स्याउ किसानले पाए क्षतिपूर्ति
जुम्ला : जिल्लाका स्याउ किसानलाई क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको छ। गत वैशाखको खडेरी र असिनाका कारण स्याउखेतीमा क्षति पुगेको थियो। यसबाट किसानले करोडौं नोक्सानी बेहोर्नु परेको थियो। खडेरी र असिनाले स्याउमा ठूलो क्षति पुगेपछि स्याउ उत्पादन पनि घटेको थियो।
स्याउ उत्पादन नभएपछि स्याउका बगंैचा बिमित किसानले पटकपटक क्षतिपूर्ति माग्दै आएका थिए। सोही क्षतिपूर्ति स्वरुप यो वर्ष मात्रै स्याउको बिमा गरेका सात सय १६ जना किसानले रकम बुझेका छन्। चन्दननाथ नगरपालिका–३ का रामकृष्ण बुढ्थापाले क्षतिपूर्ति रकम बुझ्दै थोरै भए पनि राहत मिलेको बताए।
‘एक सय ६० बिरुवाको बिमा गरेको थिँए, असिनाले स्याउको फूल तथा चिचिला नै झारेर उत्पादन भएन’, उनले भने, ‘लाखौं घाटा खाइयो, तर ४७ हजार क्षतिपूर्ति पाउनु पनि ठूलो हो।’ क्षतिपूर्र्ति बुझ्ने सबै किसानलाई शिखर इन्स्योरेन्स कम्पनीले चेक हस्तान्तरण गरेको हो। यसअन्र्तगत सुरुमा चार सय किसानलाई चेक हस्तान्तरण गरिएको छ। बिगत तीन वर्षयता जुम्लामा स्याउ बिमा सुरु भएको हो। पहिलो वर्ष ४७ जनाले मात्रै बिमा गरेका थिए। दोस्रो वर्षमा एक सय ४७ र यो वर्ष सात सय १६ जना किसानले स्याउको बिमा गरेका छन्।
कम्पनीका कर्णाली प्रदेश इन्चार्ज क्रृषिराम पाण्डेले कृषि प्राविधिकले स्याउ बगैंचामा पुगेर क्षतिपूर्तिको प्रतिवेदन तयार गरेकाले सोहीअनुसार रकम भुक्तानी दिइएको बताए। रकम वितरण गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवालले स्याउखेतीलाई नतिजामुखी बनाउन यस कार्यक्रमले टेवा पुयाएको बताइन्।
‘जुम्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न यस्ता क्षतिपूर्तिका कार्यक्रम आवाश्यक छन्’, उनले भनिन्, ‘हरेक स्याउ किसानले स्याउ बिमा गर्न जरुरी छ, यस अभियानमा नगरपालिकाले पनि सहयोग गर्नेछ।’ जिल्लाका २० हजार घरधुरीमध्ये करिब १६ हजार बढी घरधुरीमा स्याउको बगंैचा ब्यवस्थापन भइसकेको कृषि ज्ञान केन्दका अधिकृत बालकराम देवकोटाले बताए। ००० क्षतिपूर्ति रकम बुझ्दै जुम्लाका किसान। नन्दराम जैसी
प्रतिक्रिया दिनुहोस !