सिन्धुलीको यो आश्रममा छन् रामबहादुर बम्जन, प्रहरी भन्छ- 'पक्राउको आदेश छैन'

सिन्धुलीको यो आश्रममा छन् रामबहादुर बम्जन, प्रहरी भन्छ- 'पक्राउको आदेश छैन'

सिन्धुली : आफ्ना पाँचजना अनुयायी बेपत्ता पारेको लगायतका आरोप लागेका रामबहादुर बम्जन सिन्धुली आश्रममा रहेको तथ्य खुलेको छ। बम्जन सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेस्थित आश्रममा रहेको पाइएको हो।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले उनी सिन्धुलीको आश्रममा रहेको पुष्टि गरेका छन्। माथिको निर्देशन आउने बित्तिकै उनलाई नियन्त्रणमा लिइने उनीहरूले बताए।

उनका विभिन्न आश्रममा पाँचजना अनुयायी र आनी बेपत्ता भएको, आश्रमका आनीहरूमाथि यौन दुर्व्यवहार गरेको जस्ता आरोपमा बम्जनमाथि किटानी जाहेरी परेपछि प्रहरीले बम्जनको खोजी गर्दै उनको सिन्धुपाल्चोक बाँडेगाउँस्थित आश्रममा सिलबन्दी गरेर अनुसन्धान गरिरहेको छ। तर, यस्ता आरोप लागेका बम्जन सिन्धुलीस्थित आश्रममा रहेको थाहा पाए पनि प्रहरीले नियन्त्रणमा लिन चासो दिएको छैन।


>>> तपस्वी भनेर चर्चा कमाएका बम्जनविरुद्ध किटानी जाहेरी


बम्जनलाई नियन्त्रणमा लिन कुनै निर्देशन नआएकाले उनलाई नियन्त्रणमा नलिइएको सिन्धुली प्रहरी प्रमुख एसपी रामेश्वरप्रसाद यादवले बताए। यादवले भने, 'हामीले बम्जनलाई नियन्त्रणमा नलिए पनि उनका गतिविधि र आश्रमलाई निगरानीमा राखेका छौं। बेपत्ताबारे जिल्लामा उजुरी नपरेकाले आश्रममा बस्नेको रेकर्ड लिएर बेपत्ताको खोजी भने अगाडि बढाएका छौं।'

मकावनपुर र सिन्धुपाल्चोक प्रहरीले गरेको सर्कुलरअनुसार सिन्धुली प्रहरीले पनि अनुसन्धान गरिरहेको र विशेष टोली आए अनुसन्धानमा थप सहयोग गर्ने यादवको भनाई छ।

प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको बाँडेगाउँ आश्रममा अस्वभाविक घटना भएको पाइएको जनाएको छ।

तर बम्जनको सिन्धुली आश्रममा पुगेका सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र एसपी यादव रित्तोहात फर्किएका छन्। उनीहरूले त्यहाँ कुनै छापा मारेनन् भने बम्जनसहित कसैलाई पनि नियन्त्रणमा लिने प्रयास गरेनन्।

बम्जनको गतिविधि बुझ्न केही दिन अघि आश्रम पुगेको भन्दै उनलाई नियन्त्रणमा लिन सरकारको माथिल्लो निकायबाट निर्देशन नआएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताए।

ढकालले भने, 'बम्जनका विभिन्न आश्रममा सिआइवीको टोलीले अनुसन्धान गरिरहेको छ। सिन्धुलीमा पनि टोली अनुसन्धानका लागि आए हामी सहयोग गर्छौं। तर,  अहिलेनै उनीमाथि हस्तक्षेप भने गरिहाल्ने कुरा छैन।'

>>> बम्जनको आश्रमबाट हत्याको प्रमाण भेटिएको प्रहरी दाबी

बम्जन र उनका सहयोगीमाथि नुवाकोटका सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रममा हत्या गरी वेपत्ता बनाएको भन्दै सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा किटानी दिएका छन्।

बेपत्ता भएका भनिएका सुरेश आलेमगरको खोजीका लागि बारामा, सन्चलाल वाइबा र फूलमाया रुम्बा (पासाङ) को खोजी गर्न मकवानपुर तथा सिन्धुपाल्चोकमा र चुन्माले चिनिने चिनीमाया तामाङको खोजिका लागि आफन्तले नुवाकोट प्रहरीमा निवेदन दिएका छन्।

बेपत्ता भएका भनिएका चारैजना २०६९ सालदेखि २०७२ सालको बीचमा बेपत्ता भएको बताइएको छ। विभिन्न जिल्लाका आश्रममा रहँदा विवादित भएका बम्जन गत डेढवर्ष यता सिन्धुली आश्रममा बस्दै आएका छन्।

करिब ४२ विगाह जमिनमा पक्का संरचना निर्माण गर्दै बोधिश्रवण धर्म संघको व्यवस्थापनमा झण्डै २ सय अनुयायीलाई मैत्री ज्ञान दिँदै सिन्धुलीमा बस्दै आएका बम्जनले आफूमाथि लागेका आरोपबारे बोल्न चाहेका छैनन्। उनीमाथि लागेको आरोपबारे बुझ्न सोमबार बम्जनको आश्रममै पुगेका संचारकर्मीसँग पनि बम्जनले भेट गर्न मानेन्।

बोधिश्रवण धर्म संघका केन्द्रीय अध्यक्ष निलबहादुर थिङले बम्जनमाथि लागेको आरोप निराधार रहेको दावी गरे। थिङले बम्जनमाथि लागेको आरोपमा कुनै सत्यता नभएको दावी गरे। उनले भने, 'गुरुकै निर्देशनमा हामीले यस्ता घटनाको खण्डन गरेका छौं। गुरुले नै अपिल समेत गर्नु भएको छ। आश्रममा एउटा महिला र एउटा पुरुष एक्लै बस्न र हिँड्न पनि पाउँदैनन्। महिला र पुरुष बस्ने आश्रम नै छुट्टाछुटै छन्। त्यहाँ श्रीमान् श्रीमती समेत एकै ठाउँ बस्न पाउँदैनन्। यस्तो आरोपमा कुनै तुक र सत्यता छैन्।‘

जति बेला हराएका हुन् त्यति बेलामै नखोजेर अहिले ३/४ वर्षपछि लागेको आरोपमा नभएको उनको तर्क छ।

प्रहरीका अनुसार बम्जनका अर्का अनुयायी सुरेश आले, आनीद्वय डोल्मो र चुन्मा पनि सिन्धुपाल्चोकबाट बेपत्ता भएको उजुरी उनीहरूका आफन्तले दिएका छन्।

उता प्रहरी प्रशासनले बम्जन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अनिच्छा देखाइरहेका बेला गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बम्जनको बोधी श्रवण धर्म संघका पदाधिकारीले भेटेर बम्जनलाई कारबाही नगरिदिन आग्रह गरेका छन्।

सन् २०१० मा बारा जिल्लामै केही स्थानीयमाथि हातपात गरेको विवरण आएपछि बम्जनमाथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। सन् २०१२ मा फेरि सोही कारण देखाउँदै करिब तीन महिना दुईजना विदेशी महिलालाई बन्धक बनाएपछि बम्जन चर्चामा आएका थिए।

पछिल्लो समय रौतहटकी एक १८ वर्षीय गंगामाया तामाङले पत्रकार सम्मेलन गर्दै बम्जनले आफूमाथि बलात्कार गरेको आरोप लगाएपछि बम्जनविरुद्ध थप आरोपसहित प्रहरीमा उजुरी परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.