लिलामी र भागवन्डामा कुरा नमिल्दा करोडौंको काठ कुहिँदै
हेटौंडा :निजगढ-काठमाण्डौं द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा मकवानपुरभित्र काटिएका २५ करोड रुपैयाँ बढी मुल्यको काठ कुहिन थालेको छ।वन उपभोक्ता समूह र सरकारबीच लिलामी र भागवन्डामा कुरा नमिल्दा काठ जंगलमै कुहिन थालेको हो।
मकवानपुर जिल्लामा मात्र १८ सामुदायिक वनमा काटिएको करिब एक लाख २५ हजार क्युफिट काठ डेढ वर्षदेखि जंगलमै रहेको डिभिजन वन कार्यालय मकवानपुरका निमित्त डिभिजनल वन अधिकृत राधिका शर्माले बताइन्। विभिन्न सरकारी आयोजनाबाट उत्पादन भएको काठमध्ये ५० प्रतिशत भूकम्प पीडितलाई, बाँकी ५० प्रतिशतको ७५ प्रतिशत उपभोक्तालाई वितरण गरेपछि बाँकी रहेको २५ प्रतिशत सम्बन्धित वन समूहले आफ्नो क्षेत्र बाहिर बिक्री गर्न पाउने सरकारी कार्यविधि छ।
उक्त कार्यविधिअनुसार वन उपभोक्ता समितिलाई अन्याय गरिएको भन्दै उपभोक्ता समितिले काठ बिक्री वितरण गरेका छैनन् । मकवानपुरमा सबैभन्दा बढी, हेटौंडा-१८ हर्नामाडीमा रहेको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहभित्रबाट मात्र ४३ हजार सातसय क्युफिट काठ काटिएको छ। नेपाली सेनाले एक वर्ष अघि नै काठ हस्तान्तरण गरेपनि समूहले बिक्री वितरण गरेको छैन।
५० प्रतिशत काठ आफ्नो क्षेत्रभन्दा बाहिर जाने भएपछि काठ विक्री वितरण नगरेको समूहकी अध्यक्ष मञ्जु पण्डितले बताइन् । 'हामी दुःख गरेर हुर्काउने संरक्षण गर्ने अनि सबै काठ बाहिर पठाउनुपर्ने भएपछि बरु कुहिएर जाओस्, हामी पठाउँदैनौं, उनले भनिन्, 'हाम्रो समूहले निर्णय नै गरेर सरकारी कार्यविधिप्रति असहमति जनाएर काठ बिक्री वितरण गरेका छैनौं।'
२५ प्रतिशत काठ मात्र बाहिर दिन समूह तयार रहेको अध्यक्ष पण्डितले बताइन्।
सरकारले उपभोक्तालाई समेत काठ बिक्री वितरणमा रोक लगाउँदा जंगलमै काठ कुहिन थालेको हेटौंडा १८ का स्थानीय हिक्मत थापा मगरले बताए। 'करोडौं रुपैयाँको काठ कुहिरहेको छ तर बजारमा महंगो मुल्य तिरेर पनि काठ पाइँदैन', उनले भने, 'सरकारको कार्यविधिले गर्दा काठ जंगलमा कुहिने उपभोक्ताले महंगो मुल्यमा काठ किन्नुपर्ने अवस्था आएको छ।'
डिभिजन वन कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा पर्ने १८ सामुदायिक वनमा मात्र १५ हजार ६ सय ७२ रूख अर्थात एक लाख ६० हजार छ सय ९९ क्युफिट काटिएको छ। तीमध्ये ३७ हजार छ सय २६ क्युफिट मात्रै बिक्री वितरण भएको छ।
सामुदायिक वनबाट काटिएका ७८ हजार ४० क्युफिट काठ अझै सेनाले सम्बन्धित सामुदायिक वनलाई हस्तान्तरण नगरेको वन कार्यालयले जनाएको छ। 'लामो समयदेखि घाम पानीको असरले गर्दा ठूलो परिमाणको काठ मक्किन थालेको छ, वन कार्यालयकी निमित्त प्रमुख शर्माले भनिन्।
द्रुत मार्गको केही क्षेत्रमा २६-२६ मिटर ट्याक खोल्न रुख कटान गरिएकोमा पछिल्लो समय ५०-५० मिटर सडक निर्माण र विस्तार गर्न थप रुख काटिएको हो। द्रुतमार्गमा पर्ने मकवानपुरको मकवानपुर गढी गाउँपालिका, बकैया गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको हर्नामाडीका सामुदायिक वनका रुख कटान गरिएका छन्।
द्रुतमार्गमा कटान गरिएका साल, अग्राख र कुकाठ प्रजातिका रुखमध्ये करिब ८० प्रतिशत सालको रुख रहेको छ। सालको काठको सरकारी राजश्व प्रति क्युफिट एक हजार रुपैयाँ रहेको छ। तर बजारमा सालको काठको मूल्य तीनदेखि सात हजार रुपैयाँ प्रति क्युफिट छ।
सामुदायिक वन उपभोक्ता महासंघका मकवानपुर अध्यक्ष साधुराम चौलागाईंले लामो समयसम्म वन समूहलाई काठ बिक्री गर्न नदिनु गलत भएको बताए। '५० प्रतिशत काठ भूकम्प पीडितर्लाइ दिन सकिदैन, हामीले भनेअनुसार सरकारले बिक्री वितरणको स्वीकृति दिएको छैन', उनले भने, 'सरकारी अस्पष्टता र ढिलाईले कराडौं मुल्यको काठ कुहिएर खेर जाँदैछ।' ७६ किलोमिटर लामो दु्तमार्गभित्र २३ किलोमिटर भाग पहाड र बाँकी तराईमा पर्छ। चार लेनको दु्तमार्ग दशक्षेत्रमा विभाजन गरेर नेपाली सेनाले निर्माण गरिरहेको छ।