सिद्धबाबा सडकको भौगर्भिक अवस्था
युरासियन र इन्डियन प्लेट जुधेर बनेको हिमालय शृंखलाकै एकतिहाइ भाग ओगटेको नेपाल हिमालय सबैभन्दा उच्च, कान्छो र सक्रिय पनि छ। तेथिस सागरका चट्टानदेखि उच्च पहाडी पर्वत, महाभारत पर्वत हुँदै चुरे पर्वत र समथर तराई पनि पाइने देश नेपाल पर्वतशृंखला र भौगर्भिक विविधताको देश हो। नेपालमा पहिरो प्रमुख प्रकोप हो भन्नेमा दुईमत छैन।
नेपाल हिमालयको सबैभन्दा कान्छो पर्वतशृंखला चुरे पर्वत हो, जसलाई संस्कृतमा मानक पर्वत र अंग्रेजीमा सिलवालिक भनेर चिनिन्छ। करिब एक करोड ६० लाखदेखि ५२ लाख वर्षअगाडिको समयमा तत्कालीन लगभग पृथ्वीकै ठूलो खाडीमा क्रमशः हालको समथर तराईजस्तै गरी उच्च पहाडबाट आएका नदीले थुपारेको माटो, बालुवा, गिटीजस्ता थिग्रोले बनेको कमजोर चुरे पर्वत हिमालय शृंखलाको दक्षिणमा समथर भावरसँग जोडिएर पश्चिममा इन्दुस नदीदेखि पूर्वमा ब्रह्मपुत्र नदीको नजिकसम्मै फैलिएको छ।
दक्षिणमा तराईको भावर क्षेत्र र उत्तरमा कडा महाभारत पर्वतको बीचमा लगभग ५–६ किमि मोटाइमा अवस्थित चुरे आफैंमा पनि तह–तह छन्। ठूला र शक्तिशाली दरार एमबीटी र एमएफटी क्रमशः उत्तर र दक्षिणमा भएको चुरेको दक्षिणतिरको भाग धेरै भिरालो छ, जहाँ तुलनात्मक रूपमा वर्षा पनि धेरै हुन्छ। चुरे पहाड हिमालयको उत्पत्ति र क्रमशः उठिरहेको प्रक्रियाको राम्रो उदाहरण मान्न पनि सकिन्छ। रामापिथेकसलगायत भालु, कछुवा, मानव, चरा, कीट र विभिन्न वनस्पतिको महत्त्वपूर्ण जीवावशेष पनि पाइने चुरेमा थप अध्ययन र अनुसन्धान आवश्यक छ।
सामान्यतः भौगर्भिक रूपमा चुरेलाई तल्लो, मध्य र माथिल्लो चुरेमा विभाजित गरिएको छ। तल्लो चुरे तराईको भावरसँग जोडिएको भाग पर्छ, जसमा थोरै बलौटे चट्टानसँगै बहुरङका हिलो वा कलेबाट बनेको कमजोर चट्टान धेरै पाइन्छ। मध्य चुरेमा बलौटे चट्टानको मात्रा र मोटाइ बढ्दै जान्छ र माथिल्लो चुरेमा क्रमशः ठूला ढुंगा र गिटीसहितको चट्टान धेरै र बलौटे चट्टान पनि कमै पाइन्छ। यस्तो कमजोर पर्वत भएकाले यहाँ पहिरोको प्रकोप संवेदनशील रूपमा रहेको छ।
प्राकृतिक नियमविपरीत जान सकिन्न, बरु यसको बेलैमा विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र प्रकोप नियन्त्रणमा लाग्न ढिलाइ गर्नु हुन्न।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकमा पर्ने सिद्धबाबा खण्ड पहिरोको कारणले एक जोखिमपूर्ण ठाउँ हो, जुन चुरे पर्वतमा पर्छ। बलौटे चट्टान र हिलो माटोले बनेको चट्टान परस्पर रूपमा रहेकाले यहाँ वेज फेलरसँगै पेन फेलर मुख्य समस्याका रूपमा छन्। माटोबाट बनेको पत्थरलाई पानीले सजिलै बगाउने र त्यसमा अडिएको बलौटे पत्थर पनि खस्ने गर्छ। सिद्धबाबा खण्डमा पानीको स्रोत भएकाले पनि पहाडलाई थप कमजोर र अस्थिर बनाएको छ। यहाँ पहिरोले सडक दुर्घटना मात्रै नभई तिनाउ नदी नै थुन्न सक्ने, थुनिएर फुट्न सक्ने र यसका सम्भावित जोखिमबारे सचेत भई वैज्ञानिक रूपमा अगाडि बढ्न ढिलाइ गर्नु हुन्न। हामीले २०२७, २०३८ र २०६५ सालमा तिनाउ नदी र बाढीपहिरोले पारेको विपत् बिर्सनु हुन्न। प्राकृतिक नियमविपरीत जान सकिन्न, बरु यसको बेलैमा विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण, विपद् व्यवस्थापन र प्रकोप नियन्त्रणमा लाग्न ढिलाइ गर्नु हुन्न।
करिब तीन किलोमिटर सडकखण्डले बर्सेनि धेरैको ज्यान र धनको क्षति हुँदै आएको छ। वर्षा वा हिउँदमा पनि हिलो वा सुक्खा पहिरोको जोखिम रहेको भिरालो यस पहाडमा ढुंगा खस्नेको जोखिम पनि उत्तिकै छ। रकनेट, रकबोल्ट, बायोजोइन्जिनियरिङ, रिटेनिङ वाललगायत केही प्राविधिक उपाय अपनाइएको भए पनि यी दीर्घकालीन रहन सक्दैन। सडक विस्तार, स्थानान्तरण वैकल्पिक मार्ग र सुरुङमार्गलगायतका विषयमा दशकदेखि नै बहस हुँदै आए पनि कामको सुरुवात भने अहिलेसम्म भएको छैन।
देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा हामीले खेप्दै आएको प्रकोप र क्षति अबका दिनमा नदोहोर्याउन र समृद्ध राष्ट्र निर्माणका निम्ति समयमै सम्बन्धित निकायको ध्यान पुगी यसको दीर्घकालीन समाधानको आवश्यकता छ।