आरुघाट आउँदा माइत आएकी चेली झैं रमाउँछु : प्रचण्ड

आरुघाट आउँदा माइत आएकी चेली झैं रमाउँछु : प्रचण्ड

आरुघाट (गोरखा) : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ७० वर्षपछि पाएको अवसरलाई नेकपाले सदुपयोग गर्नुपर्ने बताएका छन्।

माइती घरको रुपमा मान्दै आएको गोरखाको आरुघाटमा आयोजित दोस्रो आरुघाट महोत्सव उद्घाटन गर्दै उनले यो अवसर गुमाए फेरि कांग्रेस आउने बताए।

‘अहिले हामी नयाँ युगतिर जाँदै छौँ। विकास र समृद्धिको नेपाली जनताको एजेण्डा पूरा गर्न नेकपाको स्थिर सरकारका लागि हामीले ७० वर्षपछि पाएको अवसरको सदुपयोग गर्नुपर्छ’, उनले भने, ‘यो एजेण्डा सफल बनाउन हामीले १० वर्षको समय पाएका छौँ। हामीले राम्रो गर्यौं भने फेरि पनि हामीले सरकार चलाउन पाउने छौँ। हामीले राम्रो गर्न नसके नेपाली कांग्रेस छँदैछ। नेपाली कांग्रेसले धेरै टेण्सन नलिए हुन्छ।’ 

अहिले कांग्रेसले विकास र संवृद्धिका लागि निर्वाह गरेको रचनात्मक भूमिकाको उनले प्रशंसा गर्दै सबै मिलेर देश बनाउनु पर्ने बताए।

महोत्सव उद्घाटन समारोहमा बोल्दै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले कञ्चनपुरकी निर्मला हत्या प्रकरण, वाइडबडी विमान काण्ड, डाक्टर गोविन्द केशी काण्ड, बुढीगण्डकी गेजुवालाई दिने निर्णयलगायतका कारण सरकार बद्नाम भएको भन्दै देशलाई बरबादी हुनबाट जोगाउन सत्तारुढ नेकपाका अध्यक्ष दाहाललाई आग्रह गरे। 

अर्का केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बुढीगण्डकी आयोजनाको मुआब्जा निर्धारण र वितरणमा ढिलाई भइरहेको प्रति आलोचना गरे। अर्का नेता सुरेन्द्र पाण्डेले अहिलेका सत्तारुढ दलका सांसद् तथा नेता नै सरकारको कामप्रति असन्तुष्ट भएको बताए।

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले दुई वर्षभित्र आरुघाटसम्मको सडक कालोपत्रे गर्ने र आरुघाटदेखि रुइला र ङुइला नाकासम्मको सडकमा गाडी गुडाउन आफू लागि परिरहेको बताए।

४२ वर्षअघिको आफ्नो २२ वर्षे ऊर्जाशील उमेरमा तीनबर्ष आरुघाटमा बिताएको सम्झना गर्दै उनले आरुघाट आउन पाउँदा चेली माइत फर्कन पाउँदा खुशी भए झै खुशी हुने बताए। ‘आरुघाटका जनताले निम्ता दिएपछि झण्डैझण्डै मेरो हालत घरबाट माइत जान लागेकी चेलीको जस्तो हुन्छ र धेरै काम पन्छाएर पनि आरुघाट आउन तयार हुन्छु’, उनले भने, ‘आरुघाटबासीले त्यो बेला मलाई दिएको माया, ममता, ऊर्जा र प्रेरणाले अहिलेको अवस्थामा पुर्याएको हो। त्यसैले म आरुघाटबासीसँग धेरै नै ऋणी छु। आरुघाटको मायाले गर्दा मलाई आरुघाट आएपछि फर्किन मन लाग्दैन।’ आरुघाट रहँदा यहाँको भीरपाखामा खेलेको, मेलापात गएको, गाउँ चाहरेर भविष्य निर्माणको बारेमा धेरै ऊर्जा संकलन गरेको उनले सम्झना गरे। 

‘कृषि शिक्षकको रुपमा आरुघाटका किसान, दिदीबहिनी, दाजुभाइसँग बिताएको तीन वर्षको ऊर्जाशील समय मेरो जीवनको सबैभन्दा रमाइलो र आनन्दको दिनहरु थियो’, उनले भने, ‘जनतासँग कसरी जीवन्त सम्बन्ध बनाउने र उनका भावना, उनका समस्या, उनका मनोविज्ञानलाई बुझ्ने र भावी जीवनलाई कसरी अगाडि बढाउने भन्ने निर्णय यहीँबाट गरेको हुँ। बाँकी जीवन राजनीतितिर बिताउने उत्प्रेरणा दिने, भरोसा दिने, प्रेम दिने, उत्साह दिने यो गोरखा, आरुघाट, धादिङ, विशालटार, सल्यानटार, सल्यानवेशी मलाई छोड्नै मन लाग्दैन।

यहाँको जात्रा, लठ्ठीनाचमा रातभरी म आफैँ नाचेको थिएँ। यति भनेपछि मैले धेरै भन्नुपर्दैन।’ यही माया ममताका कारण यस क्षेत्रको विकासका लागि आफू अगुवा बनेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

गोरखा उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइका अध्यक्ष विश्वकुमार श्रेष्ठको अध्यक्षतामा भएको महोत्सव उद्घाटन समारोहमा संघीय सांसद हरि अधिकारी, कांग्रेस नेता चिनकाजी श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष जीवनज्योति श्रेष्ठ, आयोजक संस्था आरुघाट युवा क्लवका अध्यक्ष सञ्जयमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिए।

कार्यक्रम सुरु हुनुअघि विभिन्न गाउँबाट आएका झाँकीसहितको र्‍यालीले बजार परिक्रम गरेको थियो। उद्घाटन समारोहमा सगरमाथा आरोही आरुघाट निवासी फोटो पत्रकार पुर्णिमा श्रेष्ठ, प्याराग्लाइडर निर्माता एकबहादुर आले, गोरखा उद्योग वाणिज्य संघ आरुघाट बजार इकाइका संस्थापक अध्यक्ष वसन्तमान श्रेष्ठलाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.