सोनाम ल्होसार : छार साल ला शुभकामना
विविधताले भरिएको एक अद्भुत र चमत्कारिक राष्ट्र हो नेपाल। शताब्दीयौंदेखि विश्वका विविध उद्देश्यका नागरिकलाई नेपालले सधैं आकर्षित गरिरहेको छ। नेपालका जातजातिहरूले यहाँको सभ्यता र संस्कृतिलाई जोगाएर राख्न अथक् भूमिका निर्वाह गर्दै आएका छन्, जुन विश्वमै परिचित छ। विश्वले नेपाललाई चाडपर्वको देश भनेर चिन्दछ।
प्रारम्भमा जातीय पर्वका रूपमा मात्र सीमित रहेका ल्होसार (ल्होछार) पर्वहरू आज एकातिर राष्ट्रिय उत्सवका रूपमा विकसित भएको छ भने अर्कोतिर नेपालीले टेकेको विश्वको कुनै पनि भूभागमा विस्तार भइरहेको छ। यसबाट नेपालको संस्कृतिको परिचय र भाइचारा सम्बन्ध बढिरहेकोमा सन्देह रहन्न। यसैक्रममा नेपालको जनसंख्यामध्ये करिब ५.८ प्रतिशत अर्थात् पाँचौं स्थानमा रहेको र शतकौंदेखि कायमै रहेको तामाङ समुदायको ठूलो पर्व पनि सोनाम ल्होसार नै हो।
हिउँदे महिना अर्थात् पुस, माघ र फागुन ल्होसार पर्वले रंगिने मास हुन्। मूलतः भूगोल, ज्योतिष, पात्रो तथा जाति–भाषा नामले समय, तिथिमिति र नाममा फरक–फरक पर्न गएकाले ल्होसार पर्व फरकफरक मितिमा मनाइएको देखिन्छ। प्रत्येक ल्होसारको शाब्दिक अर्थ र उपादेयतामा खासै विभिन्नता भने पाइन्न।
यसैले एकताको एउटै तिथिमितिको एक बृहत् ल्होसार मनाउन सके यसको राष्ट्रिय एवं विश्वव्यापी गरिमा अझ बढ्नेछ। आखिर सबै ल्होसारमा ‘ल्हो’ को वर्ष, साल वा संवत् र ‘सार’ वा ‘छार’ भन्नाले नयाँ÷अभिनव–वर्ष वा पुरानो साललाई बिदा दिई नयाँ वर्षको आगमन नै हो।
माघ–शुक्ल प्रतिपदा अर्थात् चन्द्र वर्ष चन्द्र महिना आरम्भको पहिलो दिन नै तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनाम ल्होसार प्रारम्भको पहिलो दिन हो। तिब्बती–संस्कृति परम्परामा सामीप्य राख्ने तामाङ समुदायमा पनि १२ वर्षका प्रत्येक वर्षलाई १२ जीवजन्तुका नाममा सम्बोधन हुने वर्ष चक्र प्रणाली चलिरहेको हुन्छ। १२ वर्ष पूरा भएपछि फेरि उनै जीवजन्तुका नाममा वर्ष दोहोरिइरहने क्रम देखिन्छ। अधिक मासको अवस्थामा भने १३ महिनालाई गणना गरिन्छ।
तामाङ समुदायमा बाह्र वर्ष चक्र प्रणालीलाई ल्होकोर च्युनी भनी सम्बोधन गरिन्छ। वर्ष–वर्षलाई प्रतिनिधित्व गर्ने १२ जीवजन्तुका नाम कसरी रहन पुगे भन्नेबारे पनि रोचक अनु श्रुतिहरू भेटिन्छन्। नयाँ बाली लगाउनुअगाडिको महिनामा मनाउने पर्व हुँदा कतिपयको भने कृषि वा कृषकसँग सम्बद्ध उत्सवका रूपमा सोनाम ल्होसार नामकरण गरिएको हुन सक्ने जिकिर रहेको छ।
तामाङ भाषामा १२ ‘ल्हो’ प्रतिनिधित्व गर्ने जीवजन्तु यस प्रकार छन् ः १. जिवा (मुसा), २. लङ (साँढे÷गाई), ३. तक (बाघ), ४. हे÷कुरी (खरायो÷बिरालो), ५. डुक (गरुड÷ड्रागन), ६. डुल (सर्प), ७. ता (घोडा), ८. लुक (भेडा), ९. टे (बाँदर), १० ज्या (चरा), ११. खि (कुकुर) र १२.फक (बँदेल)।
सोनाम ल्होसार आउन करिब एक महिना अगाडिदेखि नै तयारीका कार्यहरू प्रारम्भ गरिन्छ। बाटाघाटा, घर–आँगन, चौतारा, मन्दिर, गुम्बा, चैत्य–विहार आदिको सरसफाइ तथा बत्ती, ध्वजा–पताका, लत्ता–कपडा, खानपान एवं सांस्कृतिक कार्यक्रमका लागि प्रशिक्षण आदिको व्यवस्थापनमा ध्यान दिइन्छ। ल्होसारको अवसरमा भूमिपूजा, कूलपूजा, गोठपूजा एवं अन्य पूजापाठ तथा दानदक्षिणा, ढोगभेट, टीकाटालो र परस्पर सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै तहअनुसार आशीर्वचन लिने–दिने अनि शुभकामना आदानप्रदान हुन्छ। अलुम, कुथुग्पा, दुची, छेमार आदि खानाका परिकार बनाउने, चढाउने तथा प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ। देशको राजधानी काठमाडौंको टुँडिखेललगायतका विविध स्थलमा कार्यक्रममा जातीय पहिरनमा सजिएर ताँतीका ताँती भाग लिएको मनमोहक दृश्यले जोसुकैलाई पनि तानिरहेको आभास हुन्छ।
प्रकृति र जीवजन्तुसँग सामीप्य राख्ने जीवन्त पर्व पनि हो सोनाम ल्होसार। डम्फु, म्हेन्दोमाया, स्याब्रु, ताम्बा–कइतेन, रिमठिम आदिलाई अक्षुण्ण राख्न साक्षात्कार हुने वा संस्मरण गर्ने उपयुक्त अवसर पनि यही पर्व हो। यहाँनिर हामीले बिर्सन हुन्न, तामाङ समाजका संवाहक त्रिमूर्ति क्रमशः ताम्बा (इतिहास–संस्कृति विज्ञ), बोम्बो (चिकित्सक) र लामा (पुरोहित) आदिको परम्परागत सामाजिक सांस्कृतिक उत्सव एवं धार्मिक क्रियाकलापलाई विलुप्त हुन नदिन सर्वोत्तम भूमिका रहनेमा सन्देह रहन्न। नेपाली लोकसंस्कृतिको गरिमा र मौलिकतालाई बचाऔं। सामञ्जस्य र परस्पर सद्भावलाई आत्मसात गरौं।
प्रतिक्रिया दिनुहोस !