लुम्बिनीमा बुद्धिस्ट ट्राभल मार्ट सुरु
भैरहवा : नेपालका पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकभित्र्याउन गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्ट (पर्यटन बजार) सुरु भएको छ। संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आयोजनामा भएको मार्टको संयोजन नेपाल एसोसियसन आफ ट्राभल एन्ड टुर एजेन्ट नाट्टा नेपालले गरेको हो। लुम्बिनीमा पहिलोपटक ट्राभल मार्ट आयोजना गरिएको हो।
तीन दिनसम्म जारी रहने मार्टमा पर्यटनसम्बन्धी प्याकेज खरिदबिक्री हुने र विभिन्न मुलुकका पर्यटन सम्बद्ध ६३ जना व्यवसायी, ब्लगर, सञ्चारकर्मी सहभागी रहेको नाट्टा नेपालका ५ नम्बर प्रदेशका अध्यक्ष विष्णु शर्माले बताए। उनले लुम्बिनीका साथै मुलुकको पर्यटन प्रवद्र्धन गर्न बढीभन्दा बढी विदेशी पर्यटक नेपालभित्र्याउनु कार्यक्रमको उद्देश्य रहेको बताए। कार्यक्रममा ताइवान, चीनबाट सञ्चारकर्मी, अस्ट्रेलिया, जर्मनी, अमेरिकालगायत देशबाट ब्लगर, माल्दिभ्स, श्रीलंका, भुटानलगायत १७ मुलुकबाट टुर अपरेटर सहभागी भएको बताए।
विदेशी तथा स्वदेशी पर्यटन व्यवसायीलाई एकै थलोमा जमघट गराउँदा पर्यटन व्यवसाय प्रवद्र्धन र अनुभव आदानप्रदानमा सहयोग पुग्ने उनले बताए। ‘ट्राभल मार्टले बौद्ध पर्यटकीयस्थल र सेवाको अन्तर्राष्ट्रिय क्रेता तथा राष्ट्रिय बिक्रेताबीच सेवा तथा व्यापार विनिमयको अवसर सिर्जना गर्नेछ’, शर्माले भने मार्टका अवसरमा लुम्बिनीसहित कपिलवस्तु, देवदह, रामग्रामलगायत स्थानमा विदेशी पर्यटन व्यवसायी र टुर गाइडलाई अवलोकन गराइ पर्यटकको बसाइ लम्ब्याउने रणनीतिमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।’
बिहीबारबाट सुरु भएको मार्टअन्तर्गत सहभागीलाई बुद्धको अस्तिधातु सेलाइएको ठाउँ राम्रगामको अवलोकन गराइएको छ। उनीहरूलाई रामग्राम नगरपालिकाले अभिनन्दन गरेको छ।
रामग्रामपश्चात ६३ जनाको टोलीले देवदहको अवलोकन गरेको अध्यक्ष शर्माले बताए। जहाँ देवदह नगरपालिकाले ‘मेयर लन्च’ को आयोजना गरेर उनीहरूलाई स्थानीय परिकार चखाइएको छ। त्यसपश्चात उनीहरूले कपिलवस्तु र बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। बुद्धसँग सम्बन्धित स्थानको अवलोकनका क्रममा उनीहरू सम्बन्धित स्थलको ऐतिहासिक महत्त्वबारे जानकारी गराइएको उनले बताए। साँझ लुम्बिनीमा हट एयर बेलुनसमेत उडाइएको थियो। पर्यटन प्रवद्र्धन गर्न हट एयर बेलुन उडाइएको आयोजकले बताएको छ।
त्यस क्रममा पर्यटन लक्षित विभिन्न कार्यपत्रमाथि छलफललगायत कार्यक्रम हुनेछन्। नेपालका बौद्ध सर्किटको प्रवद्र्धनबारे पनि छलफल हुने कार्यक्रममा बीटूबी मुख्य रूपमा छ।
उनले ट्राभल मार्टको बीटूबी कार्यक्रम भने टाइगर प्यालेस रिसोर्टमा आयोजना हुने र अन्य लुम्बिनीमा हुने बताए। बुद्धिस्ट मार्ट कार्यक्रमले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको अध्यक्ष शर्माले बताए। शुक्रबार लुम्बिनीमा आयोजित कार्यक्रमलाई प्रधानमन्त्री केपी ओलीसहित पर्यटनमन्त्री रवीन्द्र अधिकारी तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तय गरिएको आयोजकले जनाएको छ।