भन्सार महसुल निर्धारण गर्न छलफल

भन्सार महसुल निर्धारण गर्न छलफल

काठमाडौं : पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा भन्सार महसुल उठाउने मोडालिटीबारे नेपाल र भारतबीच छलफल हुने भएको छ। भन्सार महसुल निर्धारण गर्ने मोडालिटी तयार गर्न अमलेखगञ्जमा बुधबार पहिलोचरणको प्राविधिक छलफल हुने भएको हो।

नेपाल आयल निगमका अनुसार छलफलमा इन्डियन आयल कर्पोरेसन (आईओसी) का प्रमुख प्रबन्ध निर्देशक एसएस बोस सहभागी हुनेछन्। पेट्रोलियम पाइपलाइन ओछ्याउने काम अन्तिम चरणमा पुगेको छ। निगमका प्रवक्ता वीरेन्द्र गोइत हालसम्म ट्यांकर र बुलेटमा भएको पेट्रोलियम पदार्थको परिमाणका आधारमा प्रवेश विन्दुको भन्सार कार्यालयले महसुल लिँदै आएको बताउँछन्।

‘तर पाइपलाइनबाट ल्याउँदा पेट्रोलियम पदार्थको परिमाण नाप्ने संयन्त्र भन्सारमा हुन्न’, प्रवक्ता गोइतले भने,‘पाइपलाइनबाट यस्ता पदार्थ आयात गर्दा वैज्ञानिक प्रणालीमा आधारित विशेष प्रकारको मिटरको सहयोगमा परिमाण नापेर महसुल निर्धारण गर्नुपर्ने विषयमा छलफल हुँदैछ।’ आईओसीले प्रायः सबै डिपोसम्म पाइपलाइन विस्तार गरेर आन्तरिक कारोबार गर्ने भएकाले परिमाण नापेर महसुल बुझाउनुपरेको छैन। आईओसीको हकमा पाइपलाइनबाट अन्य मुलुकसँग पहिलोपटक इन्धनको कारोबार हुने भएकाले उसको हकमा पनि वैज्ञानिक प्रणालीमा आधारित विशेष प्रकारको मिटरको सहयोगमा इन्धनको परिमाण नापेर कारोबार गर्नु नौलो मानिएको छ।

भन्सार महसुल निर्धारणको मोडालिटी तयार गर्न अमलेखगञ्जमा बुधबार पहिलोचरणको प्राविधिक छलफल हुँदै छ।

‘आईओसीले पनि आफ्नो इतिहासकालमा पहिलोपटक पाइपलाइनको सहयोगमा अन्य मुलुकसँग कारोबार गर्दैछ। उसका लागि पनि यो प्रविधि नौलो हो, आईओसीले पनि अन्य मुलुकसँग सहकार्य गरी यो विषयमा आवश्यक जानकारी लिने काम सुरु गरेको छ’, गोइतले भने। मोडालिटी तयारका विषयमा पहिलोचरणको छलफलमा आईओसीका अधिकारी मात्रै सहभागी हुनेछन्। दोस्रो चरणको छलफलमा भन्सार विभाग तथा गुणस्तर तथा नापतौल विभाग र तेस्रो चरणको बैठकमा अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरी मोडालिटीलाई अन्तिम रूप दिइनेछ।

विश्वभर करिब चार प्रकारका अटोमेसनमा आधारित पाइपलाइनबाट आपूर्ति हुने इन्धनको परिमाण नाप्ने प्रणाली छ। यसमध्ये आईओसी, निगम र गुणस्तर तथा नापतौल विभागले आवश्यक परीक्षणका आधारमा एउटा छनोट गर्न सक्छ। भन्सार विभागका निर्देशक शिव भण्डारीले मोडालिटीका बारेमा भन्सार विभागलाई जानकारी नभएको बताए।

उनका अनुसार भारतबाट इन्धन आयात गर्दा पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाई इन्धनका लागि फरक÷फरक भन्सार महसुल व्यवस्था गरिएको छ। यसअनुसार पेट्रोलको हकमा प्रतिकिलोलिटर १५ हजार दुई सय रुपैयाँ तोकिएको छ। यसबाहेक उक्त रकमको १३ प्रतिशत भ्याट, सडक मर्मतबापत प्रतिलिटर चार र पूर्वाधार कर पाँच रुपैयाँ पनि भन्सार विन्दुमै लिने व्यवस्था छ।

यस्तै डिजेलमा प्रतिकिलोलिटर भन्सार महसुल दुई हजार र १३ प्रतिशत भ्याट, सडक मर्मततर्फ प्रतिलिटर दुई तथा पूर्वाधारतर्फ पाँच रुपैयाँ लिने व्यवस्था छ। ग्यासमा भन्सार मूल्यांकनको आधारमा कुल रकमको पाँच प्रतिशत भन्सार महसुल र १३ प्रतिशत भ्याट लिने व्यवस्था छ। मट्टीतेलमा प्रतिकिलोलिटरमा भन्सार महसुल दुई हजार रुपैयाँ तोकिएको छ। यसमा अन्य प्रकारको शुल्क, कर र भ्याट लिने व्यवस्था छैन। हवाई इन्धनको हकमा किलोलिटरमा भन्सार महसुल २० हजार एक सय, १३ प्रतिशत भ्याट र पूर्वाधार करवापत पाँच रुपैयाँ लिने व्यवस्था छ।

निगमका अनुसार आगामी वैशाखसम्म पाइपलाइनबाट इन्धन खसाल्ने योजना भएकाले सकेसम्म आगामी चैतभित्रमा भन्सार महसुलको मोडालिटी र परिमाण नाप्ने उपकरणको टुंगो लगाउने योजना छ। भारतको रक्सौलस्थित इन्डो नेपाल सीमादेखि अमलेखगञ्जको डिपोसम्मको कुल दूरी ३६.२ किलोमिटर छ। यसमध्ये २७.२ किलोमिटरमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.