तिब्बतीले मनाएको ल्होसारमा अमेरिकी राजदूत (फोटोफिचर)
काठमाडौं : शरणार्थीको रुपमा नेपालमा बसोवास गर्दै आएका तिब्बतीले तिब्बती नयाँ वर्ष मनाएका छन्। काठमाडौंको स्वयम्भूस्थित एक गुम्बामा बिहीबार बिहान तिब्बती समुदायले नयाँ वर्ष २१४६ सुंगुर वर्ष मनाएका हुन्। तिब्बतीको नयाँ वर्ष मंगलबारबाट सुरु भएको हो।
तिब्बती समुदायका सिमित व्यक्ति र कूटनीतिक क्षेत्रका प्रतिनिधिलाई निमन्त्रणा गरिएको कार्यक्रममा धार्मिक नेता दलाई लामाको तस्बिरमा अनुयायीले पुजा गरेका थिए। तिब्बती नयाँ वर्षको तेस्रो दिन बिहीबार नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिलाई निमन्त्रणा गरिएको थियो।
कार्यक्रममा नेपालका लागि अमेरिकी र बेलायती राजदूतसँगै नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो। शरणार्थी सम्बन्धी उच्च आयुक्त कार्यालयका प्रतिनिधि समेत कार्यक्रममा सहभागी थिए।