वीरगन्जमा अश्वमेध महायज्ञ हुँदै, राष्ट्रपतिले उद्घाटन गर्ने

वीरगन्ज : नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ आयोजना गरिँदैछ। अखिल विश्व गायत्री परिवारले वीगन्जमा आगामी फागुन १९ देखि २२ सम्म चार दिने अश्वमेध गायत्री महायज्ञ आयोजना गर्न लागेको हो।
राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ आयोजना गर्न लागिएको अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठ वीरगन्जका संयोजक विजय कुमार सरावगीले बताए।
वीरगन्ज महानगरका मेयर समेत रहेका सरावगीले बुधबार साँझ आफनै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर महायज्ञको तयारीका बारेमा जानकारी पनि गराए।
नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको अश्वमेध गायत्री महायज्ञमा ४० देशका गरि पाच लाख मानिस सहभागी हुने जानकारी दिदै सरावगीले भने,‘ अश्वमेध गायत्री महायज्ञ केवल हवन र पूजापाठको लागि मात्र हुँदैन, यो अध्यात्मिक र वैज्ञानिक यज्ञ पनि हो, यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण पनि हुन्छ, यो यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी पनि हुन्छ।'
महायज्ञमा ४० देशका करिब पाँच लाख मानिसहरु वीरगन्जमा आउने भएकाले यो महायज्ञको आयोजनबाट पर्सा बारा सहित समग्र मुलुकको पर्यटन प्रवर्द्धनमा पनि सहयोग पुग्ने जिकिर पनि उनले गरे।
वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना हुने यज्ञको उदघाटन फागुन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको सरावगीले जानकारी गराए।
अश्वमेध गायत्री महायज्ञ बारे जानकारी दिँदै वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगी। फोटोः क्रान्ति शाह/अन्नपूर्ण
महायज्ञको उद्घाटनमा प्रधानमन्त्री, संघीय सरकार मन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरुलाई पनि आमन्त्रण गरिएको भन्दै सरावगीले भने, ‘महायज्ञमा अमेरिका, क्यानाडा, बेलायत लगायतका ४० मुलुकहरूबाट गायत्री परिवारका सदस्यहरू पनि आउनेछन्।'
महायज्ञस्थल आदर्शनगर रंगशालामा हवनका लागि दुई सय ५१ वटा कुण्ड बनाइने जानकारी दिँदै सरावगीले महायज्ञमा भारतको हरिद्वारका शान्तिकुञ्जका विशेष पुरोहित र साधकहरूबाट तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निःशुल्क संस्कार हुने बताए।
हवनका क्रममा २४ प्रकारका जडिबुटी र घ्यू प्रयोग गरिने भएकाले त्यसबाट उत्पन्न हुने वायुले महायज्ञस्थल देखि ४० किलोमिटर सम्मको वातावरण प्रदूषणमुक्त हुने वैज्ञानिक मान्यता समेत रहेको उनले बताए।
यज्ञमा दैनिक ६० हजार व्यक्तिले हवन गर्न सक्ने गरी प्रबन्ध मिलाइने भन्दै मेयर सरावगीले बताए महायज्ञमा सहभागी हुन आउने आन्तरिक र बाह्य पर्यटकका लागि निःशुल्क खाना र वासको व्यवस्था गरिने जानकारी दिए।
महायज्ञमा आध्यात्मिक ज्ञान दिनका लागि यज्ञ अवधिभर २० भन्दा बढी कार्यशाला गोष्ठीको पनि आयोजना गरिने भएको छ।
दुई करोड खर्च
महायज्ञ आयोजनामा करिब दुई करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको भन्दै सरावगीले यसका लागि संघीय सरकारसँग एक करोड रुपैयाँ आर्थिक सहयोग माग गरिएको जानकारी दिए।
वीरगन्ज महानगरपालिकाले पनि यज्ञका लागि ३० लाख रुपैयाँ बजेट छुट्याएको जानकारी दिँदै उनले भने,‘ यज्ञमा सहभागी हुन शुल्क लाग्दैन, यदि कसैले स्वेच्छाले दान गर्छ भने हामी लिन्छौँ।'
विश्वमा १३ करोड र नेपालमा मात्रै तीन लाख सदस्य रहेको गायत्री परिवारले एक सय आठ स्थानमा अश्वमेध यज्ञ गर्ने लक्ष्य लिएको र त्यसै क्रममा वीरगन्जमा ४६ औं अश्वमेध महायज्ञ गर्न लागिएको जानकारी उनले गराए।
अश्वमेध गायत्री महायज्ञको प्रचार प्रसारका लागि बुधबार देखि वीरगन्जबाट रथयात्रा सुरु गरिएको छ। उक्त रथयात्राले विभिन्न सहरमा पुगेर महायज्ञको बारेमा प्रचार प्रसार गर्ने छ।
प्रतिक्रिया दिनुहोस !
