सेती नदीमा चार थरी मापदण्ड

सेती नदीमा चार थरी मापदण्ड

पोखरा : पोखराको मध्य भाग भएर गहिरिँदै बग्ने सेती नदीमा ४ थरी मापदण्ड बनाउने निर्णय पोखरा महानगरले गरेको छ। जहाँ सबैभन्दा धेरै अतिक्रमण भएको छ, त्यहीं त्यसैलाई मान्यता दिने गरी महानगरले मापदण्ड बनाएको हो।

५, १०, २५ र ३० मिटर मापदण्ड कायम गरेको महानगरले विज्ञ समितिको सिफारिसविपरीत निर्णय गरेको भन्दै विज्ञ समितिका सदस्यले नै असहमति जनाएका छन्। समितिले सेती नदी वरपरको कमजोर भौगोलिक अवस्थालाई ध्यानमा राखेर नदी किनारको मापदण्ड ५० मिटर दायाँबायाँ भौतिक संरचना बनाउन नहुने सुझाएको थियो। समितिका आमन्त्रित सदस्य तथा भूगोलविद् डा. कृष्ण केसीले सबैभन्दा जोखिम मानिएको राम मन्दिरदेखि पुरानोसाँगु क्षेत्रमै सबैभन्दा कम ५ मिटर मापदण्ड राख्नुले ठूलो जोखिम निम्त्याउने सुनाए।

खानी तथा भूगर्भ विभाग र जिओसाइन्स अफ इन्स्टिच्युटस अफ जर्मनीको संयुक्त अध्ययन टोलीले सन् १९९८ मा पोखराको विस्तृत भौगर्भिक अध्ययन गरी यहाँका जोखिम क्षेत्र पहिल्याएको थियो। त्यही टोलीको रिपोर्टमा सेती नदी किनार क्षेत्रमा भौतिक संरचना बनाउनु निकै जोखिम भनिएको केसी सुनाउँछन्। सेती नदीको गहिराइ र नदीले दायाँबायाँ अधिक कटान गरेकै कारण ढिक खस्ने र भासिने जनाउँदै संयुक्त अध्ययन टोलीले सेती नदी किनारबाट सय मिटर जोखिम हुने बताएको थियो। यद्यपि यसअघि ५०/५० मिटर दायाँबायाँ घरलगायत संरचना नबनाउने मापदण्ड पोखरामा थियो।

यसअघि पोखरा उपत्यका नगर विकास समितिले मापदण्ड बनाउने र नगरपालिकाले कार्यान्वयन गर्ने चलन थियो। स्थानीय सरकारको हैसियतमा आएपछि महानगर आफैंले मापदण्ड तय गरेको हो। ‘पुरानो र बाक्लो बस्ती भएको ठाउँमा मापदण्ड ५० मिटर नै कायम गरेर पुराना घरलाई नभत्काउने र नयाँ घर बनाउँदा ५० मिटर कायम गराउने सुझाव समितिले दिएको थियो’, डा. केसीले भने।

मापदण्ड कायम गर्ने क्रममा महानगरले पुरानो र बाक्लो बस्ती भएको सेती नदी किनार क्षेत्रमा कम मापदण्ड कायम गरेको हो। सबैभन्दा कम मापदण्ड महेन्द्रपुल हुँदै राम मन्दिर तुलसीघाटसम्म ५ मिटर छ। यसैगरी जौबारी बाँधदेखि केआईसिंह पुलसम्म १० मिटर तोकिएको छ। कालीखोलाको साँधदेखि नारायणस्थानसम्म २५ मिटर र अन्य ठाउँमा ३० मिटर कायम गरिएको छ।

पुरानो बस्ती, नक्सापास भएका र बाक्लो बस्ती भएको स्थानलाई ध्यानमा राखेर सेती नदीको नयाँ मापदण्ड कायम गरेको मेयर मानबहादुर जिसीले अन्नपूर्णसँग बताए। सुरक्षाका दृष्टिले कमजोर ठाउँलाई भन्दा पनि महानगरले पुरानो बस्ती र नक्सा पास गरेर बनाएकोलाई आधार बनाएको पाइएको छ। जोखिम मानिएको सेती नदीमा ५ मिटरदेखि ३० मिटरसम्म मापदण्ड कायम गरेको महानगरले पोखराको फिर्के र बुलौंदी दुवै खोलामा भने दायाँबायाँ १०/१० मिटर मापदण्ड कायम गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.