क्लब सम्हालेको पहिलो सहभागितामै उत्कृष्ट नतिजा
काठमाडौं : पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले दुई खेलअघि नै उपाधि जित्यो। यसैगरी संकटा क्लब एक खेलअगावै उपविजेता बन्यो। जारी लिगमा मनाङ र संकटालाई उत्कृष्ट नतिजा दिलाउने प्रशिक्षकको भूमिका पनि अनुकरणीय रहेको छ। मनाङका प्रशिक्षक सुमन श्रेष्ठ र संकटाका प्रशिक्षक सल्यान खड्गीले ठूलो क्लब सम्हालेको पहिलो वर्षमै टोलीलाई उत्कृष्ट नतिजा दिलाए।
स्टार खेलाडीको जमघट र राम्रा विदेशी खेलाडीको साथ पाएको मनाङ च्याम्पियन बन्ने अड्कलबाजी लिगको सुरुआतमै गरिएको थियो। असोज १३ गतेदेखि सञ्चालित लिगमा मनाङले ११औं खेलमा पुगेर उपाधि होड टुंग्याएको थियो। १२औं चरणको खेलसम्म शतप्रतिशत नतिजा निकालेको मनाङ अन्तिम खेल जित्दै लिगमा कीर्तिमान रच्ने दाउमा छ।
यता स्टार र रोजाइका खेलाडीबिनै संकटा उपविजेता बन्यो। छोटो तयारी गरेर युवा खेलाडीको भरमा लिग खेलेको संकटामा १२औं खेलमा पुगेर उपविजेता बनेको थियो। संकटाले थ्रीस्टार क्लबलाई २–१ गोलले हराएपछि दोस्रो बनेको हो। जाइन्ट किलर छवि बनाएको संकटाको प्रदर्शन लिगमा बेजोड थियो। सुरुमा छैटौं स्थानको लक्ष्य राखेको संकटा अन्ततः उपाधिको मुख पुग्यो। विभागीय टोली त्रिभुवन आर्मी क्लब र मनाङसँगको हारले संकटाको उपाधि यात्रा महँगो बनेको थियो।
मनाङलाई उपाधि दिलाएका प्रशिक्षक सुमन एसियाली फुटबल महासंघ (एएफसी) ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षक हुन्। यद्यपि मनाङको पर्दा अगाडि सुमन देखिए पनि उनलाई नाइजेरियाका प्रशिक्षक पूजा टोपेले पछाडिबाट सघाएका थिए। ‘पहिलो पटक मनाङजस्तो टोली लिँदा केही अफ्ठ्यारो लागेको थियो। उपाधि जित्नका लागि ठूलो मेहनत गरेका थियौं। मनाङ सधैं उपाधिको दाबेदार टोली हो। मनाङको व्यवस्थापन र राम्रा खेलाडी समावेश गर्ने शैली बेजोडको छ। यसपटक सबै खेलाडीले राम्रो खेले। विदेशी खेलाडीको पनि राम्रो साथ रह्यो,’ सुमनले भने।
यसैगरी सल्यान एएफसी ‘बी’ लाइसन्सधारी प्रशिक्षक हुन्। खेलाडीलाई अनुशासनमा राख्न र मेहनत गराउने सल्यानको कला बेजोड रह्यो। ‘सुरुमा हामीले शीर्ष ६ मा रहने लक्ष्य राखेका थियौं। मैदानमा खेल्दै जाँदा नतिजा राम्रो हुँदै गयो। मेहनत गरे सबै खेलाडी स्टार बन्दा रहेछन्। हामीले डेढ महिनाको तयारीमा लिग खेलेका थियौं। टोलीमा छानेका भन्दा जम्मा गरेका खेलाडी धेरै थिए। सबै खेलाडीले शतप्रतिशत योगदान दिए,’ सल्यानले भने।
सल्यान यसअघि प्रशिक्षकभन्दा खेलाडीको रूपमा चर्चामा थिए। ‘ए’ डिभिजन खेलाडी उनले जारी लिगमा ‘ए’ लाइसेन्स प्राप्त प्रशिक्षकलाई माथ खुवाए। ‘खेलाडी भएर खेल्नभन्दा प्रशिक्षक बन्न सयौं गुना गाह्रो रहेछ। सबै खेलाडीको भावना बुझेर खेलाउन, क्लब र समर्थकको चित्त बुझाउन सजिलो पक्कै छैन,’ सल्यानले भने। उनै सल्यान र मनाङका प्रशिक्षक सुमन अहिले लिगको उत्कृष्ट प्रशिक्षक उपाधिको दाबेदार हुन्।