ब्रिगेड ब्वाइजको बिजयी शुरुवात
पोखरा ः विदेशी खेलाडी काजिम बुसारीको एक गोलको मद्दतले पोखरामा जारी ‘मनकामना केबलकार पोखरा कप’ मा घरेलु टोली पोखरा ११ लाई पराजित गर्दै ब्रिगेड ब्वाइज क्लवले बिजयी शुरुवात गरेको छ ।
खेलको ७२ औं मिनेटमा बुसारीले उत्कृष्ट गोल गरेका हुन् । मनोज राईले प्रहार गरेको फ्रिकिक किपरले पञ्च गरेर फाल्दा डिफेन्डरले क्लियर गर्ने कोशिष गरेपनि बल बतासिएर बुसारीको खुट्टामा परेको थियो । सो बललाई बुसारीले फष्र्ट बार च्याप्दै गोलमा परिणत गरे । उनैको एक गोलको मद्यतले पाहुना टोली ब्रिगेड ब्वाइजले आयोजक पोखरा ११ लाई १─० गोल अन्तरको जित निकालेको हो ।
यता खेलको २९ औं मिनेटमा आयोजक पोखरा ११ ले गोल गर्ने अवसर पाए पनि अवसर सदुपयो गर्न सकेन । फोडे फोफन्नाको पासमा बिनोद गुरुङले गरेको कडा प्रहार फष्र्ट बार हुँदै बाहिरिएको थियो । खेलमा ब्रिगेड ब्वाइजका लागि निर्णायक गोलकर्ता कजिन बुसारी म्यान अफ दी म्याच घोषित भए ।
बिजयी भएपछि ब्रिगेड ब्वाइजका प्रशिक्षक सुवित कार्कीले लिगपछि एकैपटक प्रतिष्पर्धामा उत्रिदा तालमेल नमिलेपनि जित निस्केको बताए । पराजित टिमका सहायक प्रशिक्षक प्रह्लाद हिराचनले गल्तीबस गोल खानु नै खेलको टर्निङ प्वाइन्ट भएको बताए । प्रतियोगिता अन्तर्गत शनिबार नेपाल पुलिस क्लव र संकटा क्लव प्रतिष्पर्धा गर्ने आयोजकले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !