फुल्चिङ गाउँ जो पूरै अधियाँमा छ
डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका–५ फुल्चिङ गाउँका बासिन्दाको जीविकोपार्जन नै अधियाँबाट उब्जेको अन्नबालीबाट हुने गरेको छ। ६५ घरधुरी रहेको फुल्चिङ गाउँमा २३ घरधुरीका परिवारको नाममा एक टुक्रा पनि जमिन छैन। बाँकी रहेका नागरिक कुनैको पनि आफ्नो नाउँमा पूर्ण जग्गाको लालपुर्जा छैन।
फुल्चिङ गाउँका चन्द्रलाल चलाउनेको घरआँगनमै खेतीयोग्य जमिन प्रशस्त भए पनि बिहान–बेलुका भरपुर खान पुग्दैन। वर्षभरि लगाएको अन्नबाली जग्गाधनीले अधियाँको नाममा उब्जनीको ६० प्रतिशत अन्नबाली एकैचोटि लिने गरेकाले उनलाई जीविकोपार्जनमा समस्या पर्ने गरेको छ।
‘वर्षभरि खनजोत गरेर बालीनाली लगाउँछौं, घरमा भित्र्याउने बेला जग्गाधनी बोरा बोकेर आउँछन्’, स्थानीय हिउँकली चलाउनेले भनिन्, ‘उब्जनीको आधाभन्दा बढी अन्न त जग्गाधनीले नै लैजान्छन्। वर्षभरि काम गरे पनि बाँकी रहेको अन्नले तीन महिना पनि खान पुग्दैन।’ फुल्चिङ गाउँको बस्ती बस्दाको समयदेखि नै सिंगो गाउँ जग्गाविहीन रहेको पाइएको छ। गाउँमा रहेको जग्गा फरक गाउँ र वडाका ४ जनाको नाममा नापनक्सा भएको छ।
साविकको लिकु गाविस र हालको त्रिपुरासुन्दरी नगरपालिका–१० का मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, नारायण गिरी र रविलाल खत्रीको नाममा ०५२ मा सिंगो गाउँको जग्गा नापनक्सा भएको फुल्चिङ गाउँका समाजसेवी लोकबहादुर चलाउनेले बताए। पुर्खाको पालामा देवता र राजनीतिक रवाफमा सिंगो गाउँको जग्गा नै आफ्नो नाममा गरेर आफूहरूलाई लिकु गाउँका ठालु जमिनदारले सुकुम्बासी बनाएको उनको भनाइ छ। पटक–पटक अधियाँको अन्न केही प्रतिशत मात्रै लिन आग्रह गरे पनि साहुहरूले नसुन्ने गरेको गुनासो चलाउनेको छ।
जनयुद्धको निसाना बन्यो जग्गा
जनयुद्धको समयमा तत्कालीन नेकपा माओवादीले गाउँमा लिकुका सामन्तले फुल्चिङमा आएर देवता र राजनीतिक शक्तिको आडामा जग्गा कब्जा गर्न मिल्दैन भन्दै कारबाही गर्ने बताएका थिए।
लोकबहादुरले भने, ‘शान्ति प्रक्रियामा मुलुक आइसकेपछि आफ्नो नाममा माओवादीले जग्गा दिलाउन नसकेपछि पुनः अधियाँ दिन थालिएको हो।’
जग्गा किनबेचमा देवता बाधक
फुल्चिङ गाउँका नागरिक लालपुर्जाविहीन हुनुमा साविकको लिकु गाविस हालको त्रिपुरासुन्दरी नगरपालिका–१० स्थित बिजुलडाँडा र बज्रमान नामक कुलान्दय देवता जग्गा किनबेचमा बाधक रहेको स्थानीय बताउँछन्। बस्ती बस्दाको समयमा लिकु गाउँबाटै फुल्चिङ गाउँमा चलाउने थरका एक जना गएर बसेको र त्यहाँको जग्गाजमिन भोगचलन गर्ने क्रममा परिवारमा अशुभ भएपछि पुनः बिजुलडाँडा र बज्रमान देवतासँग सोधनी गर्न गएका थिए।
०२६ सालतिर पनि भूमिसुधार लागू हुँदाको समयमा पूरै जग्गाको मूल्य २७ हजार ५ सयमा बिक्री गरी जग्गाधनी गए पनि पछि जग्गा किनेर खाने र बेच्नेलाई देवता लागेर मानिस मर्न थालेको भन्दै पुनः लकु गाउँकै मानिसको नाममा रहने गरी भोगचलन हुँदै आएको थियो।
०५२ को नापीमा लिकु गाउँका मोतीप्रसाद पहाडी, रत्नप्रसाद पहाडी, रविलाल खत्री र नारायण गिरीको नाममा जग्गा नापनक्सा भएको बताइएको छ। ‘गाउँको जग्गा बेचेर मलाई खानुपर्ने अवस्था छैन, पहिला कुन सर्तमा जग्गा रहेको हो। त्यो बुझी कुलान्दय देवताको आदेश भएमा एक रुपैयाँ पनि मूल्य नलिई फुल्चिङवासीलाई जग्गा दिन तयार छु’, जग्गाधनी पहाडीले भने।