समृद्धिका लागि छिमेकी मुलुकको सहयोग आवश्यक : मन्त्री ज्ञवाली
नयाँ दिल्ली : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको समृद्धिका लागि आर्थिक रुपमा उदियमान छिमेकी मुलुकको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
नयाँ दिल्लीको ताज प्यालेसमा आयोजना भएको रायसिना डायलगको चौथो संस्करणलाई सम्बोधन गदै ज्ञवालीले यस्तो बताएका हुन्।
‘हामीलाई थाहा छ, एक्ला–एक्लै हिँडेर समृद्धिको लक्ष्य प्राप्त गर्न सकिँदैन’, मन्त्री ज्ञवालीले भने, ‘हामीलाई उदियमान छिमेकी मुलुकका साथै विश्वका हाम्रा विकासका साझेदार मुलुकको साथ र सहयोग आवश्यक छ।’
इण्डो प्यासिफिक क्षेत्रमा नयाँ भूराजनीतिक समीकरण बन्दै आएका बेला ज्ञवालीले आफ्नो भनाइ राखेका हुन्।
बुधबार मात्रै जापानका विदेशमन्त्री तारो कोनोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुष्मा स्वराजसँग इण्डो प्यासिक क्षेत्र र यसका रणनीति बारे छलफल गरेर काठमाडौँमा ज्ञवालीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।
लगत्तै बिहीबार नयाँ दिल्लीको फोरममा नेपाल सरकारको तर्फबाट सम्बोधन गरेका परराष्ट्रमन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपाल र भारतबीच सहकार्यका एजेण्डालाई बढाबा दिन द्विपक्षीय संयन्त्रलाई मजबुत बनाउँदै लान साझा समझदारी रहेको स्पष्ट पारे।
दुई मुलुकको सम्बन्ध उचाइमा पुगेको भन्दै ज्ञवालीले प्रमुख आर्थिक महाशक्तिको रुपमा भारतको कदम विश्वकै लागि प्रेरणा बनेको उल्लेख गरे।
क्रस बोर्डर कनेक्टिभिटीका सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो नेपाल भ्रमणका बेला घोषणा गरेको हिट ( हाइवे, इन्टरनेट र ट्रान्समिसन लाइन) फर्मुलाको प्रसंगसमेत उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !