा हाल एक हजार तीन सय ५७ गर्भवती रहेको शाखाको अनुमान छ।

गोरखा नगरपालिकाले मंगलबारबाटै ज्येष्ठ नागरिकलाई उपचार कार्ड वितरण सृुरु गरेको छ। कार्यक्रमअन्तर्गत ६० वर्ष उमेर पार गरेका नगरका सबै ज्येष्ठ नागरिकलाई उपचार कार्ड वितरण सुरु गरिएको छ। अस्पताल तथा स्वास्थ्य चौकीको बहिरंग कक्षमा पुगेका ज्येष्ठ नागरिकलाई कार्ड वितरण गरिने स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए। ‘कार्डमा ज्येष्ठ नागरिकका स्वास्थ्य अवस्था, उनीहरूले प्रयोग गर्ने औषधिबारे रेकर्ड राखिन्छ’, उनले भने, ‘पिसाबबाट युरिन र सुगर जाँच गर्छौं, रगतबाट पनि सुगरको जाँच गर्छांै। ब्लड प्रेसर जाँच गर्छौं र देखिएका समस्याका आधारमा उपचारका प्रक्रियाबारे सहजीकरण गर्छौं।’

स्वास्थ्य चौकी पुग्न नसक्ने अशक्त, अपांगगता भएका ज्येष्ठ नागरिकलाई ६/६ महिनामा घरमै पुगेर उनीहरूको स्वास्थ्य जाँच गर्ने नगरपालिकाको लक्ष्य छ। यस कार्यक्रमले स्वास्थ्यको पहुँचभन्दा बाहिर रहेकालाई स्वास्थ्यको पहुँचमा ल्याउन मद्दत पुग्ने नगरपालिकाको विश्वास छ। सोही कार्यक्रमबाट सामुदायिक विद्यालयका छात्राका लागि सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था छ। विद्यालयमा छात्रालाई महिनावारी व्यवस्थापनका लागि सेनेटरी प्याड उपलब्ध गराइएको हो। महिनावारी अवधिमा कक्षा छाड्न नपरोस् भनेर हरेक विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अर्यालले जानकारी दिए। ‘विद्यालयमा हुँदा महिनावारी भएर कक्षा छाड्नुपर्ने बाध्यता अब अन्त्य हुनेछ’, उनले भने, ‘महिनावारी व्यवस्थापनका लागि सघाउ पुर्‍याउन र छात्राले पूरा कक्षा बस्न सक्ने बनाउन सेनेटरी प्याड उपलब्ध गराउने निर्णय भएको हो।’

हरेक विद्यालयका शिक्षिकामार्फत महिनावारीबारे छात्रालाई परामर्श तथा प्याड वितरण र व्यवस्थापन गर्ने उनले जानकारी दिए। स्वास्थ्य शाखाका अनुसार नगर क्षेत्रमा ५ देखि १२ कक्षासम्म चलेका २२ सामुदायिक विद्यालयमा यो कार्यक्रम लागू हुनेछ। यसका लागि नगरपालिकाको ७५ हजार र संघीय सरकारबाट प्राप्त २५ हजार गरी एक लाख रुपैयाँको कोष छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.