वनभरि अन्तर्राष्ट्रिय मूर्तिकार

वनभरि अन्तर्राष्ट्रिय मूर्तिकार

इटहरी : मोरङको बेलबारी नगरपालिका पूर्वपश्चिम राजमार्गसँगै रहेको सिर्जना सामुदायिक वन क्षेत्रमा आजभोलि निकै चहलपहल छ। सुनसान त्यो ठाउँमा झाडी फाँडेर अहिले ठूला/ठूला ढुंगा राखिएको छ। कोही ढुंगा नियालेर हेर्दैछन्, कोही छिनो र घनले फोर्दैछन् अनि कोही ग्रिन्डरले चिर्दैछन्। भाउन्ने चोकमा भइरहेको उक्त गतिविधि वरपर बस्नेका लागि कहिल्यै नदेखेको रमिता भएको छ। भाउन्नेवासी मात्र नभएर राजमार्ग हुँदै कुद्नेहरू पनि फुर्सदको समयमा वन क्षेत्रमा फुत्त पस्छन् र ढुंगा कुँदेको हेर्छन्।

उक्त वन क्षेत्रमा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला सुरु भएको छ। ६ देशका ३० जना कलाकार मूर्ति कुँद्न व्यस्त छन्। कार्यशालामा जापान, जर्मन, भारत, बंगलादेशलगायत देशका कलाकार सहभागी छन्। सबै कलाकारले १८ दिन लगाएर मूर्ति बनाउनेछन्। मूर्ति हेर्न मानिस आउने र त्यसले वन क्षेत्रका साथै वरपरको गाउँलाई नै फाइदा पुग्ने स्थानीय भूपराज दाहालको आशा छ।

मूर्तिकला कार्यशाला हुने भएपछि वनको एउटा क्षेत्रलाई झाडी फाँडेर सफा गरिएको छ। तारबेरा, शौचालय बनाइएको छ। वन समितिका अध्यक्ष छत्र लिम्बू यसअघि खासै वास्ता नगरिएको यो ठाउँ भोलिका दिनमा वनको आयआर्जनको स्रोत बन्ने विश्वास व्यक्त गर्छन्।

कार्यशालामा सहभागी कलाकार अघिपछि निकै व्यस्त रहन्छन्। तर यस्तो कार्यशालाले कलाकारलाई समेत अनुभव साटफेरको मौका दिने भएकाले समय निकालेर सहभागी भएका छन्। ‘यस्तो कार्यशालामा धेरैतिरका कलाकार हुन्छन्। एकले अर्काको सीप र ज्ञान हेर्ने, सिक्ने मौका हुन्छ’, संखुवासभाका कलाकार चन्द्र लिंखा भन्छन्, ‘त्यसैले व्यस्तताका बाबजुद समय निकालेर सहभागी भएको हुँ।’

कार्यशालामा सहभागी विदेशी कलाकार निकै दक्ष र व्यावसायिक छन्। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख लालकाजी लामालगायत देशकै चर्चित मूर्तिकारसमेत कार्यशालामा सहभागी छन्।

यो कार्यशाला धनु आर्ट स्टुडियोले आयोजना गरेको हो। यो स्टुडियोले नेपालबाहेक धेरै देशमा कार्यशाला चलाइसकेको छ। बेलबारी नगरपालिका र सिर्जना सामुदायिक वन कार्यालय पनि आयोजकमा छन्। बुद्ध एअर, नोबेल अस्पताल, गोर्खा डिपार्टमेन्ट स्टोर, चिसाङ क्रसरलगायतले कार्यशालालाई सहयोग गरेका छन्।

मूर्तिकला कार्यशाला चलाउने स्टुडियो कलाकार धनु याख्खाको हो। याख्खाकै अग्रसरतामा केही वर्षअघि इटहरीको तालतलैयामा पनि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला भएको थियो। कार्यशालामा तयार भएका ढुंगाका मूर्ति अहिले तालतलैयालाई चिनाउने आकर्षणका रुपमा स्थापित छन्। इटहरीमा कार्यशाला हुँदा उनी प्रतिष्ठानका अध्यक्ष थिए। त्यसैले बजेट ल्याउन गाह्रो थिएन। ‘यो पटक भने निजी क्षेत्रको सहयोग विशेष रह्यो’, उनले भने।

कार्यक्रमका लागि स्थानीय तहले पनि केही सहयोग गर्ने जनाइएको छ। तर त्योभन्दा धेरै सहयोग निजी क्षेत्रबाट जुटाइएको छ। ३० जना कलाकारलाई १८ दिनसम्म राखेर पारि श्रमिकसमेत दिएर कार्यशाला सञ्चालन गर्नु आफैंमा चुनौतीपूर्ण रहेको उनले बताए। तर याख्खाले यसलाई चुनौतीभन्दा पनि अवसरका रूपमा लिएको बताए। ‘ग्रामीण क्षेत्रमा पर्यटन र आर्थिक विकासको ढोका खोल्न हामीले यो जोखिम उठाएका हौं’, उनले भने, ‘बेलबारीको सिर्जना सामुदायिक वन क्षेत्र पनि भोलिका दिनमा मूर्तिकलाकै कारण पर्यटकीय गन्तव्य बन्नेछ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.