मधेसी शहीदको सपना साकार पार्न शहीद पार्क बनाइ छाड्छौं : मुख्यमन्त्री राउत
![मधेसी शहीदको सपना साकार पार्न शहीद पार्क बनाइ छाड्छौं : मुख्यमन्त्री राउत](https://annapurnapost.prixacdn.net/media/albums/lalubabu-rawat-birganja_20190130083345_hGp5s8MAPt.jpg)
वीरगन्ज : मुख्यमन्त्री लालबाबु राउतले प्रदेश-२ मा शहीद पार्क जसरी पनि बनाइ छोड्ने बताएका छन्। उनले २०६४ सालमै तत्कालीन उपमहानगरपालिकाको बोर्ड बैठकले उक्त जग्गामा मधेसी शहीद पार्क निर्माण गर्ने निर्णय गरिसकेकाले त्यहि निर्णयअनुसार अहिले प्रदेश सरकारले कार्यान्वयन गर्न थालेको बताए।
शहीद पार्क निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उनले भने,'प्रदेश सरकारले अहिले ७५ करोड मात्र विनियोजन गरेको छ, तर यो पार्क निर्माण करोडौं होइन अर्बौ रुपैयाँ लाग्छ भने पनि प्रदेश सरकारले लगाउँछ, शहीद पार्क बनाइ छाड्छौं।'
मधेस आन्दोलनको देनकै कारण मुलकमा संघीयता, गणतन्त्र , समावेशीता जस्ता राजनीतिक उपलब्धीहरु प्राप्त भएकाले मधेसी शहीदहरुको आहूती र बलिदानीको सपना साकार पार्न मधेस आन्दोलनको केन्द्र विन्दु रहेको वीरगन्जमा शहीद पार्क निर्माण गर्न लागिएको उनले बताए।
भौतीक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले मधेसी शहीदको सपना साकार पार्न र मधेसी जनताको आकांक्षा पुरा गर्न प्रदेश सरकारले शहीद पार्क बनाउन थालेको बताए। वीरगन्जमा मधेस आन्दोलन चलिरहेका बेला घण्टाघर चोकमा मधेसी दलका नेताहरुले मधेसी शहीद पार्क बनाउने उद्घोष गर्दा हजारौ मधेसी आन्दोलनकारीहरुले ताली बजाएर स्वागत गरेका थिए, मन्त्री सोनलले भने, 'मधेसी जनताको त्यहि आकांक्षा पूरा गर्न प्रदेश सरकारले पार्क निर्माण थालेको हो।'
पार्क निर्माण स्थलको जग्गाका लागि महानगरपालिकासंग स्वीकृति नलिइएको प्रसङगमा मन्त्री सोनलले भने,'जग्गा जनताको हुन्छ, संविधान, ऐन कानुन र विधि प्रकृया पनि जनताकै लागि बनाइएको हुन्छ, यदि यी सबै कुरा जनताको हक र हितमा भएन भने त्यसलाई परिवर्तन गर्न सकिन्छ, त्यसैले पार्क निर्माणका विषयमा पहिले भएका कानुन र विधि प्रकृया परिवर्तन गरेर जसरी पनि शहीद पार्क बनाइन्छ।'
प्रदेश सरकारले वीरगन्जसँगै सप्तरीको मलेठ र भारदहमा पनि शहीद पार्क निर्माण गर्ने निर्णय गरिसकेको जानकारी पनि उनले गराए। शीलन्याश कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले केही कुतत्वले विरोध गर्दैमा शहीद पार्कको निर्माण कार्य नरोकिने बताए।
वीरगन्जको घण्टारघर छेउमा वीरगन्ज महानगरपालिको स्वामीत्वमा रहेको १० बिघा जग्गा ।
मधेसी जनताको धेरै दिनदेखिको आकांक्षा अहिले प्रदेश सरकारले सम्बोधन गर्न लागेको भन्दै यादवले भने, 'सुनेको छु केही दलले शहीद पार्कको विरोध गरिरहेका छन्, शिलान्यास भए रणभूमी बनाइदिन्छु पनि भनेका छन्, हामी मधेशी आन्दोलनकै लागि जन्मेका हौं, हेर्छौ कसरी रणभूमि बनाउँछन् उनीहरुले, हामी पनि तयारी मै बसेका छौं।'
वीरगन्जको हरेक चोकमा पूर्वराजा रजौटा र पहाडी दलका नेताको मात्र शालिक रहेको भन्दै उनले भने, 'अब हरेक चोकमा मधेसी शहीदका शालिक हुनेछन्, यदि कोहिसँग रोक्ने हिम्मत छ भने आएर देखाओस्।'
कांग्रेसले आफनो सरकारको पालामा चलाखीपूर्ण तरिकाले घण्टाघरको जग्गा, वीपीको नाममा गराएको आरोप लगाउँदै सांसद यादवले भने, 'मधेशको भूमी विपीको नाममा हुनैसक्दैन, मधेसी शहीदको नाममा नै हुन्छ।' प्रदेश २ का प्रदेशसभा सदस्य प्रहलाद गिरीले पनि वीपी कोईरालाले मधेशका लागि केहि पनि नगरेको भन्दै उनको नाममा मधेशमा कुनै पार्क वा शालिक निर्माण गर्न नदिने चेतावनी दिए।
को विपी? कहाँको विपी? हामीलाई थाहा छैन, यो मधेसको भूमी हो, त्यसैले यो भूमीमा मधेसी शहीदको नै पार्क बन्छ, उनले भने, 'मधेसको भूमीमा बन्न लागेको शहीद पार्कको कसैले विरोध गर्छ भने त्यसको प्रतिकारमा उत्रिन्छौं।शीलन्याश कार्यक्रममा मेयर विजय सरावगीलाई पनि निमन्त्रणा गरिएको भएपनि उनी उक्त कार्यक्रममा आएनन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)