‘छाउपडी प्रथा अन्त्य गर्न जनचेतना आवश्यक’

‘छाउपडी प्रथा अन्त्य गर्न जनचेतना आवश्यक’

बाजुरा : बूढीनन्दा नगरपालिका–९ अगाउँपानीको भुवातोला गाउँमा छाउगोठ अध्ययन गर्न आएको प्रतिनिधिसभा सांसद गणेशसिंह ठगुन्ना संयोजकत्वको महिला तथा सामाजिक समितिको टोली फर्किएको छ। टोलीले छाउपडी प्रथा अन्त्य गर्न जनचेतना आवश्यक रहेको ठहर गरेको छ।

छाउगोठमा ताप्नका लागि बालेको आगोको धुवाँले निसास्सिएर आमासहित दुई बालकको मृत्यु भएको थियोे। मृत्यु हुनेमा ३५ वर्षीया आमा अम्बा बोहरा, उनका छोरा १२ वर्षीय सुरेश र नौ वर्षीय रमित छन्। माघ १७ गते बाजुरा पुगेर संसदीय समितिले छाउपडी प्रथा अध्ययन थालेको हो। पहिलो दिन मार्तडीमा छाउपडी र यसको प्रभाव विषयक अन्तरक्रिया र १८ गते आमासहित दुई नाबालक गरी तीन जनाको मृत्यु भएको बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा स्थलगत अध्ययन गर्न हिँडेको टोली मौसम प्रतिकूलले गर्दा पोरखे लेकबाट फर्केको हो।

‘घटनास्थल पुग्ने उद्देश्यले हिँडेका थियौं, बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमानामा पर्ने पोरखे लेकमा परेको हिउँले जान नसकिएको टोलीका सदस्य लालबहादुर थापाले बताए। मृतक अम्बा बोहराका श्रीमान् काशीसहित बूढीनन्दा नगरपालिका–९ का वडाध्यक्ष र त्यस वडाका अन्य व्यक्तिलाई बोलाएर बडिमालिका नगरपालिका–७ को ढम्कनेमा छलफल गरेको थियो। छलफलपछि टोलीले स्थानीयको मुखबाट भन्दा पनि मनबाट छाउपडी प्रथा हटाउन जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताएको छ।

बडिमालिका नगरपालिका–७ रजातोलीको गाउँमा छाउपडी गोठ स्थलगत अध्ययन गर्दै महिला तथा सामाजिक टोली। तस्बिर : पदम सिंह

तेस्रो दिन अर्थात् १९ गते जिल्ला प्रशासन कार्यालय प्रहरी प्रशासन राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, पत्रकारलगायतको उपस्थितिमा सुझाव संकलन गरेको थियो। नेकपा नेता काशी विकले विभेदमा परेको वर्गलाई चेतनाभन्दा पनि आर्थिक रूपमा कसरी बलियो बनाउन सकिन्छ भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताए। कांग्रेस नेता रमेश अएडीले टोली गाउँ गएर स्थलगत अध्ययन गरेकाले सरकारलाई छाउपडीसम्बन्धी नीति–निर्माण र कानुन बनाउन कांग्रेसको पूर्ण सहयोग रहने बताए।

जिल्ला समन्वय समितिका संयोजक नरेन्द्र रोकायाले सरकारले छाउपडी प्रथा अन्त्य अभियानको नीति बनाउन बाजुरा आएको संसदीय टोलीको ठूलो भूमिका रहेकाले यथार्थ रिपोर्ट संसद्मा पेस हुनेगरी कार्यक्रम तय गर्न अनुरोध गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख उद्धवसिंह भाटले अगाउँपानीको घटनापछि जिल्लाभरि छाउगोठको तथ्यांक संकलन थालेको जानकारी दिए।

बाजुराबाट प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले बाजुरामा छाउपडी प्रथा अन्त्य गर्न स्थानीय तहका सरकारले लाग्नुपर्ने सेवा–सुविधा रोक्नेदेखि जनचेतनामूलक कार्यक्रम गरेर प्रथा न्यूनीकरणका लागि लाग्नुपर्ने बताए। जिल्लाका सबैले सकारात्मक सोचेर लागे न्यूनीकरण हुने बताए।

टोलीका संयोजक प्रतिनिधिसभा सदस्य ठगुन्नाले समितिले सूक्ष्म अध्ययन र बृहत् छलफल गरेर प्रतिवेदन संसद्मा पेस गर्ने बताए। बूढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीको अगुवाइमा ६६ वटा छाउपडी गोठ भत्काइएको छ। जिल्लाका सबै स्थानीय तहमा यो समस्या रहेको नेपाल पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष निमेन्द्र शाहीले बताए।

बाजुरालगायत कर्णली र सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा सामाजिक समस्याका रूपमा व्याप्त छाउपडीप्रथा अझै अन्त्य हुन नसक्दा स्थानीय महिला समस्यामा परिरहेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.