सांसदको कोड अफ कन्डक्ट !

सांसदको कोड अफ कन्डक्ट !

संसद् जनताको समस्या बोल्ने, समाधान गर्न नीति नियम बनाउने र सरकार बनाउने थलो हो। जहाँ सत्तापक्ष र प्रतिपक्ष वादविवाद तर्क-वितर्क, खण्डन-मण्डन, सहमति-असहमति व्यक्त गर्दै संविधान नियम, कानुन र ऐनको खेल खेल्छन्। खेलको नियम बनाउँछन् र देशको भाग्य र भविष्यको रेखा कोर्छन्। मेट्छन् र हेर्छन्। यी सब घटना, परिघटना सरकार बनाउने, सरकार भत्काउने सबै प्रक्रिया देशको कानुनसम्मत भएर गर्छन्। कानुनसम्मत नभएको विषय अदालत पुग्छ र अदालतले न्याय निरूपण गर्छ।

शक्ति सन्तुलनका लागि व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको अवधारणाअन्तर्गत फ्रेन्च दार्शनिक मन्टेस्क्युको शक्ति पृथकीकरणको सिद्धान्त अवलम्बन गरिएको हुन्छ। शक्ति पृथकीकरण एउटै निकाय वा व्यक्तिमा शक्ति केन्द्रित गरिनु हुँदैन भन्ने सिद्धान्त हो। स्वेच्छाचरिता र तानाशाही तन्त्रलाई अन्त्य गर्न राज्यका तीन अंगको परिकल्पना गरिएको हो। यी तीन अंगमध्ये व्यवस्थापिका संसद् र त्यसको मर्यादा आजको विश्लेश्य विषय छ।

संसद् जनप्रतिनिधिको सर्वाेच्च स्थल हो। जहाँ सबै किसिमका सांसदहरू देशको विभिन्न भूभाग र संस्कृति, परम्परा र परिवेशबाट आएका हुन्छन्। जहाँ पुरुष महिला, कम उमेरका बढी उमेरका अनुभवी र अनुभवहीन पनि हुन्छन्। थरीथरीका भेष, भूगोल र भाषाको प्रतिनिधित्व हुन्छ। जहाँ हर राष्ट्रिय विषयमा बहस हुँदा संवेदनशीलता आवश्यक हुन्छ। भाषाका कारण, संस्कृतिको कारण, भूगोलको कारण, लवजको कारण कहीँ कसैलाई चोट लाग्छ कि अमर्यादा हुन्छ कि भनेर बच्नुपर्ने हुन्छ।

संसद्मा प्रतिनिधित्वका हिसाबले, कानुनी रूपमा सबैको मर्यादा बराबरी भए पनि संस्कार चलनचल्ती अनुभव र योगदानका हिसाबले राष्ट्रका लागि गहन र गुरुत्तर भूमिका निर्वाह गरेका व्यक्तिहरू पनि हुन्छन्। उनीहरूको मर्यादा, सम्मान र अनुभवको अतिरिक्त सामाजिक र राजनीतिक मूल्य पनि विशेष रहेको हुन्छ। त्यसैले संसद्मा बोलीको गरिमा विशेष र उल्लेखनीय हुन्छ। जसलाई सांसदहरूले पल पल पालना गरेर संसद्को पद र मर्यादाको ख्याल राख्नुपर्छ।

सांसदको मर्यादा संसद्मा मात्र होइन, जतासुकै आवश्यक हुन्छ। त्यसैले संसद्लाई सरकारले आवश्यक सेवा र सहुलियत प्रदान गरेको हुन्छ। मर्यादाको लागि विशेष सहुलियत र सेवा जनशक्ति प्रदान गरेको पाइन्छ। तर सांसदहरू तदनुकूल आचरण र व्यवहार गरेका हुँदैनन्। हाम्रा सांसदहरू गजब गजब स्वभाव, आचरण र आदतका थिए र छन्। केही वर्षअघि सांसद विश्वेन्द्रकुमार पासवानले पनि संसदीय समितिमा लुगा च्यात्नेसम्मको हर्कत गरेर विरोधको शैली प्रदर्शन गरेका थिए। जतिबेला आजको जस्तो सामाजिक सञ्जालको पहुँच थिएन र त्यसको चर्चा परिचर्चा सीमित रूपमा मात्र भयो। गत वर्ष २०८० वैशाखमा र सदनमै अर्धनग्न बनेर विरोध गरेका सांसद अमरेशकुमार सिंहले देखाएको दृश्यले सामाजिक सञ्जाल तताएको थियो।

