छाउपडीले झुकाएको शिर
![छाउपडीले झुकाएको शिर](https://annapurnapost.prixacdn.net/media/albums/chau-gotha_20190112133309_20190114031145_7LTDm4dBQA.jpg)
बाजुराको बुडीनन्दा नगरपालिका ९ अगाउँपानीकी ३५ वर्षीया अम्बा बोहरा र उनका १२ वर्षीय सुरेश र ९ वर्षीय रमितको छाउगोठमै मृत्यु भयो। पुसको चिसोमा रजस्वला भएकी अम्बा र उनका दुई छोरा कतै हावा नछिर्ने छाउगोठमा आगो तापेर सुत्दा निस्सासिएर मृत्युको मुखमा पुगे। अहिलेसम्म कहिल्यै नाम नसुनिएकी अम्बाका दुई छोरासहितको मृत शरीरले चर्चा पायो। आमासँगै सुतेका नाबालकको मृत शरीर हेरेर सबै चुकचुकाए। भारतमा धन कमाउन गएका उनका श्रीमान्को परिवार गुम्यो। वृद्ध बुबाआमाको बिचल्ली भयो।
त्यही समाचार सुनेर इजरायलकै नागरिकसँग विवाह गरिबसेकी एकजना आफन्त बहिनीले फोन गरेर भनिन्–
‘यहाँ पनि रजस्वला बार्छन्। त्यहाँभन्दा रजस्वला बार्ने नियम यहाँ कडा छ, तर यहाँ रजस्वला श्रीमान्सँग बारिन्छ। रजस्वला भएको सात दिनसम्म श्रीमान्लाई खाना पस्केर दिइँदैन र १४ दिनसम्म बेड सेयर गरिँदैन। खाना पकाउँछौं। आफू खान्छौं र बालबालिकालाई खुवाउँछौं तर श्रीमान्लाई पस्केर दिँदैनौं। १४ दिनसम्म श्रीमान्हरू आफैं तर्किन्छन्। हग र किस गर्दैनन्। सन्तान जन्माउने आमाको यहाँ धेरै सम्मान छ। मैले पनि नेपालमा रजस्वला हुँदा रक्सी खाएर आएका श्रीमान्लाई आफू मरेको लास सम्झेर धेरैचोटि शरीर सुम्पेकी छु। मैले देशसँगै त्यहाँको श्रीमान् छोडें। आमाबुबा आफन्तबाट टाढा छु, तर मैले यहाँ पुनर्जन्म पाएकी छु। यहुदीको धर्म, संस्कार र परम्परा देखेर एसियाका महिला नर्कको जीवन बिताइरहेको आभास हुन्छ। कहिले बुझ्छन् होला त्यहाँका मान्छेले ?
हाम्रो समाजमा जरा गाडेर बसेको कुरीति र कुसंस्कारपुर्ण मानसिकताविरुद्ध अभियान चलाउने दायित्व यो देशका पुरुषले लिनु पर्दैन ?
ती बहिनीले यसो भनिरहँदा आत्मग्लानिले मेरो शिर झुक्यो। गर्मी र वर्षात्का बेला सर्प र बिच्छीले टोकेर छाउगोठमा महिलाको मृत्यु हुनु वा बलात्कारको सिकार बन्नु सामान्य भएको छ। तर देशकै प्रमुख पदमा महिला भएको देशका हामी महिलालाई कहिले मानव समान व्यवहार गरिने होला ? महिला र बालबालिकाको बाँच्न पाउने अधिकारप्रति सरकार गम्भीर नभएको प्रस्ट हुन्छ।
यो सृष्टिलाई निरन्तरता दिन प्रकृति पनि रजस्वला हुन्छिन्। तर देवता र पापको डर देखाएर महिलालाई सधैं आफूमा आश्रित बनाइराख्ने पुरुष मानसिकताका कारण देशकै शिर विश्वसामु झुकेको छ। महिलाको योनिबाट रगत बगेकै कारण महिला अछूत हुने भए नौ महिनासम्म जमेको त्यही रगतको डल्लो पुरुष कसरी पवित्र भयो ? हाम्रो समाजमा जरा गाडेर बसेको कुरीति र कुसंस्कारपूर्ण मानसिकताविरुद्ध अभियान चलाउने दायित्व यो देशका पुरुषले लिनु पर्दैन ? त्यहाँका पण्डित, पुरोहित र शिक्षितले त्यसको जिम्मा लिनु पर्दैन ? सासू, बुहारी वा आमा, छोरीले मात्र छाउपडीविरुद्धको अभियान सञ्चालन गर्न सक्दैनन् किनकि हाम्रो समाज पुरुष नेतृत्वबाट बनेको छ। मन्दिरका पूजारी पुरुष नै हुने गर्छन्। जुनसुकै पद र प्रतिष्ठामा भए पनि हरेक महिला रजस्वला हुन्छन्। उनीहरूको अन्तर्मनमा लुकेर बसेको डर एवं त्रासले सार्वजनिक कार्यक्रममा भाषण गरेजस्तो गरी व्यवहारमा उत्रिन सक्दैनन्। उनीहरूलाई धेरै समय लाग्न सक्छ।
सर्वोच्च अदालतले १३ वर्षअघि २०६२ सालमै छाउपडी प्रथालाई गैरकानुनी घोषणा गरी कानुन बनाउन सरकारलाई दिएको निर्देशनअनुसार कानुन बनेर ऐन आएकै पाँच महिना भइसक्यो। त्यो ऐन लागू गराउने दायित्व स्थानीय सरकारको हो। जनप्रतिनिधि र पण्डित–पुरोहितलाई केन्द्र सरकारले जनचेतनामूलक तालिम दिएर समाजमा जकडिएर रहेको कुसंस्कारयुक्त मानसिकतामा परिवर्तन ल्याउन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)