आवासीय चिकित्सकलाई आठ महिनाको भत्ता
काठमाडौं : आठ महिनादेखि रोकिएको जीवन निर्वाह भत्ता पाएपछि महाराजगन्ज मेडिकल क्याम्पसमा अध्ययनरत आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) ले आन्दोलन स्थगित गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगन्ज र महाराजगन्ज मेडिकल क्याम्पसले आन्तरिक स्रोतबाट स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकलाई आइतबार जीवन निर्वाह भत्ता वितरण गरेका हुन्।
‘अस्पताल र क्याम्पसले आन्तरिक स्रोतबाट भत्ता दिने व्यवस्था मिलाइयो’, नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले भने, ‘तत्कालका लागि आन्दोलन स्थगित गरिएको छ।’
दुई वर्षअघि आवासीय चिकित्सकले स्वास्थ्य मन्त्रालयबाट मासिक आठौं तहको मेडिकल अधिकृत सरह करिब ३४ हजार भत्ता पाउने सहमति भएको थियो।
सहमतिअघि आवासका लागि अस्पताल र क्याम्पसबाट पाउने पारिश्रमिक शिक्षण अस्पतालमा कार्यरत मेडिकल अफिसर सरह करिब ४५ हजार रहेको थियो।
स्नातकोत्तर शिक्षा बिरामीको सेवामा आधारित हुने भएकोले आवासीय चिकित्सकलाई पारिश्रमिक दिने व्यवस्था गरिएको छ।
मन्त्रालयले भत्ता दिने कार्य सहमति गरेलगत्तै रोक्ने गरेको अध्यक्ष पाण्डेले बताए।
‘सेवाभावले दिनरात खटिदा पनि सहमति गरे अनुसार भत्ता उपलब्ध नहुँदा मर्माहत भएका छौं’, डा पाण्डेले भने ‘अब मन्त्रालयले नियमितरुपमा भत्ता नदिए विरोधस्वरुप धर्ना दिन्छौं।’
प्रतिक्रिया दिनुहोस !