असहायलाई जग्गा उपलब्ध
कुश्मा : बिचल्लीमा परेका तीन बालकका लागि घर बनाउन पाँच आना जग्गा सहयोग मिलेको छ। पर्वत कुश्मा–९ कटुवा चौपारी छेउखन्नाका धनबहादुर दमाईका तीन छोरा बिचल्लीमा थिए। आमा–बाबु नहुँदा बेसहारा बनेको समाचार अन्नपूर्णमा प्रकाशन भएको थियो। त्यसपछि उनीहरूलाई जग्गा उपलब्ध गराउन पहल थालिएको थियो।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालको पहलमा कुश्मा–९ मा उनीहरूको बस्तीनजिकै जग्गा दिइएको हो।मध्यपहाडी लोकमार्ग आयोजनामा कार्यरत इन्जिनियर सुरेन्द्र गौतम, सरोज गौतम, इन्द्रबहादुर राना थापासहित २४ जनाले रकम संकलन गरेका थिए। ‘बस्तीनजिकै खेतमा भए पनि जग्गा उपलब्ध गराउन सफल भयौं’, प्रजिअ ढकालले भने। यो जग्गा १ लाख रुपैयाँमा खरिद गरिएको हो। घर बनाउन पहल गरिने उनको भनाइ छ। यसअघि उनले मासिक ६ हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका थिए।
धनबहादुरको २०७४ मंसिर १४ गते मृत्यु भएको थियो। उनकी श्रीमती सावित्री चार वर्षअघि र कान्छी श्रीमती देवी परियारले दुई वर्षअघि अर्को बिहे गरेका थिए। देवीतर्फका १४ वर्षीय विवेक, सावित्रीतर्फका १५ वर्षीय विशाल र १२ वर्षीय विश्वास वृद्ध हजुरबुवा–आमासँग बस्दै आएका छन्।
जग्गाको नाममा सानो झुप्रो मात्र भएकाले गुजारा चलाउन धौधौ भएको हजुरआमा गौमतीले बताइन्। ७० वर्षीय केदार मजदुरी गर्दै आएका छन्।
प्रतिक्रिया दिनुहोस !