कञ्चनपुर सुनकाण्ड : बरामद सुन भारतीयको

कञ्चनपुर सुनकाण्ड : बरामद सुन भारतीयको

महेन्द्रनगर : कञ्चनपुरको पुनर्वास नगरपालिकाको दशरथबस्ती र शुक्लाफाँटा नगरपालिका–११ को अमरपुरमा छुट्टाछुट्टै बरामद सुन भारतीय तस्करको भएको खुलेको छ। सीआईबीले उनको नाम भने बताएको छैन।

‘२४ किलो सुन लुकाएर राखेको भन्ने सूचना एक/डेढ महिनाअघि नै आइसकेको थियो’, सीआईबीका एसपी सुदीप गिरीले भने, ‘नियमित फलोअप गरिरहेका थियौं, तस्करी गरेर ल्याउने मुख्य व्यक्ति पक्राउ गर्न सफल भएपछि सुन बरामद भएको हो।’ काठमाडौं उपत्यकाभन्दा बाहिर ठूलो परिमाणमा सुन बरामद भएको यो पहिलोपटक हो। पक्राउ परेपछि लक्ष्मणले ससुरालीमा सुन लुकाएको बताएका थिए।

एसपी गिरीले ती भारतीयले लामो समयदेखि लक्ष्मण तिरुवालाई चालक राखेर म्यान्मारबाट सुन तस्करी गर्दै आएको खुलेको बताए। लक्ष्मणले म्यान्मारबाट सुन ओसारपसार गर्ने क्रममा धेरैपटक दिल्ली–म्यान्मार गरेको देखिएको उनले बताए। अरू नै व्यापारिक कामको आवरणमा ती भारतीयले म्यान्मार÷थाइल्यान्डदेखि सुन तस्करी गरिरहेको पत्ता लागेको सीआईबीले जनाएको छ।

एसपी गिरीका अनुसार भारतीय तस्करका चालक लक्ष्मणले गाडीमा ३२ किलो सुन रहेको थाहा पाएपछि भारतको अयोध्याबाट गाडी नेपाल छिराएका थिए। उनले मंसिर ७ गते नै सुन नेपाल ल्याएको बताए। ‘लक्ष्मण भारतीय सुन तस्करका गाडीचालक रहेछन्, उनलाई गाडीमा ३२ किलो सुन छ भन्ने जानकारी रहेनछ। म्यान्मारबाट अयोध्या पुगेपछि उनले गाडीमा सुन रहेको थाहा पाएछन्’, लक्ष्मणको प्रारम्भिक बयान उद्धृत गर्दै एसपी गिरीले भने, ‘उनले तस्करका मान्छे सुतेका बेला उनीहरूलाई अयोध्यामै छाडेर रातारात सुनसहितको गाडी सुनौली हुँदै कोहलपुर पुर्‍याएका रहेछन्।’

एसपी गिरीले कोहलपुरमा केही दिन राखेर जिल्ला प्रहरी कार्यालय कैलालीमा घुमुवा रहेका भाइ सुरजको सहयोगमा लक्ष्मणले सुन कञ्चनपुर पुर्‍याएको बताए। ‘सुरजको सहयोगमा १८ किलो (१ सय ८ बिस्कुट) सुन उसको पुनर्वास नगरपालिका–२ दशरथ बस्तीस्थित ससुरालीमा आलुको थुप्रोमुनि खाल्टोमा लुकाएको रहेछ’, उनले भने, ‘६ किलो सुन लक्ष्मणको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरस्थित घरमा लुकाएको रहेछ।’

सुनसहितको गाडी लिएर नेपाल पसेका लक्ष्मणलाई भारतीय तस्करले फोनबाट बारम्बार धम्क्याएपछि उनले ८ किलो सुन र भारतीय नम्बरको गाडी फिर्ता गरेको सीआईबीले जनाएको छ। ‘उसले पहिला गाडी फिर्ता लगेछ, त्यसमा सुन नभेटेपछि लक्ष्मणलाई धम्क्याएर ८ किलो सुन फिर्ता लगेछ, बाँकी हामीले बरामद गरेका छौं’, एसपी गिरीले भने। लक्ष्मणको परिवारले ४ सय ग्राम सुन बेचेको स्विकारेको छ।

प्रहरीलाई आएको सूचनाका आधारमा बिहीबार दशरथ बस्ती र अमरपुरबाट सीआईबीले २३ किलो ६ सय ग्राम सुन बरामद गरी कोहलपुरस्थित राजस्व अनुसन्धान विभागको कार्यालय पठाएको छ। प्रहरीले लक्ष्मण र उनका भाइ प्रहरी घुमुवा सुरजलाई पनि राजस्व अनुसन्धानकै जिम्मा लगाएको छ। ससुरालीमा सुन लुकाएदेखि लक्ष्मण फरार थिए। बिहीबार दिउँसो सुरजलाई केरकार गरेपछि उनले सुन लुकाएको ठाउँ देखाएका हुन्।

भारतीय तस्करले आएर घरपरिवारलाई धम्क्याउन थालेपछि दाजु बेपत्ता भएको भन्दै प्रहरीमा निवेदन दिएपछि मात्र सुरज पक्राउ परेका हुन्। लक्ष्मणले कोहलपुरदेखि पुनर्वाससम्म २३ किलो ६ सय ग्राम सुन सहजै पुर्‍याएपछि बर्दिया राष्ट्रिय निकुञ्जका ४ ठाउँमा सेनाको सुरक्षा चेकजाँच र बाटोमा हुने अन्य सुरक्षा चेकजाँचको औचित्यमाथि पनि गम्भीर प्रश्न उठेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.