नेकपा कार्यदलप्रति ओली - दाहाल असन्तुष्ट

नेकपा कार्यदलप्रति ओली - दाहाल असन्तुष्ट

काठमाडौं : नेकपा अध्यक्षद्वयले पार्टीको संगठनात्मक प्रतिवेदन तयार पार्न गठन गरेको कार्यदलको प्रतिवेदन अपूरै भए पनि माग्ने संकेत गरेका छन्। पार्टी एकता टुंगो लगाउन स्थायी समिति बैठकले १३ पुसमा गठन गरेको कार्यदलले काम गर्न ढिलाइ गरेपछि अहिलेसम्मका कामको प्रतिवेदन पूरा नभए पनि नेताहरूले माग्ने तयारी गर्न थालेका छन्।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको ढिलाइबारे छलफल भएको थियो। स्रोतका अनुसार दुई अध्यक्षबीच कार्यदललाई केही दिन पर्खने, पर्खँदा पनि प्रतिवेदन बुझाउने तत्परता नदेखाए अपूरै भए पनि माग्ने मनस्थिति ओली–दाहालले बनाएका छन्।

मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समितिले सचिवालय सदस्य रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय चौथो शक्तिशाली कार्यदल गठन गरेको थियो। यसअघि ३ वटा कार्यदल बनाए पनि सबै त्यसै निष्क्रिय भएका थिए। पछिल्लो कार्यदललाई जिल्ला तहसम्मको एकता र केन्द्रीय नेताको कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मा दिइएको थियो।

कार्यदललाई १०/१२ दिनम काम सक्न निर्देशन दिइएको थियो। १६ पुसमा काम थाले पनि सचिवालयद्वारा गठित प्रदेश कमिटी चयनकै विवादभित्र रुमल्लिनुभन्दा बढी कार्यदलले कुनै प्रगति गर्न सकेको छैन। कार्यदलमा पनि अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका ३/३ जना नेता छन्। यसबाट नेताहरूका स्वार्थ जुधेपछि एकीकरणको मापदण्डसमेत बन्न सकेको छैन।

गठन भएयता कार्यदलको बैठक ७ पटक मात्र बसेको छ। तर पछिल्लो पटक ७ माघयता कार्यदलको बैठक नै बस्न सकेको छैन। कार्यदलले पुस मसान्तसम्म प्रतिवेदन बुझाए एकतासम्बन्धी सबै टुंगो लगाउने निर्णय नेकपा स्थायी समिति बैठकले गरेको थियो।

तर बढीमा दुई साताको म्याद पाएको कार्यदलले काम थालेको ३४ दिनसम्म पनि के गर्ने अलमलिएको छ। संयोजक थापा र महासचिव विष्णु पौडेलले कार्यदलको बैठक बोलाउने विषयमा सदस्यलाई कुनै जानकारी दिएका छैनन्। कार्यदल सदस्य तथा स्थायी समिति सदस्य वेदुराम भुषालले आफूहरू कार्यदलको बैठक कुरेर बसेको बताए। ‘बैठक बस्ने÷नबस्ने अहिले कार्यदल संयोजक र महासचिवले हामीलाई कुनै जानकारी दिनुभएको छैन’, उनले भने, ‘बैठक बोलाउनु पर्‍यो, नबोलाएर हुन्छ ? हामी पर्खेर बसेका छौं, हेरौं।’

भुषालले स्थायी समितिबाट गठित भएकाले कार्यदलबाहेक अन्यले एकताको काम गर्न नसक्ने पनि बताए। ‘कार्यदललाई निष्क्रिय पारेर कसले गर्ने, सचिवालयले कसरी गर्न पाउँछ ? ’, उनले भने, ‘स्थायी समितिले बनाएको कार्यदललाई सचिवालयले न विघटन गर्न पाउँछ, न निर्देशन दिन पाउँछ, न त निष्क्रिय बनाउन पाउँछ, केही गर्न पाउँदैन।’

बैठक नै नबसेपछि शीर्ष नेताहरूबाट कार्यदल निष्क्रिय बनाउन सक्ने सदस्य लेखराज भट्टले आशंका गरे। ‘कार्यदलको बैठक नै बस्न छाडेको देख्छु, यो हेर्दा त कतै निष्क्रिय बनाउन खोजेको हो कि भन्ने आशंका लाग्न थालेको छ’, उनले भने। कार्यदलले अलमल गर्ने र प्रतिवेदन तयार पार्न नसक्ने हो भने प्रतिवेदन मागेर आफैं निर्णय गर्ने तयारीमा शीर्ष नेताहरू देखिएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.