एकजना सांसदले बोल्न पाइनँ भनेर लुगा खोलेर विद्रोह गर्नु कति उचित हो ? राजनीति क्षेत्रमा मात्रै होइन यो देश, विदेशमा चर्चाको विषय बनेको थियो। यसबाट नागरिकले के बुझ्छन् ? अहिलेका युवा पुस्ताले हामीले मागेको कुरा पाएनौं भने लुगा खोलेर विद्रोह गर्ने भन्ने नै बुझ्ने भए। संसद्मा त महिला सांसदहरू पनि प्रशस्तै छन्। उनीहरूको अगाडि लुगा खोल्नु भनेको लैंगिक हिंसा भएन र ? सांसदको गरिमाको विषयमा पनि त ठूलो आघात भयो। समाजले पचाउन नसक्ने व्यवहार उनले विरोधको नाममा संसद्मा देखाए। उनको विरोध गर्ने स्वतन्त्रता उपभोग गर्दा अन्य महिला सांसदहरूको स्थिति असामान्य बन्यो। के यस्तो विषय उचित हो ? आजको सवाल यही हो ? सांसदको अनुशासन मर्यादा र शैली हुन्छ कि हुन्न ? संसदीय भाषामा यो अमर्यादित संकेत इशारा र वर्जित विषय थियो कि थिएन ?      

बहस विमर्श यतातिर हुनुपर्छ। पार्टीहरूको ध्यान व्यक्ति सांसद स्वयंको ध्यान यतातिर जानु आवश्यक छ। गत बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतको प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा व्यक्त आक्रोश उठेको विषय र उनले तीन मिनेट तीन सेकेन्डमा उडाएको संसद्को धज्जी आफैंमा गम्भीर लज्जाको विषय हो। जसले संसद्को समितिको गरिमा र स्वयं आक्रोशकर्ताको गरिमा पनि प्रश्नीय बन्यो। यसले के देखाउँछ भने हाम्रा सांसदहरूलाई बोल्ने विषय आचरण गर्ने विषयसंगत गर्ने विषय र भाषा विरोधको शैली स्थान र मर्यादाबारे प्रशस्त पढ्न पढाउन अत्यावश्यक छ।

सांसद पद पाएर मात्रै हुँदैन। सांसदहरूसँग विशेष योग्यता पनि आवश्यक हुन्छ। त्यो योग्यता सांसद भएपछि पनि प्राप्त गर्न सकिन्छ। नयाँ आचरण र संस्कार विकास गर्न सकिन्छ। पदको मर्यादा र गरिमा कायम राख्ने बोली व्यवहार र तरिका विकास गर्न सकिन्छ। तर हाम्रा पार्टीहरू हाम्रा सांसदहरू त्यतातिर ध्यान दिँदैनन्। सांसदको लोगो लाएपछि आफूलाई सबैथोक सम्झन्छन्। आफूलाई सर्वज्ञानी ठान्दै मुखलाई थुतुनो बनाउन मरिमेट्छन्। कतै कसैसँग भएको अनौपचारिक असहमति राख्ने ठाउँ संसद्को फोरम हो ?      

तसर्थ हाम्रा सांसदहरू अयोग्य छन्। अनैतिक छन् र क्षमतावान् बन्न सकेका छैनन्। त्यसैले जाँड खाएको, लभ गरेको, लसपस गरेको कुरा गर्न संसद्को विभिन्न फोरम प्रयोग गर्दै दन्त बझान गरेर नग्न नृत्य देखाउँछन्। सांसदलाई शोकमा के बोल्ने ? खुसीमा कस्तो गित गाउने ? तरिका समेत थाहा हुँदैन। पिएर छेडखानी गरेको कुरा कहाँ र कतिबेला गर्ने ? आफ्नो मर्यादा के हो ? कसैले पिलाएपछि के गर्ने के नगर्ने ? आदि इत्यादि बारेमा जान्नु, बुझ्नु र सिक्नु जरुरी छ।

सांसदलाई उनीहरूको कोड अफ कन्डक्ट देखाउन र बुझाउन सकिएन भने फलाना फलानीलाई मैले रंगेहात फेला पारेको किस्सा सुनाउने र एकले अर्कोेलाई होच्याउने, हियाउने व्यक्तिगत चरित्र र आदतबारे टीकाटिप्पणी गर्ने थलो संसद्को मञ्च बनाउने छन्। यहाँनेर म्याचुरिटी आवश्यक छ। म्यचुरिटी भनेको उमेरमात्र होइन, राजनीतिक कोर्सको विषय पनि हो। सांसदहरूका लागि खटकएको विषय कोड अफ कन्डक्ट हो। न्यायाधीशजस्तै सांसदहरूको पनि अनिवार्य कोड अफ कन्डक्ट हुनु वाञ्छनीय देखिन्छ। हाम्रो देशमा सांसद बनाउने प्रक्रियामा राजनीतिक पार्टीको आडमा विभिन्न स्वार्थ समूहहरू र एनजीओ आईएनजीओहरू हावी हुन्छन्। जसले लगानी गरेर संसद् बनाउने, संसद्को समिति रोजाउने र नीतिगत निर्णय आफ्नो पक्षमा गर्न लगाउने विषय पनि अनुसन्धानको एउटा क्षेत्र हुने सम्भावना छ।

मिसेल फुकोले ‘नलेज इज पावर’ भन्थे। अहिले नलेजसँगै मर्यादित आचरण र व्यवहार पनि पावरको रूपमा परिभाषित छ। जसले मानिसलाई शिष्ट सौम्य र सुसंस्कृत राख्छ, उसको मर्यादा स्वतः माथि हुन्छ। कुनै पनि पद आवधिक हुन्छ र त्यसको मर्यादा सीमित हुन्छ। तर मान्छेको आचरण चालचलन, शैली मर्यादित र अनुशासित जीवनको मूल्यबोध र संस्कारगत मानमनितो आजीवन रहन्छ। त्यसैले त्यो शक्ति हो। शक्ति असल आचरण र आदतबाट पनि हासिल गर्न सकिन्छ। उच्च आदर्श विशेष मर्यादा र अलौकिक त कोही छैन र हुनु पनि पर्दैन। तर न्यूनतम पदीय आचरण मर्यादा र इज्जतको मान राख्ने सांसद चै हुनुपर्ने देखिन्छ।

पद मर्यादा होइन, पदलाई मान्छेले मर्यादित बनाउने र राख्ने हो तर यहाँ पदलाई सबैथोक सम्झने, पद पाएपछि सर्वज्ञाता हुने र नयाँ खोज अनुसन्धान प्रविधि र सूचना ज्ञान सबै आफैंमा रहेको भ्रम पाल्ने र अहंकार प्रदर्शन गर्ने माध्यम र सहज अवसर पदहरू बनेका छन्। कसैको विषय मुद्दा र प्रसंगको प्रतिवाद गर्ने उपयुक्तस्थल उपयुक्त भाषाशैली र स्वभाव हुन्छ। अनौपचारिक समयमा पिएर झगडा गरेको घोचपेच गरेको, प्रेम गरेको प्रसंग राष्ट्रिय बहस गर्ने संसद् र संसद्को समितिमा आइपुग्नु ज्यादै लाजमर्दाे विषय हो। सांसदहरूलाई भनौं, पद पायौं अब योग्यता पनि बढाऊ। संसद्को मोरल र इथिक्स कायम गर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.