जुम्लामा तीन महिनादेखि छैन बिजुली, दिउँसै बालियो मैनबत्ती
जुम्ला : तीन महिनादेखि सदरमुकाम खलङ्गा विद्युतविहीन बनेपछि यहाँका नागरिक विरोधमा उत्रिएका छन् । गत मसिंरदेखि सदरमुकाम खलंगासहित चन्दननाथ नगरपालिका अन्धकारमय छ ।
बुधबार समावेशी महिला मानव अधिकार संजाल समितिको नेतृत्वमा जुम्लाका महिला अधिकारकर्मीसहितको टोलीले विद्युत माग्दै क्याण्डल जुलुस गरेका हुन् । उनीहरुले क्याण्डल बालेर जुलुस गर्दै बजार परिक्रमा गरे । एक हप्ताभित्र नियमित विद्युत आपूर्ति नभएमा संयुक्त आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।
साना जलविधुत् उपभोक्ता समिति खलंगाको लापारवाहीका कारण उपभोक्ताहरुले चरण लोडसेडिङको मार खेप्नुपरेको हो । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले २४ घण्टाभित्रै समिति तथा सरोकारवालासँग बैठक बसेर विद्युत आपूर्तिको वातावरण बनाउने बताए ।
भारतीय दूतावासको सहयोगमा नयाँ मेसिन खरिदको बाहानामा समितिले विगत तीन महिना झुलाइसकेको छ । महिनौदेखि सदरमुकाम अध्याँरो हुँदा जिल्लाले करोडौँको ब्यापार घाटा बेहोर्नु परेको गुनासो स्थानीयले गरेका छन् । बिजुली नहुँदा स्थानीय टुकी, झरो तथा बैकल्पिक ऊर्जाको ब्यवस्था गर्न बाध्य छन् ।
विद्युत् नहुँदा खलंगाका होटल व्यवसाय, व्यापारी, उद्योग कलकारखाना मारमा परेका अधिकारकर्मी लक्ष्मीकन्या बुढाले बताइन् । एसइइ र लोकसेवा तयारी कक्षाका लागि सदरमुकाम झरेका झण्डै १० हजार विद्यार्थीको अध्ययन पनि बिजुली अभावमा प्रभावित भएको छ । उपभोक्तालाई विद्युत दिने आश्वासन दिएर समितिले झारो टारिरहेको अधिकाकर्मी भगवती श्रेष्ठले बताइन् ।
‘बिजुली नबालेरै बिल तिर्न बाध्य छौँ’, उपभोक्ता सीता बुढाले भनिन्, ‘हाम्रो अधिकारमा खेलवाड गर्न पाइँदैन, प्रशासन मौन भएर नबसोस् ।’ उपभोक्ताहरुले पहुँुच भएकाहरुले ‘भिआइपी लाइन’ लिँदा लोडसेडिङ चर्किएको ती लाइन काट्न पनि आग्रह गरेका छन्
प्रतिक्रिया दिनुहोस !