कर्मचारी समायोजन, संघमा हाली मुहाली
काठमाडौं : स्थानीय तह र प्रदेशमा कर्मचारी पठाउन सरकारले कर्मचारी समायोजन गर्यो । तर अधिकांश कर्मचारी संघमा नै बसे । उता स्थानीय र प्रदेशमा कर्मचारी नहुँदा दैनिक काम कारवाही प्रभावित भएका छन् । सरकारले २३ हजार भन्दाबढी कर्मचारीको समायोजन गरिसकेको छ ।
शुक्रबारसम्ममा २२ हजार ९ सय १७ कर्मचारीको समायोजन सकिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले जानकारी दिए । समायोजन भएकामा मुख्यसचिवदेखि खरिदारसम्मका कर्मचारी छन् । समायोजन गरिएकामध्ये सबैभन्दा बढी संघमा छन् । स्थानीय तह र प्रदेशमा न्यून संख्यामा कर्मचारी समायोजन भएको छ ।
संघमा १७ हजार, प्रदेशमा २ हजार ४१७ र स्थानीय तहमा ३ हजार १९० कर्मचारी समायोजन गरिएको छ । मुख्य सचिवसहित ५६ सचिव र ६ सय ७६ सहसचिवको समायोजन भएको छ । सहसचिव अधिकारीले प्रशासन सेवाको अधिकृत र सहायकस्तरका कर्मचारीसम्मको समायोजन भएको बताए । अन्य सेवाको भने उपसचिवसम्मको मात्रै समायोजन भएको छ । उनले तीन दिनभित्र १५/२० हजार कर्मचारीको समायोजन हुने तयारीमा रहेको जानकारी दिए ।
त्यस्तै प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासान समूहका ८४८ कर्मचारीको समायोजन भएको छ । तीमध्ये ४ जनाको स्थानीय तह र ८ जनाको प्रदेशमा समयोजन भएको छ । राजश्वका १६६ समायोजन भएकामध्ये १४ जनाको प्रदेशमा समायोजन भएको छ । स्थानीय तहमा राजस्व शाखाका एकजना पनि समयोजन भएको छैन । लेखाका १७४ मा ७÷७ जना प्रदेश र स्थानीय तहमा समायोजन भएको छ ।
शिक्षाका कर्मचारी मात्रै स्थानीय तहमा उल्लेख्य समायोजन भएको छ । शिक्षाका ४२९ उपसचिवमध्ये २२७ जनाको समायोजन स्थानीय तहमा भएको छ भने ५६ जनाको प्रदेशमा समायोजन भएको छ । काठमाडौं महानगरपालिका पहिलो नम्बरमा रोजेका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख नन्दलाल पौडेलको संघमा समायोजन भएको छ । ज्येष्ठताका आधारमा निर्मला केसीको काठमाडौं महानगरमा समायोजन भएको छ । २६ औं नम्बरको रोलक्रममा पौडेल छन भने केसी २०३ रोलक्रम छन् ।
त्यसैगरी इन्जिनियरिङ सेवातर्फ समायोजन हुनेमा हाइड्रो पावर समूहका २०, जनरल मेकानिकलका १७, जनरल समूहका ८१, हाइड्रोलोजी १४ र सर्वे समूहका ५७ जना सिनियर डिभिजनल इन्जिनियर छन् । इन्जिनियरिङ सेवाका सबै कर्मचरीको संघमा नै समायोजन भएको छ ।
वन सेवातर्फ जनरल फरेस्टी समूहका ८१ उपसचिवमा ३७ जनाको प्रदेशमा समायोजन भएको छ । स्थानीयमा एकजनाको पनि समायोजन भएको छैन । आर्थिक योजना तथा तथ्यांक सेवाका ५८ उपसचिवको संघमा समायोजन भएको छ । प्रशासन सेवाअन्तर्गत सामान्य प्रशासनका २ हजार ८९०, लेखाका १ हजार १३२, राजस्वका ५८० शाखा अधिकृतको पनि समायोजन भएको छ । साामान्य प्रशासनका १७८ स्थानीय तह, ३७१ प्रदेश र २ हजार ३४१ संघमा समायोजन भएका छन् ।
लेखामा ३२७ स्थानीय तहमा, १९५ प्रदेशमा र ६१० संघमा समायोजन भए । त्यस्तै राजस्वमा एकजना पनि स्थानीय तहमा समायोजन भएनन् । ५७८ सघमा र २ जना प्रदेशमा समायोजन भए ।
समायोजन हुने नायव सुब्बामा सामान्य प्रशासन सेवाअन्तर्गतका सामान्य प्रशासन समूहका ५ हजार ८०२ समायोजन भएकोमा १ हजार ? स्थानीय तहमा, १ हजार १५९ प्रदेशमा समायोजन भएका छन् भने ३ सय ३१० संघमा समायोजन भए । राजस्व समूहका प्रदेशमा ४ जना र संघमा ६७१ गरी ६७५ नायब सुब्बाको समायोजन भएको छ । राजस्व समूहको एक जना पनि सुब्बाको पनि स्थानीय तहमा समायोन भएको छैन ।
सामान्य प्रशासनका ४ हजार ६०६ खरिदारको समायोजन भएकोमध्ये १ हजार ११४ स्थानीय तहमा र ३७८ को प्रदेशमा समायोजन भएको छ । वन सेवाअन्र्तगत जल तथा भूसंरक्षण समूहमा ३९ जना उपसचिवको समायोजन भएको छ । १९ जनाको संघमा र २० जनाको स्थानीय तहमा समायोजन भएको छ । फरेष्ट रिसर्च समूहमा १० जनाको समयोजन भएकोमा तीन जनाको प्रदेश र ७ जनाको संघमा समायोजन भएको छ ।
वोटानी समूहमा १७ जनाकै संघ, नेसनल पार्क एण्ड वाइल्ड लाइफ समूहमा २१ जनाकै संघमा समायोजन भयो । जनरल फरेस्ट्री समूहमा १४२ जना उपसचिवको समयोजन भएकोमा १ सय ८ जनाको प्रदेशमा समायोजन भएको छ भने ३४ जनाको संघमा समायोजन भएको छ ।
फरेष्ट्री समूहमा धेरैजनाको समायोजन प्रदेशमा गरेकोमा वन तथा भूसरक्षणमन्त्री शक्ति बस्नेतले सामान्य प्रशासनसचिव दीनेश थपलियासँग असन्तुष्ठि पोखेको थिए । कर्मचारी समायोजन तथा संगठन विकास महाशाखाका केदार पनेरुले केही दिनभित्रै ४३ हजार कर्मचारीको समायोजन सक्ने तयारी भइरहेका जानकारी दिए । अब स्थास्थ्य सेवाको समायोजन सुरु हुनेछ ।
सरकारले संघ, प्रदेश र स्थानीय तहमा १ लाख ३८ हजार दरबन्दी कायम गरी कर्मचारीको समायोजन गरिरहेको छ । हाल निजामतितर्फ ८९ हजार, स्थानीय तहमा १७ हजार र अन्य सेवामा २ हजार कर्मचारी कार्यरत छन् ।
प्रतिक्रिया दिनुहोस !