कोदालोले खनेरै सडक

कोदालोले खनेरै सडक

रोल्पा : सरकारले करोडभन्दा कमका योजनामा डोजर लगाउन नपाइने निर्णय गरेको छ। यो निर्णयअघि नै रोल्पा हाङवाङ, गोलवाङ र गुन्थालवासीले आफैंले खनेर गाउँमा मोटरबाटो पुर्‍याएका छन्।  

गाउँलेको पहलमा गाउँमा मोटरबाटो मात्रै पुगेन, स्थानीयले राम्रो ज्यालासमेत पाए। रोल्पा नगरपालिका–९ हाङबाङ, गोलबाङ र गुन्थालवासीले कोदालोले खनेर गाउँमा सडक पुर्‍याएका हुन्। कुटो, कोदालो, साबेल र बेल्चाले पहाडको भित्ता खनेर गाउँमा बाटो पुर्‍याएपछि गाउँले दंग परेका छन्। सदरमुकाम लिबाङ–ह्वामा लिउन सडकखण्डको चंकुपासाबाट गाउँलेले सडक खनेका हुन्। सडक खनेबापत ज्याला पाएपछि उनीहरूमा झन् उत्साह थपिएको छ। घरेलु हतियार प्रयोग गरी खनेरै गाउँलेले ३ किलोमिटर ७ सय मिटर सडक निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष कमल बुढामगरले जानकारी दिए।  

जहाँतहीँ डोजरले सडक खनिरहेका बेला यहाँका बासिन्दा भने बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक खन्न व्यस्त हुन्थे। ‘गाउँमा सडक ल्याउन बच्चा बोकेरै खनियो’, हाङबाङकी २५ वर्षीया राधा बुढाले भनिन्, ‘गाउँको विकास पनि हुने, ज्याला पनि पाइने भएपछि सबै गाउँलेले हौसिँदै सडक खनेका हौं।  ’ गाउँका प्रायः सबै जना दिनहुँ सडक खन्न आएका थिए।  

६१ वर्षीया बागमती घर्तीमगर पनि सडक खन्न गइन्। घर र गाईवस्तुको हेरचाह गर्न पतिलाई जिम्मा दिएर पहाड खन्न गएको उनले सुनाइन्। सडक खनेको पैसाले घरव्यवहार चलाउन सजिलो भएको उनले बताइन्। ‘छोराछोरीको कापी, कलम र ड्रेस किन्न सहज भयो’, उनले भनिन्।  

सडक खनेर पाएको ज्यालाको सदुपयोग गरेकामा दंग पर्दै ४० वर्षीय संगीता बुढामगर भन्छिन्, ‘बचेको पैसाले ३ वटा बाख्रा किनेर पालेकी छु।  ’ १ सय ३ घरधुरी रहेको हाङबाङ, गोलबाङ र गुनथालवासीले ५० हजारदेखि १ लाखसम्म कमाए। सडक निर्माण उपभोक्ता समितिले प्रत्येक घरबाट एक जना अनिवार्य हुनुपर्ने उर्दी लगाएको थियो। घरको ढिँडो सिस्नो खाएर ज्यालामा सडक खन्न पाएपछि कतिपय घरबाट ३/४ जनासमेत आए। गाउँलेले यो सडक खण्डको नाम ‘रिस्बाङ–हाङबाङ–उपल्लो सहिद मोटर बाटो’ राखेका छन्।  

गाउँमा सडक लैजान ग्रामीण सामुदायिक पूर्वाधार विकास कार्यक्रम (आरसीआईडब्लू) र रोल्पा नगरपालिकाले सघाएका छन्। आरसीआईडब्लूले सडक खन्नका लागि ६७ लाख ३० हजार ६ सय ३९ खर्चिएको छ। नगरपालिकाले चालु वर्षमा २० लाख सहयोग गरेको छ।  ‘पर्यावरणीय सुरक्षाका लागि खनेरै सडक निर्माणको योजनाअन्तर्गत गाउँले सडक खन्न तयार भएपछि योजना अघि बढेको हो’, आरसीआईडब्लू रोल्पाका इन्जिनियर राजु भट्टराईले भने।  

सडक खन्ने कार्य निरन्तर राखिनेछ। गोलबाङ–गुनथाल–कर्टम जोड्ने लक्ष्य रहेको स्थानीय जानसिंह बुढाले बताए। आरसीआईडब्लू र नगरपालिकाले सडक खन्न बजेट व्यवस्था गर्ने आश्वासन दिएका छन्। जंगलको बीच हुँदै सडक खनिए पनि रूख कटान गर्नु परेन। ‘डोजरले खनेको भए यहाँ भूक्षयको सम्भावना थियो। मानिसले खनेको उदाहरणीय सडक बनेको छ’, रोल्पा नगरपालिकाका मेयर पुरण केसीले भने, ‘मानिसले खन्दा पर्यावरणमा असर नपुग्ने र गाउँलेले रोजगारीसमेत पाए। अबको विकासको मोडेल यस्तै हुनुपर्छ।  ’

हाङबाङसम्म सडक पुर्‍याएपछि गाउँलेले सडकको मंगलबार उद्घाटनसमेत गरे। जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले रिबन काटेर सडक उद्घाटन गरेका हुन्। घरेलु औजारले सडक खनेर गाउँसम्म पुर्‍याएको भन्दै प्रमुख बुढाले गाउँलेको प्रशंसा गरे। गाउँमा व्यावसायिक कृषि र पशुपालन गरी आम्दानी बढाउन बुढाले हौस्याए।  

०७४ असारदेखि सडक खन्न सुरु गरिएको हो। कडा चट्टान भएकाले योजनाअनुसार काम अघि बढ्न सकेको थिएन। कडा चट्टान फोड्न मात्र डोजर प्रयोग गरिएको गाउँलेले सुनाए। सडक लैजान गाउँलेले १४ लाख बराबरको श्रमदानसमेत गरे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.