आयोजकलाई हराउँदै आर्मी सिमरा गोल्डकपको फाइनलमा

आयोजकलाई हराउँदै आर्मी सिमरा गोल्डकपको फाइनलमा

सिमरा : आयोजक नव जनजागृति युवा क्लबमाथि कठिन जीत हात पार्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब रुस्लान दशौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

सिमरा रंगशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले आयोजकमाथि १–० को जीत हात पारेको हो । आर्मीलाई उपाधि होडमा उभ्याउने क्रममा कप्तान भरत खवासले निर्णायक गोल गरे ।

खेलको ५०औं मिनेटमा सेसाङ लिम्बुको एयर पासलाई सदुपयोग गर्दै भरतले गोल गरेका हुन् । आयोजकको रक्षापंक्ति तोड्न नसकेको आर्मीले गोलरक्षक टेकेन्द्र थापा अगाडि बढेको फाइदा उठाएको थियो । डीबक्स बाहिरबाट भरतले गरेको प्रहारले सिधै जाली चुमेको थियो ।  

युवा खेलाडीले भरिएको आयोजकमाथि जीत दर्ता गर्न आर्मीले अन्तिम समयसम्म संघर्ष गर्नुपर्‍यो । वीरगन्जमा भएको दोस्रो विशाल मेमोरियल गोल्डकपमा जनजागृतिमाथि ३–० को जीत हात पारेको आर्मीलाई यो भेट भने सहज हुन सकेन । आर्मीसामु आयोजकले उत्कृष्ट खेल पस्किँदा प्रतिस्पर्धा रोमाञ्चक बन्न पुग्यो । 

खेलको सुरुवातदेखि दुवै टिमले केही राम्रा अवसर बनाएपनि सदुपयोग गर्न सकेनन् । खेलको १२औं मिनेटमा आयोजकले आर्मीविरुद्ध गोल गर्ने उत्कृष्ट अवसर गुमाएको थियो ।

आयोजकका सुरज ठकुरीले प्रहार गरेको फ्री–किक आर्मीका टंक बस्नेतले गोल लाइनबाट क्लिएर गर्दा घरेलु दर्शक निराश बन्न पुगेका थिए । लगत्तै आयोजकका नाकोटाले डिबक्स भित्रबाट प्रहार गरेको बल क्रसबार नजिकैबाट बाहिरिन पुग्यो । 

लगातार अवसर बनाएको आयोजकले खेलको १६औं मिनेटमा गोल गर्ने अर्को मौका चुकायो । प्रज्वल थापामगरले २२ यार्ड टाढाबाट प्रहार गरेको बललाई आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गर्दा आयोजक बेन्च स्तब्ध बन्न पुग्यो । 

आयोजकको केही अवसर बिफल पारेको आर्मीले पनि गोल गर्ने केही मौका गुमाउन पुगेको थियो । खेलको २४औं मिनेटमा आर्मीका भरत खवासले टंक बस्नेतको पासलाई सदुपयोग गर्न नसक्दा पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले । पहिलो हाफमा आर्मीलाई रोकेको आयोजकले दोस्रो हाफको सुरुवातमै गोल खान पुगेको थियो । 

भरत खवासले गोल गरेपछि केही दवावमा देखिएको आयोजकले ५५औं मिनेटमा आयोजकका निरज थापामगरले बराबरी गोल गर्ने अवसर चुकाएका थिए । प्रज्वल थापामगरको पासमा निरज वन भर्सेस वनको स्थितीमा चुके । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । 

खेलको ६० औं मिनेटमा सेन्टरलाइनबाट लगेको बललाई आर्मीका भरत खवासले फिनिसिङ दिन नसक्दा विभागीय टोलीले अग्रता दोब्बर पार्ने अवसर गुमायो । अन्तिम समयमा दुवै टिमले आक्रमक खेल प्रदर्शन गर्दा सेमीफाइनल भिडन्त हेर्नलायक बन्यो । 

अन्तिम समयसम्म आर्मीलाई चुनौती पस्केको आयोजकले इन्जुरी समयमा बराबरी गोल फर्काउने उत्कृष्ट अवसर गुमाएको थियो । आयोजकका सुनिल खड्काको क्रस बललाई नाकोटाले ठम्याउन सकेनन् । त्यही बलमा प्रज्वलले गरेको सशक्त प्रहार पोष्ट नजिकैबाट बाहिरिँदा आयोजकले अन्तिम अवसर गुमायो । 

आयोजकसामू बाधक बनेका आर्मीका डिफेण्डर बिमल पाण्डे म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । टिमको पराजयबाट स्तब्ध बनेका जनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले आर्मीजस्तो बलियो टोलीसँग टिमले गरेको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको बताए । मोफसलको प्रतियोगिताका कारण खेलाडी थकित रहेको भन्दै प्रशिक्षक क्षेत्रीले केही राम्रा अवसर समयमै सदुपयोग गर्न नसक्दा हार ब्यहोरेको बताए । 

आर्मीका प्रशिक्षक नविन न्यौपानेले आयोजकमाथि १–० को नतिजाबाट आफू सन्तुष्ट रहेको बताए । आयोजकले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै न्यौपानेले फिनिसिङ कमजोर हुँदा पनि जीतका लागि अन्तिम समयसम्म संघर्ष गर्नुपरेको बताए । 

जीतसँगै आर्मी सिमरा गोल्डकपको चौथो पटक फाइनलमा प्रवेश गरेको छ । चार पटक फाइनलमा पुगेको आर्मीले छैठौं र नवौं गोल्डकपको उपाधि उचालिसकेको छ । आठौं संस्करणमा भने आर्मी संकटासँग पराजित भएको थियो । 

आर्मीले अब उपाधिका लागि रुस्लान थ्रीस्टार क्लब र हिमालयन शेर्पाबीचको विजेतासँग खेल्नेछ । थ्रीस्टार र शेर्पाबीच विहीवार दोस्रो सेमिफाइनल खेल हुनेछ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.